२०८३ बैशाख २३

इरानका नयाँ सर्वोच्च नेता गम्भीर बिरामी अवस्थामा उपचारत !

काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी गम्भीर बिरामी अवस्थामा अस्पतालमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

टाइम्सको एक रिपोर्ट अनुसार उनी बेहोस अवस्थामा रहेका छन् र हाल कुम सहरस्थित अस्पतालमा उपचार भइरहेको छ । उक्त जानकारी अमेरिकी र इजरायली गुप्तचर निकायले खाडी मुलुकहरूसँग साझा गरेको कूटनीतिक नोटलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो ।

रिपोर्टमा फेब्रुअरी २८ मा भएको हवाई आक्रमणमा उनी गम्भीर घाइते भएका थिए । सोही आक्रमणमा उनका पिता तथा इरानका पूर्व सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ ।

घाइते भएपछि मोजतबा खामेनेईको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको र हाल देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरिएको छ ।

उक्त नोटमा पहिलो पटक उनको अवस्थिति पनि खुलाइएको छ । उनी तेहरानबाट करिब ८७ माइल दक्षिणमा रहेको कुम सहरमा रहेका छन्, जुन शिया मुस्लिमका लागि पवित्र स्थल मानिन्छ ।

साथै, अमेरिकी र इजरायली गुप्तचर निकायलाई उनको अवस्थिति पहिले नै थाहा भए पनि अहिलेसम्म सार्वजनिक नगरिएको पनि रिपोर्टमा जनाइएको छ ।

Read More

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन । 

Read More

इरानमा विद्युत् केन्द्र वरिपरि मानव श्रृंखला बनाउन आह्वान

काठमाडौँ । इरान सरकारले देशभरका नागरिकलाई विद्युत् केन्द्र वरिपरि मानव श्रृंखला बनाउन आह्वान गरेको छ ।

सरकारले विशेषगरी युवा, कलाकार र खेलाडीलाई लक्षित गर्दै अप्रिल ७ मा देशका विभिन्न विद्युत् उत्पादन केन्द्र नजिकै एकजुट हुन आग्रह गरेको हो । यसको उद्देश्य अमेरिकी आक्रमणबाट सार्वजनिक संरचनाको सुरक्षा गर्नु रहेको बताइएको छ ।

इरानका युवा तथा खेलकुद मामिलाका उपमन्त्री अलिरेजा रहीमीले सामाजिक सञ्जालमार्फत सबै नागरिकलाई हातेमालो गर्दै विरोध जनाउन आह्वान गरेका छन् । उनले सार्वजनिक संरचनामाथिको आक्रमण युद्ध अपराध भएको सन्देश दिन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९१ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४८२० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।

Read More

विद्युत प्राधिकरणको सप्तरी वितरण केन्द्रका प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् ।

दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ ।

दासलाई कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी, नगरपालिका-१ सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

काठमाडौँ  । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ । 

विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका २३६ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि अप्रिल ५ सम्म ६५ महिला र १७१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३ समूहका ७३ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा ३ समूहका ३४ आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक ३७ जना छन् भने अमेरिकाका २५ जना रहेका छन् । त्यस्तै क्यानडाका १७ जना र पोल्याण्डका १५ जना रहेको विभागले जनाएको छ  ।

यी अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

Read More

शंकर पोखरेलको प्रश्न- बैदेशिक ऋणको हिजो किन विरोध गरियो र आज किन लिइयो ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले लिएको वैदेशिक ऋणको विषय टिप्पणी गर्दै हिजो किन विरोध गरेको र आज किन लिएको भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्ने बताएका छन् ।

उनले भनेका छन्- 

दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।

हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ । 

Read More

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

काठमाडौँ । चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । नासाको आर्टेमिस २ ले मानवलाई पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढासम्म पुर्‍याउँदै पुरानो रेकर्ड तोडेको छ ।

