२०८३ बैशाख १३

विकास गरें सहर बनाएँ, भ्रष्ट भईन, अन्ततः आफ्नै घर जल्यो- म त आफ्नै सहरको अपराधी भएछु: डोरमणि

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी भएपछि मार्मिक तर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले हेटौँडाको विकासमा गरेको आजीवन योगदानलाई नै आफ्नो सबैभन्दा ठुलो ‘गल्ती’ भएको टिप्पणी गरेका छन् ।

पौडेलले आफूले जीवनका ५४ वर्ष हेटौँडाको समृद्धि र प्रदेशको विकासमा लगाएको भए पनि त्यसकै कारण आज घर खरानी भएको व्यथा पोखेका छन् । उनले घरअगाडिको सानो विद्यालयलाई १२ कक्षासम्म विस्तार गर्नु, पञ्चायती निरङ्कुशताविरुद्ध लड्नु, मेयरका रूपमा शून्य अवस्थाबाट हेटौँडालाई देश–विदेशमा चिनाउनु, खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यमा सुधार गर्नुजस्ता कार्यलाई नै ‘गल्ती’ भएको बताए ।

मुख्यमन्त्रीको हैसियतमा प्रदेशको राजधानी हेटौँडा कायम गर्नु, बन्द भएका परियोजनामा पुनर्जीवन दिनु, ५० शय्याको अस्पताललाई ५०० शय्याको शिक्षण अस्पताल बनाउने अभियान सुरु गर्नु, कृषि सुपर मार्केट, दूध प्रशोधन कारखाना र विश्वविद्यालयको जग हाल्नु पनि उनले आफ्ना गल्तीहरूको सूचीमा राखे ।

‘म हेरी रहेँ, मेरो घर जली रह्यो… हेर्दा हेर्दै खरानी भयो,’ उनले लेखेका छन्, ‘नगरपालिकालाई अर्बौँको जग्गा दिलाएँ, खुम्चिएको हेटौँडालाई बृहत्तर हेटौँडा बनाएँ, गल्ती माथि गल्ती गरेछु।’

आफ्नो जीवनभर कसैको एक रुपैयाँ नखाएको र भ्रष्टाचार नगरेको प्रमाणित गर्न चुनौती दिँदै पौडेलले त्यसो भए आत्मदाह गर्न तयार रहेको पनि घोषणा गरेका छन् । उनले गरेको योगदान खरानी भएको पीडा व्यक्त गर्दै अझै थुप्रै ‘गल्तीहरू’ लेख्न बाँकी रहेको उल्लेख गरेका छन् ।