२०८३ बैशाख १९

निर्यातमा अलैँचीको दबदबा, ९ महिनामा १० अर्बभन्दा बढी आम्दानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालबाट हुने अलैँची निर्यात उल्लेखनीय रूपमा बढेको छ। मेची भन्सार कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार चैत मसान्तसम्म आइपुग्दा अलैँची निर्यात ४१.५८ प्रतिशतले वृद्धि भई कुल मूल्य रु १० अर्ब ७० करोड ७ लाख १८ हजार पुगेको छ।

सो अवधिमा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची विदेश पठाइएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने अलैँची निर्यात रु ६ अर्ब २५ करोड १२ लाख ६१ हजारमा सीमित थियो। यसले चालु वर्षमा अलैँचीले निर्यात व्यापारमा बलियो उपस्थिति जनाएको देखिन्छ।

तर, निर्यातको अर्को प्रमुख वस्तु चियामा भने गिरावट देखिएको छ। चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घट्दै रु २ अर्ब ५८ करोड १९ लाख ८५ हजारमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा चियाको निर्यात रु ३ अर्ब २७ करोड २० लाख ७२ हजार पुगेको थियो।

अन्य वस्तुहरूको निर्यातमा भने मिश्रित अवस्था देखिएको छ। तथ्याङ्कअनुसार भेनियर सिटको निर्यात ३०.८८ प्रतिशतले बढेको छ भने छुर्पी ३०.३५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशतले उकालो लागेको छ।

विशेषगरी फलामे पाताको निर्यातमा अत्यधिक वृद्धि देखिएको छ, जुन १ हजार ७४७.८१ प्रतिशतले बढेको छ। मोलासिसको निर्यात पनि ३६१.३५ प्रतिशतले वृद्धि भएको छ। तर सिमेन्ट क्लिङ्करको निर्यात भने पूर्ण रूपमा घटेर शून्यमा झरेको छ।

समग्रमा हेर्दा, मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार बराबरको मालवस्तु निर्यात भएको छ। यसले नेपालका केही निर्यातमुखी वस्तुहरूले राम्रो प्रदर्शन गरिरहेको भए पनि केही क्षेत्रमा चुनौती अझै कायम रहेको संकेत गर्छ।

अलैँचीको उच्च माग र मूल्य वृद्धिले निर्यातमा सकारात्मक प्रभाव पारेको देखिन्छ भने चियाजस्ता परम्परागत वस्तुमा आएको गिरावटले नीतिगत सुधार र बजार विस्तारको आवश्यकता औंल्याएको छ।