२०८३ बैशाख १६

अब पासपोर्ट घरमै: १४ जिल्लामा सेवा सुरु, ३१९ जनाले पाए घरमै डेलिभरी

काठमाडौँ । सरकारी सेवा अब विस्तारै घरदैलोमै पुग्न थालेको छ। सरकारले १४ जिल्लामा घरमै पासपोर्ट पुर्‍याउने नयाँ व्यवस्था लागू गरेको छ, जसअन्तर्गत अहिलेसम्म ३१९ जनाले आफ्नो राहदानी घरमै प्राप्त गरिसकेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालिकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटालगायत जिल्लामा यो सेवा विस्तार भइसकेको छ। सेवा हुलाक सेवा विभाग मार्फत सञ्चालन भइरहेको छ।

सरकारले सेवा विस्तारलाई तीव्रता दिँदै अन्य जिल्लामा पनि लागू गर्ने तयारी गरेको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयहरूले राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना संकलन गर्ने कामलाई प्राथमिकता दिएका छन्।

पासपोर्टसँगै सवारी चालक अनुमतिपत्र वितरणमा पनि हुलाक सेवाको प्रयोग बढ्दो छ। मन्त्रालयका अनुसार हालसम्म २ लाख ५६ हजारभन्दा बढी लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरूमा हुलाकमार्फत पठाइसकिएको छ। कास्की र मोरङमा भने सेवाग्राहीको घरमै लाइसेन्स पुर्‍याउने काम समेत सुरु भइसकेको छ।

यसैबीच, सरकारी सेवाहरूलाई अझ प्रभावकारी बनाउन हुलाक सेवाले अन्य क्षेत्रमा पनि काम विस्तार गरिरहेको छ। मध्यपश्चिम विश्वविद्यालय का प्रश्नपत्र, उत्तरपुस्तिका र प्रमाणपत्र ढुवानी सुरु भइसकेको छ भने त्रिभुवन विश्वविद्यालय का शैक्षिक प्रमाणपत्र ढुवानीबारे थप छलफल भइरहेको छ।

त्यस्तै, नेपाल टेलिकम का सिमकार्ड घरमै पुर्‍याउने तयारी भइरहेको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला का नमुना ढुवानीसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ।

सरकारले हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यो योजना गत चैत १३ गते सार्वजनिक गरिएको १०० दिने कार्यसूचीअन्तर्गत अघि बढाइएको हो।

यस अभियानलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार मन्त्रालयबीच समन्वय भइरहेको जनाइएको छ।