२०८३ बैशाख १३

एकाबिहानैदेखि गृहमन्त्री गुरुङको दौडधुप, उपत्यकामा आकस्मिक अनुगमन

काठमाडौँ । काठमाडौं उपत्यकामा शनिबार बिहानै गृहमन्त्री सुधन गुरुङ असामान्य रूपमा सक्रिय देखिएका छन्। उनी आफैं सवारी साधन चलाउँदै विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको अवस्था बुझ्न अनुगमनमा निस्किएका हुन्।

बिहानको सुरुवातसँगै गुरुङ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए। त्यहाँ उनले ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको बुझिएको छ। त्यसपछि उनको यात्रा ललितपुरतर्फ मोडिएको थियो।

ललितपुरमा उनले पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्रको निरीक्षण गरे भने जावलाखेलमा रहेको जिल्ला प्रहरी परिसर पुगेर सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका थिए। यस क्रममा सम्बन्धित अधिकारीहरूसँग उनले छोटो छलफल पनि गरेको स्रोतले जनाएको छ।

जावलाखेलबाट सातदोबाटोतर्फ अघि बढ्दै गर्दा मन्त्री गुरुङले आफ्नो भ्रमणलाई नियमित अनुगमनको हिस्सा मात्र भएको बताएका छन्। यद्यपि उनको यस्तो आकस्मिक सक्रियताले सुरक्षा निकाय र प्रशासनिक वृत्तमा विशेष चासो उत्पन्न गरेको छ।