काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। पछिल्लो समय विभिन्न आरोप र आलोचनाबीच उनले आफ्नो अडान झनै कडा बनाउँदै कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
गृहमन्त्री गुरुङका अनुसार वर्षौंदेखि राष्ट्रको ढुकुटी दोहन गर्दै आएका समूहहरू अहिले सरकारको कदमबाट त्रसित बनेका छन्। “जसले देशको पसिनाको पैसा लुट्दै आएका थिए, उनीहरू आज डराएका छन्,” उनले भने, “मिडिया ट्रायल र प्रायोजित हल्ला त उनीहरूको छटपटी मात्रै हो।”
उनले भ्रष्टाचार नियन्त्रणको नाममा देखिने विरोध र आलोचना स्वार्थ समूहहरूको योजनाबद्ध प्रयास भएको दाबी गरे। “कारबाही न रोकिन्छ, न डगमगाउँछ,” भन्दै उनले अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।
गुरुङले विगतमा दैनिक अर्बौंको भ्रष्टाचार हुने गरेको संकेत गर्दै त्यस्ता गतिविधिविरुद्ध कडाइका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए। “दिनको ५० करोडसम्म भ्रष्टाचार गर्नेहरूमाथि यसरी गम्भीरतापूर्वक अनुसन्धान भएको देखिएको थिएन,” उनले भने।
उनका अनुसार वर्तमान सरकार सुशासन र पारदर्शिताको पक्षमा दृढ रहेको छ र यस अभियानबाट पछि हट्ने कुनै सम्भावना छैन। साथै, उनले जनतालाई पनि गलत सूचना र अफवाहबाट प्रभावित नहुन आग्रह गरेका छन्।




