२०८३ बैशाख १३

सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्री आजदेखि खुला, लगानीकर्ताका लागि नयाँ अवसर

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै आजदेखि इकाई बिक्री खुला गरिएको छ।

कम्पनीका अनुसार इकाई खरिदका लागि आवेदन आजदेखि २०८२ साल पौष ८ गतेसम्म बैंकिङ समयभित्र दिन सकिनेछ।

यो योजना विशेषगरी बचतभन्दा आकर्षक प्रतिफल खोजिरहेका लगानीकर्तालाई लक्षित गरिएको हो। शेयर र डिबेन्चरमा सन्तुलित रूपमा लगानी गर्दै नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने उद्देश्यसहित योजना ल्याइएको सिटिजन्स क्यापिटलले जनाएको छ। हाल नेप्से सूचकांक तल्लो तहमा रहेकाले दीर्घकालीन लगानीकर्ताका लागि राम्रो प्रतिफल आर्जन गर्ने अवसर रहेको अनुमान गरिएको छ। अनुभवी योजना व्यवस्थापन र नियमित लाभांश दिने क्षमताका कारण यो योजना लगानीयोग्य रहेको धारणा व्यक्त गरिएको छ।

इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ खातामार्फत आवेदन दिन सक्नेछन्। साथै, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ लाख इकाई सम्म खरिद गर्न सकिनेछ। प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएकाले न्यूनतम लगानी १,००० रुपैयाँ र अधिकतम १० करोड रुपैयाँ सम्म आवेदन दिन सकिने व्यवस्था छ।

वित्तीय प्रक्षेपणअनुसार यस योजनाबाट औसत वार्षिक १४ प्रतिशत प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। सिटिजन्स क्यापिटलले लगानीकर्तालाई क्षमता अनुसार १,००० देखि २ लाख इकाई सम्म आवेदन दिन सुझाव दिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सेवा विस्तार गर्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।