काठमाडौं । तनहुँ जलविद्युत् आयोजना मा हालसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ। १४० मेगावाट क्षमताको यो आयोजना तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन छ।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध, सुरुङ, विद्युत्गृह र प्रसारण लाइन गरी तीनवटै प्याकेजमा काम तीव्र गतिमा अघि बढिरहेको छ। मुख्य बाँध निर्माणका लागि सेती नदी लाई समेत मोडेर आवश्यक पूर्वाधार तयार गरिएको छ भने अहिले कङ्क्रिटिङ कार्य जारी छ।
विद्युत्गृह र सुरुङतर्फको काम झण्डै सम्पन्न भइसकेको छ भने दमौली–भरतपुर २२० केभी प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ।
बहुराष्ट्रिय लगानीमा निर्माण भइरहेको यस आयोजनाले पूरा भएपछि देशको ऊर्जा आपूर्तिमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।




