२०८३ बैशाख १३

सडकबाट प्रधानमन्त्री बनाउने अनि संविधान बचायौं भन्ने ? योभन्दा ठूलो विडम्बना के हुन्छ: सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति दुवै संविधान विपरीत भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा कुरा गर्दै सिटौलाले संसद् विघटनले संविधान क्षत–विक्षत भएको जिकिर गरेका रातोपाटीले जानेको छ ।

संविधानलाई फेरि ट्र्याकमा ल्याउन राजनीतिक दलहरू आपसमा छलफल गरेर नयाँ राजनीतिक बाटो निर्माण गर्नुपर्छ भन्नेमा उनले जोड दिए । भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । बडो जुक्ति लगाएर संविधानको धारा ६१ प्रयोग गरी संविधानलाई बचाएको भन्दै पौडेलले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन अपिल गरेका थिए । तर राष्ट्रपति पौडेलको भूमिकाप्रति पनि सिटौलाले असन्तुष्टि जनाए ।

‘सडकबाट सरकार बनाउने अनि संविधान जोगाएँ भन्ने ! योभन्दा ठुलो विडम्बना के हुन्छ ? चुनाव त पहिले ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए । सायद राष्ट्रपतिमाथि सबै सुरक्षा निकायको दबाब पर्‍यो कि ?’, उनले संशय व्यक्त गरे ।

रातोपाटीसग सिटौलाको भनाइ जस्ताको त्यस्तै:

प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्ति दुवै संविधान विपरीत छ । संसद् विघटनले संविधान क्षत–विक्षत छ । यस्तै तरिकाबाट देश अगाडि जाँदा संविधानको मूल मर्म र भावना केही बाँकी नरहने देखिन्छ । त्यसकारण संविधान विरोधी कार्यलाई रोक्नका लागि राजनीतिक दलहरूले आपसमा छलफल गरेर अघि बढ्न जरुरी देखेको छु ।

अहिले सर्वोच्च अदालत भवन पनि आगलागी भएकाले त्यहाँ कुनै रिट निवेदन दर्ता हुन सकेको छैन । बन्दी प्रत्यक्षीकरण रिटमात्रै लिने गरेको सुनेको छु । सिंहदरबार आगलागी भएको छ । राष्ट्रपति कार्यालय आगलागी भएको छ । सिङ्गो देश आगलागी भएको बेलामा संविधानमाथि प्रहार भएको छ । संविधानलाई फेरि ट्र्याकमा ल्याउन राजनीतिक दलहरू आपसमा छलफल गरेर नयाँ राजनीतिक बाटो निर्माण गर्नुपर्छ । संविधान निर्माण गर्ने राजनीतिक दलहरूले नै आपसमा छलफल गरेर निकास दिनु आजको आवश्यकता हो ।

यतिबेला सबै राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड र लुटपाट भएको छ । केही दिनमा सबै नेता साथीहरूले रिभाइव गर्नुहुन्छ । प्रायः सबै नेताहरूको घरमा आगलागी भएको छ । काठमाडौँमा हाम्रा सभापतिदेखि सबैको घरमा आगलागी भएको छ । जिल्ला जिल्लामा पनि आगलागी भएको छ । त्यसैगरी एमाले, माओवादीका नेताहरूका घरमा पनि आगलागी भएको छ । त्यसकारण संविधान निर्माण पक्षधरहरूले फेरि एकपटक गम्भीर छलफल गरेर निकास दिन जरुरी छ ।

हाम्रो पार्टी तत्काल बैठक बस्न सक्ने अवस्थामा छैन । सभापतिमाथि आक्रमण र कुटपिट भयो । उहाँ अहिले पनि सिरियस अवस्थामा हुनुहुन्छ । हाम्रो पार्टीले वक्तव्य दिइसकेको छ । फेरि पनि हामी बस्छौँ । प्रस्ट भन्छौँ, प्रतिनिधि सभाको विघटन र प्रधानमन्त्रीको नियुक्ति पूर्णरूपले संविधान विरोधी कार्य हो । सडकबाट संविधान फाल्ने कार्य सुरु भएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । एउटा गल्ती गरेपछि अर्को गल्ती गर्न किन हुँदैन भन्ने बाटोतर्फ मुलुक गएको छ । सडकबाटै संसद् विघटन र संविधान मास्न पाइन्छ भने अरु थप कार्य गर्न किन पाइँदैन भनेर उहाँहरूको विचार आउनु स्वाभाविक हुन्छ ।

यसमा पहिले निर्णय गर्ने र गराउनेहरूले सोच्नुपर्ने हो । खासगरी राष्ट्रपतिले सोच्नुपर्ने विषय हो । उहाँले किन यस्तो गलत निर्णय गर्नुभयो ? सडकबाट सरकार बनाउने अनि संविधान जोगाएँ भन्ने ! योभन्दा ठुलो विडम्बना के हुन्छ ? चुनाव त पहिले ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए । सायद राष्ट्रपतिमाथि सबै सुरक्षा निकायको दबाब पर्‍यो कि ? राष्ट्रपति कार्यालयमा आगो लागेको देख्नुभयो होला । सुरक्षा निकायको पनि दबाब बढ्यो होला । ठ्याक्कै उहाँको रुचिले नै यस्तो घोषणा गर्नुभयो भनेर भन्न मिल्दैन । तथापि सडकको दबाबबाटै प्रधानमन्त्री बनाउने, संसद् विघटन गर्ने कार्यलाई संविधान सम्मत् छ भनेर कुनै हालतमा मान्न सकिँदैन ।

स्रोत: रातोपाटी