२०८३ बैशाख १७

बेलायतमा २००८ पछि जन्मिएकाले सुर्तीजन्य पदार्थ किन्न नपाउने

काठमाडौँ । बेलायतले धूम्रपान नियन्त्रणका लागि निकै कडा र ऐतिहासिक कदम चालेको छ ।

अब सन् २००८ पछि जन्मिएका व्यक्तिले जीवनभर सुर्तीजन्य पदार्थ किन्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले ‘सुर्तीजन्य तथा वेपसम्बन्धी विधेयक’ पारित गरिसकेको छ । संसदबाट पास भइसकेको यो विधेयक अब राजाबाट औपचारिक स्वीकृति पाएपछि कानुन बन्नेछ । यो व्यवस्था इङल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा लागू हुनेछ ।

सरकारका अनुसार सन् २०२७ जनवरी १ देखि यो कानुन कार्यान्वयनमा आउनेछ । त्यसपछि हरेक वर्ष सुर्ती किन्न पाउने न्यूनतम उमेर एक वर्षका दरले बढ्दै जानेछ । यस आधारमा सन् २००९ वा त्यसपछि जन्मिएका व्यक्तिले कानुनी रूपमा कहिल्यै चुरोट वा सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।

नयाँ व्यवस्थाअनुसार पसलहरूले ग्राहकको उमेर अनिवार्य जाँच गर्नुपर्नेछ । कम उमेरका व्यक्तिलाई सुर्ती बेचिएमा जरिवाना लाग्नेछ । साथै सुर्ती बिक्री गर्ने व्यवसायीले अनिवार्य दर्ता गर्नुपर्नेछ र यसको विज्ञापन तथा प्रचारमा कडाइ गरिनेछ ।

इलेक्ट्रोनिक चुरोट (वेप) मा पनि कडा नियम लागू गरिने भएको छ । विद्यालय, अस्पताल र बालबालिकाले प्रयोग गर्ने स्थानमा धूम्रपान पूर्ण रूपमा निषेध हुनेछ भने धेरै भित्री स्थानमा वेप प्रयोग गर्न पनि रोक लगाइनेछ ।

स्वास्थ्य अधिकारीहरूले यसलाई भविष्यका लागि ‘धूम्रपानरहित पुस्ता’ तयार गर्ने ऐतिहासिक कदमका रूपमा लिएका छन् । उनीहरूका अनुसार रोग लागेपछि उपचार गर्नु भन्दा सुरुमा नै रोकथाम गर्नु प्रभावकारी हुन्छ ।

सरकारी तथ्यांकअनुसार बेलायतमा हरेक वर्ष करिब ७६ हजार मानिस सुर्तीजन्य रोगका कारण ज्यान गुमाउछन् । क्यान्सर, मुटुरोग र फोक्सोसम्बन्धी समस्या यसको प्रमुख कारण हुन् ।

यद्यपि, केही व्यवसायी र आलोचकहरूले भने यस्तो कडा नीति भन्दा जनचेतना बढाउनु बढी प्रभावकारी हुने तर्क गरेका छन् । तर सरकार भने नयाँ पुस्तालाई सुरुदेखि नै सुर्तीबाट टाढा राख्न कडा कानुन आवश्यक रहेकोमा अडिग देखिएको छ ।

Read More

मंगल ग्रहमा जीवन बारे नयाँ बहस

काठमाडौँ । मंगल ग्रहमा जीवनको सम्भावनाको बहस फेरि एक पटक तीव्र भएको छ ।

नासाका रोभरहरूले पठाएका केही तस्बिरहरूमा पखेटा भएका कीराहरू, छेपारो जस्तो जीवहरू र शिकारी जस्तो जीवन रूपहरू देखिएका दाबीहरूले वैज्ञानिकहरूको ध्यान खिचेका छन् । मंगल ग्रहको सतहमा उड्ने कीराहरू वा धुलोमा लुकेका जीवहरूको विचार रोमाञ्चक भए पनि, धेरैजसो वैज्ञानिक समुदाय यी दावीहरूप्रति सतर्क र शंकास्पद रहेको छ ।

विज्ञहरूले मंगल ग्रह सौर्यमण्डलको सबैभन्दा अध्ययन गरिएको ग्रहहरू मध्ये एक हो, र जटिल जीवनको अस्तित्वको ठोस प्रमाण अझै फेला परेको छैन । हालका दाबीहरू मुख्यतया नासाका मंगल ग्रह रोभरहरू, विशेष गरी क्युरियोसिटी रोभरले खिचेका छविहरूको व्याख्यासँग सम्बन्धित छन् ।

