२०८३ बैशाख १३

अप्पर स्याँङ्गे हाइड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौँ । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको शेयर कारोबार नेप्सेले स्थगित गरेको छ। कम्पनीले सञ्चालक समितिको बैठकमा भएको महत्वपूर्ण निर्णयबारे समयमै जानकारी नदिएको भन्दै नेप्सेले यस्तो कदम चालेको हो।

कम्पनीको सञ्चालक समितिले २०८२ भदौ ११ गते बसेको बैठकमा वार्षिक साधारण सभासम्बन्धी निर्णय गरेको थियो। तर, उक्त निर्णय नेप्सेलाई भदौ १६ गतेमात्र जानकारी गराइएको थियो। यसले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२ (१) को उल्लङ्घन भएको नेप्सेको ठहर छ। सो नियमअनुसार, कुनै पनि सूचीकृत कम्पनीले धितोपत्र मूल्यमा असर पार्ने सूचना वा निर्णय त्यही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै नेप्सेलाई बुझाउनुपर्ने व्यवस्था छ।

कम्पनीले नियमको पालना नगरेपछि नेप्सेले १६ भदौबाट अप्पर स्याँङ्गे हाइड्रोपावरको शेयर कारोबार रोक्का गरेको छ। साथै, कम्पनीलाई ३ कार्य दिनभित्र समयमै जानकारी पेस गर्न नसकेको कारणसहित सञ्चालक समितिको निर्णयको छायाँप्रतिलिपि पेश गर्न निर्देशन दिइएको छ।