२०८३ बैशाख २३

पीएम कपमा आजपनि दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।  आज पीएम कपमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबको ६ खेलमा ११ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशको ७ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा कर्णाली प्रदेश ७ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने नेपाल पुलिस क्लब ६ खेलमा ७ अंकसहित चौथो स्थानमा छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

ललितपुरको पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । दुवैको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।

बुधबार साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुई पक्षमा विवाद हुदा चक्कु प्रहार भएको र  दुवै जनाको पेटमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

उपसभामुखको मनोनयन दर्ता आज

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, आज उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा आज दिउसो २: ३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

त्यसैगरी उपसभामुखको निर्वाचन शुक्रबार हुने गरि सभामुख डिपी अर्यालले मिति तोकेका छन् । शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने तय भएको छ ।

उपसभामुख सभ्मुख भन्दा फरक दलको हुनुपर्ने भएकाले विपक्षी दलहरुबाट उम्मेदवारी पर्ने भएको छ । संबैधानिक व्यवस्था अनुसार पुरुष सभामुख भएकाले उपसभामुख महिला बन्ने निश्चित रहेको छ । प्रतिनिधि सभामा रास्वपा दुई तिहाई बहुमत निकट रहेकाले उसको समर्थन पाउने दलले उपसभामुख पाउने छ ।

Read More

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

समितिले बैठक आज अपराहन्न १२: १५ बजेदेखि सिंहदरवारस्थित संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने जानकारी दिएको छ ।

बैठकमा समितिको आगामी कार्ययोजना बारे छलफल हुने कार्यसूची रहेको छ । समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

Read More

ओली र लेखक आज रिहा हुने सम्भावना कति छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक आज थुनामुक्त हुने सम्भावना रहेको छ ।

ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले तेस्रोपटक ५ दिनको लागि लिएको म्याद आज सकिन लागेको हो ।

ओली र लेखकविरुद्ध अब म्याद थप नगर्न भन्दै सर्वोच्च अदालतले दिएको परमादेशका आधारमा उनीहरू आज रिहा हुने सम्भावना रहेको छ । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेका थिए । सर्वोच्चले अहिले थप गरेको म्याद भित्र नै अनुसन्धान टुंगाउन र अनुसन्धान नसकिएमा ओली र लेखकलाई रिहा गरेर अनुसन्धान जारी राख्न आदेश दिएको थियो ।    

तर प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतलमा अभियोजन दर्ता गरी थुनछेक बहससमेत सुरु भएका खण्डमा भने ओली र लेखक तत्काल रिहा नहुन सक्ने पनि देखिएको छ । मुद्धा दर्ता भएर थुनछेक बहस शुरु भएपछि भने उनीहरूको रिहाई जिल्ला अदालत, काठमाडौँको आदेशमा भरपर्ने देखिएको छ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नेमध्ये कुनै आदेश अदालतले दिन सक्छ । 

गत भदौ २३ र २४ को आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका पहाडी भू-भाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा    तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Read More

२०८२ चैत २६ गते विहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २६ गते विहिबार ईस २०२६ अप्रिल ९ नेपाल सम्बत ११४६ चौलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा, मूल  नक्षत्र, परिघ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । स्वनिणर्यमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ९, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । दिमाग बोझिलो बन्ने भएकाले ससाना कुरामा समेत विवादको परिस्थिति बन्नसक्छ, त्यसैले महत्त्वहीन र बेकारका काममा शक्ति र समय खर्च गर्नुहुँदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

मन प्रेमिल बन्ने समय हो । नयाँरनयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । निणर्यात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचाररविमर्शमा खाडल सिर्जना हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

अभिव्यक्तिगत कलात्मकता एवं आन्तरिक प्रतिभा प्रस्फुटन हुने राम्रो समय छ, वौद्धिक क्षेत्र, प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले फाइदा लिने र इज्जत कमाउने दिन हो । अठोट र निणर्यहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो ।

Read More

गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलर्य फिर्ता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार विज्ञाप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि कानुन विपरित शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैरकानुनी रुपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो  ।

मन्त्रालयले कुनैपनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको प्राव्धान तथा अन्य प्रचलित  कानुन बमोजिम थप कारवाही प्रकृया अगाडि बढाउनुपर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु र स्थानीय तहहरुबाट आवश्यक समन्वय हुन अनुरोध गरेको छ ।

साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरण प्रयोजनका लागि शिक्ष्ाँ तथा मानवस्रोत विकास केन्द्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको मन्त्रालयले जनाएको छ । कसैको सिकायत वा गुनासो भएमा सोही कक्षमा फोन गरी थप साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरणसहायता प्राप्त गर्न सकिने र सोकक्षको सम्पर्क व्यक्ति केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर (फोनः९८५१२१४६३८ इमेल ratthour@gmail.com) सम्पर्क गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले यसअघि यही चैत २२ गते विज्ञप्ति मार्फत केही संस्थागत विद्यालयहरुmले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरित हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी भारी शुल्क असुली गरेको पाइएकोमा गम्भीर यानाकर्षण भएको जनाउदै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको थियो  ।

मन्त्रालयले कुनै पनि विद्यालयबाट यस्ता गैरकानुनी काम हुन नदिई अभिभावहरुबाट कानुन विपरीत ढङ्गले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध पनि गरेको थियो ।

Read More

मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मकाउ पठाइदिन्छु भन्नै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा घर भएका ४५ वर्षीय राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ८३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

नागरिक केन्द्रित सेवा प्रवाह गर्न महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार भर्चुअल माध्यमबाट दिएको निर्देशन सम्बोधनमा उनले नागरिकका समस्या र गुनासोलाई छिटो र प्रभावकारी रूपमा समाधान गर्न जोड दिएका हुन् ।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो सेवा दिनुका साथै बिचौलियाको प्रभाव अन्त्य गर्न कडा निर्देशन दिए । कुनै पनि प्रलोभन वा दबाबमार्फत काम गराउने गतिविधिमा संलग्न व्यक्तिलाई तुरुन्त कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । साथै, प्रत्येक कार्यालयमा नागरिक सहजकर्ता राखी सेवाग्राहीलाई सरल सेवा दिन र प्रगति विवरण एसएमएसमार्फत जानकारी गराउनुपर्ने पनि निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कार्कीले शून्य सहनशीलताको नीति अपनाउँदै पारदर्शी र निष्पक्ष सेवा दिन सबै प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताए । अपराध अनुसन्धानलाई तथ्यमा आधारित र पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध, तस्करी, गुण्डागर्दी तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिए ।

उनले सबै प्रहरी कर्मचारीले अनुशासन, इमानदारी र व्यावसायिकता कायम गर्दै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए । आपराधिक घटना हुन नदिन योजना बनाएर सुरक्षा व्यवस्था मिलाउन, सवारी दुर्घटना घटाउन सम्बन्धित निकायसँग समन्वय गर्न र जनचेतना बढाउन पनि उनले जोड दिए ।

सम्भावित विपद्का घटनामा सतर्क रहनुपर्ने बताउँदै उनले पूर्वतयारी र अभ्यासलाई प्राथमिकतामा राख्न निर्देशन दिए । विपद्को समयमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। भीड नियन्त्रणमा विगतका कमजोरी सुधार गर्दै आवश्यक अभ्यास गर्न र जिम्मेवारी पूरा गर्दा सामाजिक सञ्जाल प्रयोगमा पनि सचेत रहन उनले आग्रह गरे ।

कार्यक्रममा अपराध अनुसन्धान विभाग प्रमुख अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए । कार्यक्रममा विभिन्न प्रदेश, जिल्ला तथा मातहत इकाइका प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो ।

Read More