बुटवल । सहकारी ठगी तथा सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलको एक नम्बर इजलासमा परेको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उक्त मुद्दा न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको हो। यसअघि गत हप्ता मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसअगाडि रवि पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएपछि दुईपटक बहस रोकिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दर्ता गराएका हुन्। आजको इजलासमा सुनुवाइ अघि बढेमा मुद्दाले नयाँ मोड लिने अपेक्षा गरिएको छ।




