काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार बेलुका ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
कमलामाई नगरपालिका–४, धुरा बजारमा भएको घटनालाई लिएर स्थानीयहरूबीच ढुंगामुढा प्रहार भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ का दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेकी हुन् । कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा ग्वाङखोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्म कर्फ्यु जारी गरिएको हो । ती स्थानमा सर्वसाधारण तथा अत्यावश्यक बाहेकका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । त्यस्तै, कुनै पनि किसिमको भेला, जुलुस र भेलाजन्य कार्य नगर्न र पाँच जनभन्दा बढी मानिस भेला नहुन आदेशमा भनिएको छ ।
३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासू, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर आफन्त र स्थानीय पाँच दिनदेखि आक्रोशित छन् ।





