काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणसँगै देशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। सङ्घीय संसद् सचिवालयले यसै साताभित्र सांसदहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
निर्वाचन आयोगले भोलि अपराह्न राष्ट्रपतिसमक्ष अन्तिम निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रम तय गरेको छ। सो प्रतिवेदन पेश भएपछि राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान गरिनेछ र त्यसपछि शपथग्रहणको मिति सार्वजनिक हुनेछ।
संवैधानिक व्यवस्था अनुसार सबैभन्दा पहिले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले शपथ लिनेछन्। त्यसपछि उनै ज्येष्ठ सदस्यले अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन्। शपथग्रहण सम्पन्न भएसँगै मात्रै सांसदहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्न पाउनेछन्।
संसद् सञ्चालनको प्रारम्भिक प्रक्रिया पूरा भएपछि सरकार गठनतर्फको ध्यान केन्द्रित हुनेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेपछि सोही दलका संसदीय नेता नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ।
यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन शाहले माघ ५ गते जनकपुरमा दिएको अभिव्यक्ति अहिले पुनः चर्चामा आएको छ। उनले त्यतिबेला ‘अब मधेशको युवक प्रधानमन्त्री बन्ने’ संकेत गरेका थिए, जुन वर्तमान राजनीतिक अवस्थासँग जोडेर व्याख्या गर्न थालिएको छ।
संवैधानिक समयसीमा अनुसार अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ। स्रोतहरूका अनुसार चैत ९ गते नयाँ प्रधानमन्त्रीको शपथ हुने सम्भावना उच्च रहेको छ।




