काठमाडौं । सरकारद्वारा तयार पारिएको महत्वपूर्ण प्रतिवेदन संसद् सचिवालयमा बुझाउने प्रयास बीचमै रोकिएको छ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै फिर्ता पठाएका छन्।
बिहीबार प्रधानमन्त्री कार्यालयबाट उक्त प्रतिवेदन संसद्को अभिलेखालयमा राख्ने उद्देश्यले पठाइएको थियो। मुख्यसचिव सुमनराज अर्यालको निर्देशनमा सचिव गोविन्द कार्कीमार्फत प्रतिवेदनका दुई खण्ड संसद् सचिवालयमा पुर्याइएको थियो।
यसअघि मुख्यसचिव अर्यालले उक्त प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीको निर्णयअनुसार संसद्मा अभिलेखीकरणका लागि पठाइएको जानकारी दिएका थिए। तर संसद् सचिवालय पुगेको प्रतिवेदन तत्काल स्वीकार गरिएको छैन। महासचिव पद्यप्रसाद पाण्डेयले समय अभावका कारण प्रतिवेदन बुझ्न नसकिएको बताए। उनका अनुसार आवश्यक प्रक्रिया पूरा नभएकाले कागजात फिर्ता गरिएको हो।
प्रतिवेदन फिर्ता भएपछि प्रधानमन्त्री कार्यालयले पुनः आवश्यक प्रक्रिया मिलाएर आइतबार वा सोमबार फेरि संसद्मा बुझाउने तयारी गरिरहेको छ। महत्वपूर्ण मानिएको कार्की आयोगको प्रतिवेदन संसद्मा अभिलेख गर्न ढिलाइ हुँदा प्रशासनिक समन्वयमाथि प्रश्न उठ्न थालेको छ।
अब आगामी दिनमा यो प्रक्रिया कत्तिको सहज रूपमा अघि बढ्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।




