काठमाडौं, २० साउन । बागमती प्रदेशमा आज नयाँ अध्याय सुरु हुँदैछ । नेपाली कांग्रेसका नेता तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रदेशको छैठौं मुख्यमन्त्रीका रूपमा नियुक्त हुन लागेका छन्।
दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिँदै बानियाँले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
सोमबार कांग्रेसका ३७ र सत्ता साझेदार एमालेका २७ सांसदको समर्थनसहित कुल ६४ मत ल्याएर बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक पर्छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार बहुमत जुटाएर दाबी गर्न आह्वान गरेका थिए।
आज सपथपछि बानियाँले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रारम्भिक चरणमा कांग्रेस र एमाले दुवैबाट मन्त्रीहरू नियुक्त हुने संभावना छ।
प्रदेशको नेतृत्व हातमा लिएर बानियाँ अब स्थिर सरकार र प्रभावकारी शासनको चुनौती सामना गर्न तयार छन्। उनको सपथसँगै बागमतीको राजनीतिको नयाँ यात्रा औपचारिक रूपमा सुरु हुनेछ।




