काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालनबारे बैंकर तथा व्यवसायीसँग परामर्श सुरु गरेको छ ।
शुक्रबार बैंकले नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन तथा नेपाल वित्तीय संस्था सङ्घ एवं निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गरेको हो ।
बैंकर्ससँगको छलफलमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहज रूपमा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।
त्यस्तै, व्यवसायीसँगको छलफलमा निजी क्षेत्रबाट हुने ऋणको माग तथा राष्ट्र बैंकले गर्न सकिने सहजीकरणबारे समेत छलफल गरिएको थियो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शबाट कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघबाट वीरेन्द्रराज पाण्डे लगायत सहभागी थिए ।
बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ लगायत सहभागी थिए ।
छलफलमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनलाई सङ्कटको लेला जनताको बैंकिङ कारोबार र भुक्तानीलाई सहज बनाउन बैंकर्सहरुसँग आग्रह गरेका थिए ।
साथै, अहिलेको विषम परिस्थितिमा पीडित उद्योगी व्यवसायीको वित्तीय व्यवस्थापनमा सहयोगी बन्न समेत आग्रह गरेको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए ।
व्यवसायीसँगको छलफलमा व्यवसायीले भोग्दै आएका समस्या तथा वर्तमान परिस्थितिमा पर्न सक्ने असर एवं राष्ट्र बैंकले गर्नसक्ने सहजीकरणको सम्बन्धमा छलफल भएको परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए ।
जेनजी आन्दोलनका कारण गभर्नर पौडेलकै दुई वटा घर जलाइएको छ । यो परिस्थितिबिच समेत उनले सरोकारवालालाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा बैंकर तथा व्यवसायीले पौडेलप्रति सहानुभूति समेत व्यक्त गरेका थिए ।




