काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले आदिकवि भानुभक्त आचार्य को जन्मस्थल चुँदी रम्घा मा ‘भानु साहित्य उद्यान’को शिलान्यास गरेका छन्। सोमबार आयोजित कार्यक्रममा उद्यान निर्माणमार्फत भानुभक्तको जीवन, कृतित्व र योगदानलाई मूर्त रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
उद्यानको अवधारणाअनुसार रम्घाको शिखरमा भानुभक्तको विशाल प्रतिमा स्थापना गरिनेछ भने गोलघरभित्र उनको जीवनी झल्काउने संरचना निर्माण हुनेछ। साथै, नेपालका विभिन्न भाषाका आदिकवि तथा प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना गर्ने योजना पनि समावेश गरिएको छ।
यसैगरी, रामायण मन्दिर, साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान र मनोरञ्जन पार्क निर्माण गरिनेछ। भानुभक्तकालीन बस्ती र बजार क्षेत्र विकास गर्दै ऐतिहासिक परिवेश पुनर्जीवित गर्ने लक्ष्य पनि लिइएको छ।
उद्यानको अर्को विशेष आकर्षण ‘सप्तधाम’ अवधारणा रहनेछ, जसअन्तर्गत नेपालका सातै प्रदेशका प्रमुख धार्मिक स्थलहरूको प्रतीकात्मक संरचना निर्माण गरिनेछ। यसमा बराहक्षेत्र, जनकपुरधाम, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, लुम्बिनी, चन्दननाथ मन्दिर र वैद्यनाथ धाम समेटिने छन्। यसले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको प्रतीकका रूपमा उद्यानलाई विकास गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास समारोहमा राष्ट्रपति पौडेलले स्रष्टाहरू राष्ट्रको पहिचान र पुँजी भएकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए। “भानुभक्तप्रति सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई भाषा, साहित्य र संस्कृतिको त्रिवेणीका रूपमा विकास गर्नु हो,” उनले भने।
राष्ट्रपतिले चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न पहुँच मार्ग सुधार, खानेपानीको स्थायी व्यवस्था तथा पूर्वाधार विकासमा सरकारलाई तीव्रता दिन आग्रह गरे। साथै, स्थानीय समुदायलाई परम्परागत संस्कृतिको संरक्षण गर्दै योजनामा सक्रिय भूमिका खेल्न अनुरोध गरे।
उनले स्वदेश तथा विदेशका साहित्यकारलाई यहाँ आमन्त्रण गरी कार्यक्रम आयोजना गर्न, विद्यार्थीहरूको शैक्षिक भ्रमणमा यस क्षेत्रलाई प्राथमिकता दिन र पदमार्ग विकासमार्फत पर्यटक आकर्षित गर्ने योजना अघि बढाउन सुझाव दिए।
राष्ट्रपति पौडेलले भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपालीमा अनुवाद गरी नेपाली समाजलाई सांस्कृतिक रूपमा जोड्ने महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनका अनुसार भानुभक्तका रचनाले नेपाली भाषालाई लोकप्रिय बनाउँदै भावनात्मक एकताको सूत्रमा समाजलाई बाँध्न महत्वपूर्ण भूमिका खेलेका छन्।
भानु साहित्य उद्यान निर्माणसँगै तनहुँ को चुँदी रम्घा अब साहित्यिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ। यस परियोजनाले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।




