1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

दार्चुलामा नेपाल-भारत सीमा बैठक, सुरक्षामा मिलेर अघि बढ्ने दुई देशबिच प्रतिबद्धता

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच दार्चुलाको खलङ्गामा आज सम्पन्न सीमा समन्वयात्मक बैठकले दुवै देशको सीमाक्षेत्रलाई सुरक्षित र सुव्यवस्थित बनाउन सहमति गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा सम्पन्न डिआइजी स्तरीय काउन्टर पार्ट कोर्डिनेशन मिटिङमा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीहरूको सहभागिता थियो । बैठकबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका गणपति देवराज जोशीले दुवै पक्षले आ–आफ्नो जिम्मेवारी, विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे विस्तृत समीक्षा गरेको बताए ।

बैठकमा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त रूपमा कारबाही गर्ने सहमति भएको छ । साथै, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गर्ने तथा आवश्यक मर्मत–सम्भार, संरक्षण र पुनःस्थापना अघि बढाउन सम्बन्धित निकायमा प्रतिवेदन गर्ने निर्णय भएको छ ।

यस्तै, बैठकले सीमाक्षेत्रका नागरिकहरूको आवागमनलाई सहज र सौहार्दपूर्ण बनाउन दुवै पक्ष मिलेर प्रयत्न गर्ने प्रतिबद्धता जनाएको छ ।

बैठकमा नेपालतर्फ सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुराका गणपति तथा छाङ्रु गुल्मपति उपस्थित थिए । भारततर्फ अल्मोडाका डिआइजी सुधाम्सु नौटियाल, पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायत १० जना अधिकारीको सहभागिता थियो ।