२०८३ जेष्ठ २

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको  पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशको हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ र पहाडी भू-भागमा आँशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

विगतमा सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बहुमतको सरकार गठन हुन लागेको बेला जनताको अपेक्षा नयाँ ढंगले पूरा गर्न आवश्यक रहेको बताएका छन् ।

उनले पहिले नियुक्ति पाएका व्यक्तिहरूले स्वेच्छाले पद छाडे राम्रो सन्देश जाने उल्लेख गर्दै ‘हटाइयो’ भन्ने अवस्था आउन नदिन आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन् । विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि । अब लामो सास नफेर !!! सल्लाह पनि नखोज !!! ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ !’

डा. भण्डारीले स्वाभिमान पद, पैसा, सुविधा वा सत्तासँग जोडिएको नभई जिम्मेवारी र व्यवहारसँग सम्बन्धित हुने बताएका छन्।

Read More

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

काठमाडौँ । कोलम्बियामा वायुसेनाको हरक्यूलिस सी-१३० विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा ३४ सैनिकको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् ।

कोलम्बियाली वायुसेनाका प्रमुखका अनुसार विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए । दुर्घटना पेरू सीमाना नजिक दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामोमा भएको हो। रक्षा मन्त्रालयले विमान रनवेबाट करिब डेढ किलोमिटर टाढा खसेको जनाएको छ ।

घटनाप्रति कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले दुःख व्यक्त गर्दै सैनिकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले यस्तो घटना हुन नहुने भन्दै भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक सुधार गरिने बताएका छन् ।

राष्ट्रपति पेट्रोले सेनालाई आधुनिक उपकरण र स्रोतसाधनले सुसज्जित बनाउने निर्णय पहिले नै भएको तर प्रशासनिक ढिलाइका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन् । उनले आवश्यक काम गर्न नसक्ने अधिकारीलाई हटाइने चेतावनी पनि दिएका छन् ।

सैनिक सुरक्षाका लागि नयाँ हेलिकोप्टर, यातायात विमान र ड्रोनविरुद्धका प्रणाली तत्काल खरिद गर्नुपर्ने उनको भनाइ छ ।

दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यसले सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्नेदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको छ।

Read More

रवि लामिछानेसहितको मुद्धाको सुनुवाई आजपनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुदै छ । 

सोमबार न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा निवेदनका तर्फबाट दुईजना वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेपछि हेर्दा हेर्दैमा राखिएको थियो ।  

यअसघि न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो । 

यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

Read More

२०८२ चैत १० गते मंगलबार: आजको राशिफल

आजको राशिफल: बिस २०८२ चैत १० गते मंगलबार ईस २०२६ मार्च २४ नेपाल सम्बत ११४६ चौलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, प्रीति योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज विश्व क्षयरोग दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पद्र्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । जुनसुकै कुरामा ढुक्क हुने परिस्थिति छैन । हरेक काम र विषयवस्तुमा परीक्षण र निगरानी गरेर अघि बढ्नु ठीक हुन्छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । बौद्धिक सामथ्र्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ ।

Read More

एन्फा र राखेपबीच जुहारी, एन्फाले भन्यो- हिजोसम्म पनि स्विकृती प्राप्त गरेका छैनौं

काठमाडौँ । नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषदबीच जुहारी चलेकोले छ ।

एन्फाले राखेपले दशरथ रंगशालाको स्वीकृति नदिएका कारण खेल स्थगित भएको सूचना प्रकाशित गरेसँगै खेलकुद परिषदले नियमित प्रकृया पुराएर खेल आयोजना गर्नेगरि स्वीकृति प्रदान गरिएको जानकारी जनाएको थियो ।

तर एन्फाले सोमबार अर्को विज्ञप्ति जारी गर्दै राखेपले समयमा स्वीकृति नदिएका कारणले खेल हुन नसकेको दाबि गरेको छ ।

