काठमाडौं । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प आएपछि थप शक्तिशाली झट्काको सम्भावनालाई लिएर सतर्कता बढाइएको छ। पछिल्ला दिनदेखिको भूकम्पीय गतिविधिबीच आएको यो कम्पनले जोखिम अझै कायम रहेको संकेत गरेको छ।
जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार बिहान ५:२३ बजे आएको भूकम्पको केन्द्र होक्काइडोको दक्षिणी क्षेत्र र गहिराइ करिब ८३ किलोमिटर थियो। प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो।
सुनामी चेतावनी जारी नगरिए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले ठूलो क्षतिको सम्भावना न्यून आँकलन गरे पनि चट्टान खस्ने र भूस्खलनको जोखिम रहेको चेतावनी दिइएको छ।
जेएमएले आगामी दिन र हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने जनाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। केही घण्टाअघि नजिकैको समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प पनि आएको थियो।
गत साता इवाटे प्रान्तमा ७.७ म्याग्निच्युडको भूकम्पपछि बढेको त्रासबीच आएको यो कम्पनलाई सोही शृङ्खलाको हिस्सा मानिएको छ। जापान ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो।




