२०८३ बैशाख १६

‘संसद् छल्ने होइन, सहकार्य गर्नुस’: प्रधानमन्त्री बालेनलाई ज्ञानेन्द्र शाहीको चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले सरकार अध्यादेशमार्फत अघि बढ्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यस्तो कदम संसदीय अभ्यास र प्रजातान्त्रिक मूल्य विपरीत हुने चेतावनी दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लाई लक्षित गर्दै शाहीले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत विधेयक ल्याउने प्रयास गलत भएको टिप्पणी गरे।

उनले संसद्मा झन्डै दुई तिहाइ बहुमत हुँदाहुँदै पनि अध्यादेशको बाटो रोज्नु आवश्यक नरहेको उल्लेख गरे। “संसद्लाई छलेर होइन, सहकार्यबाट अगाडि बढ्नुपर्छ,” उनले भने, “यस्ता निर्णयले दीर्घकालमा सरकारलाई नै अप्ठ्यारो पार्न सक्छ।”

शाहीले लोकतान्त्रिक प्रणालीको मर्मअनुसार विधेयक संसद्मै प्रस्तुत गरी छलफल र सहमतिबाट पारित गर्नुपर्नेमा जोड दिए। उनले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गरे।

राप्रपा संसदीय दलको तर्फबाट आएको यो धारणा अहिले अध्यादेशको विषयमा बढ्दो राजनीतिक बहसबीच आएको हो, जसले सरकारमाथि थप दबाब सिर्जना गर्ने देखिएको छ।