एन्फाका प्रवक्ता सुरेन्द्र शाहले विज्ञप्तिमा चैत ८ गते बिहान १०:३० बजेदेखि अपराह्न १२:३० बजेसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिएको बताएका छन् ।

एन्फाले भनेको छ :

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी २०८२ चैत १२ गते (२६ मार्च २०२६) का दिन फिफा विन्डो अन्तर्गत हङकङको राष्ट्रिय टोली र नेपालको राष्ट्रिय टोलीबीच दशरथ रं गशालामा सञ्चालन हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको व्यवस्थापन तथा स्वीकृतिसम्बन्धी विषयमा उत्पन्न परिस्थितिप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा यथार्थ वस्तुस्थिति स्पष्ट पार्न यो प्रेस विज्ञप्ति जारी गरिएको छः

१- उक्त खेल सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराइदिन यस संघले मिति २०८२/११ / १० मा च.नं. ९११-०८२-८३ मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको थियो, जुन मिति २०८२ / ११ / ११ मा दर्ता नं. ३५५९ अनुसार दर्ता भएको थियो । सोही पत्रमार्फत मैदान मर्मत सम्भारका लागि समेत अनुमति माग गरिएकोमा कुनै लिखित स्वीकृति प्राप्त हुन सकेन ।

२- स्वीकृति प्राप्तिका लागि एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले पटक-पटक राखेपका सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि लामो समयसम्म कुनै लिखित जवाफ प्राप्त हुन सकेन ।

३- उक्त जानकारीअनुसार हिजो चैत ८ गते बिहान १०:३० बजेदेखि अपराह्न १२:३० बजेसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान गरिएन ।

४. दशरथ रंगशालाको मैदान मर्मत सम्भार, फ्लड लाइटको इन्धन, कर्मचारी भत्ता, स्कोर बोर्ड सञ्चालनमा खटिने जनशक्ति लगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक दायित्व एन्फाले नै वहन गर्दै आएको अवस्थामा पनि खेल सञ्चालनका लागि समयमै आधिकारिक स्वीकृति प्राप्त नहुनु अत्यन्तै दुःखद विषय हो ।

५- अन्तर्राष्ट्रिय खेलको तयारीका लागि अत्यन्त सीमित समय बाँकी रहेको र राखेपबाट समयमै आधिकारिक लिखित स्वीकृति प्राप्त नहुँदा सिर्जित अनिश्चितताका कारण एन्फा सचिवालयले हङकङ फुटबल संघलाई जानकारी गराई उक्त खेल हालका लागि स्थगन गरिएको सूचना सार्वजनिक गरिसकेको छ । एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले ‘स्वीकृति प्रदान गरिसकेको’ भनी प्रेस विज्ञप्ति सार्वजनिक गरेकोप्रति एन्फा आश्चर्यचकित छ । चैत ५ गते जारी गरिएको पत्र ( चलानी नं ५८४/०८२/०८३) लाई चैत ८ गते मात्र सार्वजनिक गर्नु राखेप प्रशासनको नियतमाथि प्रश्न उठाउने विषय हो । यस्ता गतिविधि पुनः नदोहोरियोस् भनी सतर्क रहन तथा राखेपजस्तो निकायले एन्फामाथि दोषारोपण गर्नुको सट्टा आफ्नो प्रशासन चुस्त-दुरुस्त राखी, यस्तो गलत नियत राख्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न एन्फा आग्रह गर्दछ । हालसम्म एन्फालाई आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको तथ्य यसै विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौँ । अन्त्यमा, राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय सम्बन्धसँग प्रत्यक्ष रूपमा जोडिएको यस्ता संवेदनशील खेलमा सम्बन्धित निकायको प्रशासनिक ढिलाइका कारण उत्पन्न असहज परिस्थितिप्रति सम्पूर्ण खेलप्रेमी नेपालीहरूसँग हामी क्षमाप्रार्थी छौं ।