यस अभियानले अपोलो १३ ले सन् १९७० मा बनाएको दूरीको कीर्तिमान पार गरेको हो । चन्द्रमाको नजिक पुग्दा अन्तरिक्ष यात्रीहरूले झ्यालबाट चन्द्रमाको आकर्षक दृश्य अवलोकन गरेका थिए । विशेषगरी चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (फार साइड) नजिकबाट हेर्ने अवसर पाएका छन्, जुन मानवका लागि दुर्लभ मानिन्छ ।

करीब ६ घण्टा लामो फ्लाइबाय यस अभियानको सबैभन्दा महत्वपूर्ण चरण मानिएको छ । यसमा तीन अमेरिकी र एक क्यानडाली अन्तरिक्ष यात्री सहभागी छन् । यो अभियान भविष्यमा पुनः मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घकालीन योजनाको हिस्सा हो ।

नासाका अनुसार अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट अधिकतम करिब २ लाख ५२ हजार ७५२ माइल दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । यससँगै उनीहरू मानव इतिहासकै सबैभन्दा टाढा पुगेका व्यक्तिका रूपमा स्थापित भएका छन् ।

करिब १० दिन लामो यस अभियानपछि आगामी १० अप्रिलमा अन्तरिक्षयान प्रशान्त महासागरमा अवतरण गर्दै पृथ्वीमा फर्किने तालिका छ । नासाले यसलाई चन्द्रमामा दीर्घकालीन आधार निर्माणतर्फको महत्वपूर्ण कदम मानेको छ । सन् २०२८ भित्र चन्द्रमाको दक्षिणी ध्रुव नजिक मानव अवतरण गराउने लक्ष्य राखिएको छ ।

यस अभियानका कमाण्डर रीड वाइजम्यान रहेका छन् भने पाइलटको जिम्मेवारी विक्टर ग्लोभरले सम्हालेका छन् । त्यस्तै, क्रिस्टिना कोच र क्यानडाली अन्तरिक्ष एजेन्सीका जेरमी ह्यान्सन विशेषज्ञका रूपमा सहभागी छन् । उनीहरू सबै ओरियन अन्तरिक्षयान मा सवार भई चन्द्रमाको नजिकबाट ऐतिहासिक यात्रा गरिरहेका छन् ।

Read More

सोमालियामा पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

काठमाडौँ । सोमालियाले पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज शुक्रबार सोमालियाको समुद्री क्षेत्रमा पुग्ने तयारीमा रहेको जनाइएको छ ।

गत वर्ष टर्कीको अनुसन्धान जहाजले सफलतापूर्वक भूकम्पीय सर्वेक्षण सम्पन्न गरेपछि यो कदम अघि बढाइएको हो । सोमालियाका पेट्रोलियम मन्त्री दाहिर शिरेले यसलाई देशको ऊर्जा यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

यदि उत्खनन सफल भएमा समुद्रमा रहेको तेल भण्डार खुल्ने र देशको अर्थतन्त्र सुधारमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। टर्कीको तेल कम्पनीको ‘चाग्री बेय’ नामक जहाजले अरब सागर क्षेत्रमा गहिरो समुद्री उत्खनन गर्नेछ ।

मन्त्री शिरेका अनुसार हाल पहिचान गरिएका सम्भावित क्षेत्रमा परीक्षण ड्रिलिङ सुरु गरिनेछ । उनले यसबाट प्राप्त लाभ देशको समृद्धि र नागरिकको जीवनस्तर सुधारमा प्रयोग गरिने बताएका छन् ।

सोमालिया र टर्कीबीच सन् २०२४ मा उत्पादन साझेदारी सम्झौता भएको थियो । सोमालियाका विदेशमन्त्री अली ओमरले यस परियोजनाले टर्कीलाई दीर्घकालीन विश्वासिलो साझेदारका रूपमा स्थापित गर्ने बताएका छन् ।

टर्कीका ऊर्जा मन्त्री अल्पार्सलान बायरक्तारका अनुसार यदि तेल वा ग्यास भेटिएमा यसले सोमालिया मात्र होइन पूर्वी अफ्रिका र टर्कीको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्नेछ ।

