काठमाडौं । डिजिटल भुक्तानी प्रणाली र प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय वाणिज्य बैंक सम्मानित भएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई दुई फरक विधामा अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा धेरै क्यूआर मर्चेन्ट कारोबार सञ्चालन गर्ने बैंक तथा डिजिटल माध्यमबाट सबैभन्दा बढी सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको थियो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरे ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङलाई आमनागरिकसम्म पुर्याउने प्रयास गरिरहेको छ । सोही प्रयासको परिणामस्वरूप बैंकले डिजिटल कारोबारमा उल्लेखनीय प्रगति हासिल गरेको आयोजकले उल्लेख गरेका छन् ।
सम्मान ग्रहणपछि बैंकले सुरक्षित र सहज डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, ग्राहक केन्द्रित सेवाको विस्तार र प्रविधिमा निरन्तर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल राष्ट्र बैंकको अनुमतिमा सञ्चालन हुँदै आएको नेपाल क्लियरिङ हाउस लिमिटेडले हरेक वर्ष डिजिटल कारोबारमा उत्कृष्ट प्रदर्शन गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सम्मान प्रदान गर्दै आएको छ ।