नेपालको हङकङ चाइनासँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल चैत्र १२ गते हुने तालिका रहेको थियो । 

Read More

युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी

काठमाडौँ । युद्धकै बीच इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी गर्न सफल भएको छ । अमेरिका र इजरायलसँगको तनावलाई अवसरका रूपमा प्रयोग गर्दै इरानले आफ्नो निर्यात निरन्तर बढाइरहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले देखाएका छन् ।

अमेरिकाले खार्ग टापु आसपासका सैन्य संरचनामा आक्रमण गरे पनि विश्व तेल संकटको डरले तेल टर्मिनललाई सिधै निशाना बनाएको छैन । यही अवस्थाको फाइदा उठाउँदै इरानले खार्ग टर्मिनल सञ्चालनमै राख्दै ‘घोस्ट फ्लीट’ मार्फत चीनतर्फ आपूर्ति जारी राखेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा सम्बन्धी निकायहरूको अनुसार इरानले दैनिक करिब १७ लाखदेखि २० लाख ब्यारेल तेल निर्यात गरिरहेको छ । देशको झन्डै ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको बताइएको छ ।

साउथ पार्स ग्यास क्षेत्रमा भएको आक्रमणले केही असर पारे पनि ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको छैन । उता, होर्मुज जलडमरुबाट आवतजावत गर्ने विदेशी जहाजबाट इरानले प्रति जहाज करिब २६ करोड  रुपैयाँ ‘युद्ध कर’ उठाइरहेको खबर पनि सार्वजनिक भएको छ ।

इरानको होर्मुज जलडमरुमा बलियो पकड र लगातार आक्रमणका कारण साउदी अरब, कतार, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सजस्ता खाडी देशहरूको आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ। सुरक्षित समुद्री मार्गको अभाव, बढ्दो आक्रमण र ढुवानी समस्याका कारण ती देशहरूको कुल उत्पादन करिब ७० प्रतिशतसम्म घटेको जनाइएको छ।

मध्यपूर्वमा जारी युद्धको सीधा असर कच्चा तेलको मूल्यमा देखिएको छ। शुक्रबार ब्रेन्ट कच्चा तेलको मूल्य ३.२६ प्रतिशतले बढेर प्रति ब्यारेल ११२.१९ डलर पुगेको छ, जुन सन् २०२२ जुलाईपछि कै उच्च हो ।

यदि तेलको मूल्य १०० डलरभन्दा माथि नै टिकिरह्यो भने भारतलगायतका देशमा महँगी बढ्ने र बजारमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

साउदी अरबमा उत्पादन १ करोड ब्यारेल प्रतिदिनबाट घटेर ८० लाखमा झरेको छ भने कतारमा ग्यास उत्पादन क्षमतामा १७ प्रतिशत गिरावट आएको छ । इराकमा उत्पादन ४३ लाखबाट घटेर १३ लाख ब्यारेल प्रतिदिनमा सीमित भएको छ भने कुवेतको निर्यात लगभग ठप्प भएको छ । संयुक्त अरब इमिरेट्समा पनि ढुवानी र बीमा खर्च अत्यधिक बढ्दा व्यापार प्रभावित बनेको छ ।

यसैबीच, बढ्दो महँगी नियन्त्रण गर्न अमेरिकाले इरानी तेल खरिदमा ३० दिनको अस्थायी छुट दिएको छ । मार्च २० देखि अप्रिल १९ सम्म लागू हुने यो निर्णय समुद्रमा रहेका इरानी तेल ट्यांकरको खरिदमा मात्र लागू हुने जनाइएको छ।

Read More

दार्चुलामा बिहानै भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा सोमबार बिहान भूकम्पको हल्का धक्का महसुस गरिएको छ, जसले स्थानीयबासीलाई केहीबेर त्रसित बनाएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा मुराई आसपासलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि पनि चैत ३ गते सितौला क्षेत्र आसपास केन्द्रित ४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले जिल्लामा साना कम्पनहरू दोहोरिँदै आएको संकेत गरेको छ।

