काठमाडौं। स्वास्थ्यमन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी र सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्।
छलफलमा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा सहकार्य अझ विस्तार गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।