विशेषज्ञहरूका अनुसार सोमालियामा अर्बौं ब्यारेल तेल भण्डार रहेको अनुमान गरिए पनि लामो समयको द्वन्द्व र राजनीतिक अस्थिरताका कारण उत्खनन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Read More

इरानलाई एकै रातमा समाप्त पार्न सक्छौं- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्धबारे कडा अभिव्यक्ति दिएका छन् । गएराती आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिका चाहेको खण्डमा एकै रातमा इरानलाई समाप्त गर्न सक्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले इरानविरुद्धको युद्ध आफूहरूको योजनाअनुसार अघि बढिरहेको दाबी गरे । आवश्यक परे जुनसुकै बेला कडा कदम चाल्न सकिने भन्दै उनले दबाब बढाएका छन् ।

इरानमा फसेका अमेरिकी पाइलटको उद्धारलाई उनले ऐतिहासिक अभियान बताएका छन् । उनका अनुसार उद्धारका लागि ठूलो जोखिम उठाइएको थियो । एक-दुई जनालाई बचाउन सयौंको ज्यान जोखिममा राखियो’ उनले भने ।

उद्धार अभियानका क्रममा १५५ सैन्य विमान परिचालन गरिएको थियो । तीमध्ये लडाकु विमान, बमवर्षक, इन्धन भर्ने ट्यांकर र उद्धार विमान समावेश थिए । विभिन्न दिशाबाट विमान पठाएर दुश्मनलाई झुक्याउने रणनीति अपनाइएको उनले बताए ।

ट्रम्पका अनुसार हालसम्म इरानका १३ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ भने ३७ दिनमा १० हजारभन्दा बढी लडाकु उडान सम्पन्न भएका छन् ।

उनले पहिलो पटक इरानले अमेरिकी एफ-१५ विमान खसालेको स्वीकार गरे । तर त्यो दुर्भाग्यवश भएको घटना मात्र भएको उनको भनाइ थियो ।

घाइते पाइलटको साहसबारे पनि उनले चर्चा गरे । विमान खसेपछि पाइलट प्यारासुटबाट झरेर गम्भीर घाइते अवस्थामै पहाडी क्षेत्रमा चढ्दै आफूलाई जोगाउन सफल भएको उनले बताए । पछि हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको जानकारी दिए ।

उद्धार अभियानबारे सबै सैन्य सल्लाहकार एकमत नभएको पनि ट्रम्पले स्वीकार गरे । जोखिम अत्यधिक भएकाले केही अधिकारीहरूले विरोध गरेको उनले बताए । तर रक्षा नेतृत्वले भने अभियानलाई समर्थन गरेको उनको भनाइ थियो ।

सूचना चुहावटप्रति पनि उनले कडा चेतावनी दिएका छन् । इरानमा फसेका अर्को पाइलटबारे जानकारी सार्वजनिक गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि कारबाही गर्न सकिने उनले बताए ।

पत्रकार सम्मेलनमा ट्रम्पले इरानका नागरिकबारे पनि टिप्पणी गरे । आक्रमणका कारण पीडा भए पनि अन्ततः स्वतन्त्रताका लागि त्यो सहन तयार हुने उनले दाबी गरे ।

युद्ध अन्त्यतर्फ गएको हो कि अझ बढ्ने भन्नेबारे उनले स्पष्ट बताएनन् । उनले भने- ‘अहिलेको अवस्था धेरै महत्वपूर्ण छ, सबै कुरा उनीहरूले के गर्छन् भन्नेमा निर्भर छ ।’

सो अवसरमा उनको स्वास्थ्यको विषयमा पत्रकारहरुले सोधेको प्रश्न भने उनले खारेज गरेका थिए । उनको मानसिक अवस्थाको बारेमा समेत प्रश्न सोधिएको थियो । सामाजिक सञ्जालमा ट्रम्पले इरानलाई गाली गर्दै पोष्ट गर्न शुरु गरेपछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठाइएको थियो ।

Read More