हालसम्म उक्त भूकम्पबाट कुनै ठूलो क्षति वा मानवीय प्रभावको विवरण सार्वजनिक भएको छैन, तर स्थानीयस्तरमा सतर्कता अपनाइएको छ।

Read More

सेतो मच्छिन्द्रनाथको रथयात्राको काठमाडौँमा तयारी, महानगरले बढायो बजेट

काठमाडौँ । जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) को जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरले तयारी बैठक गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय र सहजीकरण, सरसफाइ, शान्ति सुरक्षा, जात्राको गरिमा प्रवर्धन लगायत विषयमा छलफल भएको थियो । यो जात्रा महानगरपालिकाका ९ वटा वडाहरु (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुन्छ । 

छलफलमा कार्यवाहक प्रमुख डंगोलले, जात्रा सञ्चालनका लागि महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाख रुपियाँबाट २० लाख रुपियाँ पुर्‍याइएको बताउँदै यसबाट जात्राको भव्यता र श्रद्धालुहरुको सहजतामा सहयोग पुग्ने बताइन् ।

गुठी संस्थानका प्रशासक शैलेश कुँवरले समयमा रथ यात्रा प्रारम्भ गरेर तालिका व्यवस्थापनमा प्रयास गर्ने बताए ।   सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं महानगरपालिकाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले भने- ‘यसको सन्देश विश्वलाई बुझाउनु पर्नेछ । यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ ।’ 

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष यस बर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदैअसनसम्म पुर्‍याइन्छ । 

त्यसै दिन राती १० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ । 

१३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । १४ साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्‍याइन्छ । १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् । 

प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ । 

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् । 

अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ । महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ । 

माघ शुक्ल पूर्णिमाका दिन मच्छिन्द्रनाथलाई परम्परागत बौद्ध विधिअनुसार प्राण प्रतिष्ठा गराई नारी पुरुष दुवैलाई गरिने जातकर्म, नामकर्म, चुडाकर्म आदि संस्कारगत १० कर्म गराइन्छ । त्यसपछि मात्र अफ्नो आसनमा राखिन्छ ।

 जात्रा तथा पर्वले आन्तरिक सद्भाव, भाइचारा, पारिवारिक सुख, सामाजिक व्यवस्थापन, सदाचारलगायत व्यक्ति, समाज तथा राष्ट्रलाई समृद्ध बनाउने क्षमता राख्छन् । यस पक्षलाई जात्रा सञ्चालन गर्नुको अर्थसँग जोडेर हेर्न सकिन्छ । 

Read More

रवि लामिछाने प्रकरण: मुद्दा फिर्ता विवादमा आज पनि सर्वोच्चमा बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जोडिएको मुद्दा फिर्ता गर्ने निर्णयको विषय फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। सोमबार पनि उक्त विषयमा निरन्तर सुनुवाइ हुदैछ ।

आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको निर्देशनअनुसार निर्णय संशोधनसम्बन्धी फाइल अदालतमा बुझाएको थियो। सोही फाइलमाथि आज विस्तृत बहस भइरहेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दा विचाराधीन छ।

यसअघि पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णय विवादित बनेपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

पछि उनले आफ्नो निर्णयमा संशोधन गर्दै सहकारी ठगीबाहेक अन्य अभियोगहरू फिर्ता लिने प्रक्रिया अघि बढाइन्। सुरुमा लामिछानेको हकमा मात्र संशोधन गर्ने निर्णयले थप विवाद जन्माएको थियो। त्यसपछि माघ २ गते उनले सबै आरोपितहरूको हकमा समान रूपमा आरोपपत्र संशोधन गर्ने निर्णय गरिन्।

हाल यो सम्पूर्ण प्रक्रियाको वैधानिकता र निर्णयको उचिततामाथि सर्वोच्च अदालतमा गहन बहस भइरहेको छ।

Read More