काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ बहस र तरंग ल्याएको छ।
सहमतिपछि रास्वपा सभापति रवि लामिछानेले सहमति कुनै व्यक्ति वा दलको चाहनामा होइन, देशको आवश्यकताअनुसार हुनुपर्ने बताएका छन्।
आईतबार बिहान भएको उक्त सहमतिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेले राजनीतिक समझदारी व्यक्तिगत लाभभन्दा माथि उठ्नुपर्ने उल्लेख गरेका हुन्। “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ,” उनले फेसबुकमा लेखेका छन्।
सातबुँदे सहमतिअनुसार आगामी आम निर्वाचनपछि बालेन साहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको छ। पार्टीको संगठनात्मक नेतृत्व भने सभापति रवि लामिछानेले नै सम्हाल्ने गरी कार्य विभाजन तय गरिएको जनाइएको छ।
यो सहमतिलाई रास्वपा र बालेन साहबीचको ‘बृहत् एकता’का रूपमा व्याख्या गरिएको छ। सहमतिपछि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत बालेन साह अब औपचारिक रूपमा रास्वपा नेता भएको दाबी गरेका छन्।
वाग्लेले बिहान ४:१५ बजे रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच एकता सम्बन्धी समझदारी भएको उल्लेख गर्दै यसलाई नयाँ राजनीतिक यात्राको सुरुवातको संकेतका रूपमा चित्रण गरेका छन्।
यस सहमतिलाई कतिपयले वैकल्पिक राजनीतितर्फको निर्णायक कदम मानेका छन् भने कतिपयले आगामी निर्वाचन केन्द्रित रणनीतिक चालको रूपमा हेरेका छन्।
बालेन-रवि सहमतिले नेपाली राजनीतिमा नयाँ समीकरण र सम्भावनाको ढोका खोलेको भने स्पष्ट देखिन्छ।




