२०८३ बैशाख १३

नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालन

काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रयोगलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सार्वजनिक गरेको छ।

बैंकका कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गर्दै सुरु गरिएको यो अभियान सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन भइरहेको छ।

२०८२ साल पुस महिनाभर चल्ने यस अभियानअन्तर्गत रु. २०० वा सोभन्दा बढी रकमको टप अप गर्ने सहभागीमध्ये ८० जना भाग्यशालीलाई रु. १०० का दरले बोनस प्रदान गरिने बैंकले जनाएको छ। बोनस प्राप्त गर्नेको घोषणा अभियान समाप्त भएपछि गरिनेछ।

डिजिटल बैंकिङको प्रयोगलाई दैनिक जीवनसँग अझ सहज र आकर्षक बनाउने लक्ष्यसहित ल्याइएको यो अभियानले नगदरहित कारोबार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंकले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। तीमध्ये करिब १० लाख ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा उपयोग गरिरहेका छन्।

आधुनिक प्रविधिमा आधारित सेवामार्फत ग्राहक सन्तुष्टि बढाउँदै नेपाल बैंकले आफूलाई प्रतिस्पर्धी र विश्वासिलो बैंकको रूपमा मजबुत बनाउँदै लगिरहेको जनाएको छ।