सार्वजनिक रूपमा उपलब्ध रोभर छविहरूको अध्ययन गर्ने कीटविज्ञानी विलियम रोमोसरले तिनीहरूले कीरा जस्तो र सरीसृप जस्तो रूपहरू प्रकट गरेको दाबि गरेका छन् । उनले ‘मंगल ग्रहमा विद्यमान कीट-जस्तै जीवहरूको प्रमाण र यसको पूरक पदार्थ’ शीर्षकको आफ्नो प्रस्तुतिमा उनले केही आकारहरू पखेटा, पखेटा-जस्तै तहहरू र व्यवस्थित खुट्टा संरचनाहरूसँग मिल्दोजुल्दो रहेको व्याख्या गरेका छन् । रोमोसरले मंगल ग्रहमा जीवन अस्तित्वमा थियो र अझै पनि अवस्थित रहेको तर्क गरेका छन् ।

उनले अमेरिकाको कीट विज्ञान समाजको बैठकमा आफ्ना अवलोकनहरू पनि प्रस्तुत गरेका थिए । उनले केही आकारहरू गतिमा वा तिनीहरूको वरपरको वातावरणसँग अन्तरक्रिया गरिरहेको देखिएको दाबि गरेका छन् । मंगल ग्रहको उच्च-रिजोल्युसन छविहरू सार्वजनिक रूपमा उपलब्ध हुँदै जाँदा, यी दावीहरूले नयाँ बहस शुरु गरेको छ र स्वतन्त्र अनुसन्धानकर्ताहरूले यी छविहरूको विश्लेषण गरिरहेका छन् ।

अर्कोतर्फ वैज्ञानिकहरूले यी दावीहरूलाई भने अस्वीकार गरेका छन् । यी दावीहरू रोमाञ्चक भए तापनि, धेरैजसो वैज्ञानिकहरू तिनीहरूलाई स्वीकार गर्न अनिच्छुक छन् ।

यसको मुख्य कारण पेरेडोलिया भनिने मनोवैज्ञानिक घटना हो । पेरेडोलियाले मानिसहरूले परिचित अनुहारहरू, जनावरहरू, वा वस्तुहरू अनियमित आकारहरूमा देख्नुलाई जनाउछ । उदाहरणका लागि, बादलहरूमा अनुहारहरू वा चट्टानहरूमा जीवको आकार देख्नु । यसलाई ग्रह विज्ञानमा एक प्रमुख चुनौती मानिन्छ, किनकि वैज्ञानिकहरूले अन्य ग्रहहरूको सतह छविहरू अध्ययन गर्दा यो भ्रमबाट बच्नुपर्छ ।

विज्ञहरूले मंगल ग्रहमा देखिएका यी ढाँचाहरू वास्तवमा लाखौं वर्षमा हावा, धुलो र क्षरणबाट बनेको चट्टान हुन सक्ने सुझाव दिएका छन् ।

Read More

कांग्रेस संसदीय दलको नेता निर्वाचन प्रक्रिया आजदेखि, भोली निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आजदेखि शुरु हुदैछ ।  निर्वाचन प्रक्रिया अनुसार आज मतदाता नामावली सार्बजनिक गर्ने कार्यसूची रहेको छ ।

निर्वाचन समितिले आज दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र ११ गते दिउसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्य तालिका सार्बजनिक गरेको छ ।

निर्वाचन समितिले मतदान सिंहदरबारस्थित कांग्रेस संसदीयदलको कार्यालयमा हुने जानकारी निर्वाचन समितिले दिएको छ ।

कांग्रेस संसदीय दलको नेताको दौडमा अर्जुननरसिंह केसी, भिष्मराज आङदम्बे लगायत रहेका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले घटेर ५०२० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।

Read More

इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युको खुलासा

काठमाडौँ । इजरायलको गुप्तचर संस्था मोसादका एक एजेन्टबारे ठूलो खुलासा भएको छ । मोसाद प्रमुख डेविड बार्नियाले ‘मेम’ नामबाट चिनिने ती एजेन्टले इजरायलको सुरक्षा रणनीतिमा महत्वपूर्ण योगदान दिएका थिए । सन् २०२३ मे महिनामा इटालीमा डुंगा दुर्घटनामा परेर उनको मृत्यु भएको अहिले खुलासा भएको हो ।

टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्टका अनुसार उक्त एजेन्टको पहिचान सार्वजनिक नगरिए पनि उनलाई हिब्रु भाषाको पहिलो अक्षर ‘मेम’ बाट चिनिन्थ्यो । इटालीको माजियोरे तालमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो। त्यतिबेला इटालीका केही मिडियाले उनलाई ५० वर्षीय एरेज शिमोनी भनेर उल्लेख गरेका थिए, तर त्यो वास्तविक नाम नभएको बताइएको छ ।

मोसाद मुख्यालयमा आयोजित स्मरण कार्यक्रममा बार्नियाले ती एजेन्टको योगदानको प्रशंसा गर्दै भने- ‘उनी देशका लागि जीवन समर्पण गर्ने समर्पित र दक्ष अधिकारी थिए ।’ उनका अनुसार ‘रोअरिङ लायन’ नाम दिइएको अभियानमा ‘मेम’ को भूमिका अत्यन्तै महत्वपूर्ण थियो ।

उनले नेतृत्व गरेको अभियान सिर्जनात्मकता, चतुराइ र अत्याधुनिक प्रविधिको संयोजन भएको बताइएको छ, जसले इरानविरुद्ध इजरायलको रणनीतिक सफलतामा उल्लेखनीय योगदान पुर्‍याएको दाबी गरिएको छ ।

इटालीका सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा डुंगामा गोप्यचर एजेन्टहरूको बैठक चलिरहेको थियो। त्यहाँ रहेका २३ जनामध्ये १९ जना इजरायली र इटालियन गोप्यचर निकायसँग सम्बन्धित थिए ।

दुर्घटनापछि ‘मेम’ को शव इजरायल लगेर अश्केलोनस्थित सैनिक समाधिस्थलमा सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा मोसादका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बार्नियाले अन्त्येष्टिमा उनलाई “मूल्यवान व्यक्तित्व, सच्चा साथी र देशप्रति निष्ठावान अधिकारी” का रूपमा सम्झिएका थिए। उनले ‘मेम’ ले आफ्नो सम्पूर्ण जीवन गोप्य सेवामा बिताएको र उनका धेरै योगदान अझै सार्वजनिक गर्न नसकिने बताएका थिए ।

यसैबीच, दुर्घटनामा संलग्न पर्यटकीय डुंगाका चालक क्लाउडियो कार्मिनाटीलाई यात्रुको मृत्युका लागि चार वर्ष कैद सजाय सुनाइएको छ । अनुसन्धानमा डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको खुलेको थियो । दुर्घटनाका बेला डुंगा किनाराबाट करिब १०० मिटर टाढा रहेको बताइएको छ ।

Read More

युद्धविरामको अवधि बारे ट्रम्पले निर्णय लिने

काठमाडौँ । इरानविरुद्धको युद्ध कति समयसम्म चल्ने भन्ने निर्णय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने भएका छन् । ह्वाइट हाउसले युद्धविरामको समयसीमा अमेरिकी राष्ट्रिय हितका आधारमा तय गरिने स्पष्ट पारेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा हालसम्म युद्धविरामको कुनै निश्चित समयसीमा नरहेको बताइन् । उनका अनुसार अवस्था लगातार परिवर्तन भइरहेकाले युद्धविराम कहिले सकिन्छ भन्ने अहिले नै निर्धारण गर्न सम्भव नभएको बताएकी छन् ।

लेभिटले परिस्थितिअनुसार रणनीति परिवर्तन भइरहने संकेत दिँदै आगामी निर्णय प्रत्यक्ष रूपमा राष्ट्रपति ट्रम्पकै हातमा रहने जानकारी दिइन् । यसले युद्धविरामको अवधि र आगामी कदमहरू वासिङ्टनको रणनीतिक प्राथमिकतामा आधारित हुने देखिएको छ ।

अप्रिल २२ मा सकिएको यसअघिको युद्धविरामको अवधि ट्रम्पले एकतर्फी रुपमा बढाएको घोषणा गरेका थिए । इरानले युद्धविराम बढाउनु आफुहरुको कुनै चासो नभएको प्रतिक्रिया दिदै अमेरिका र इजरायल फेरी आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ । ट्रम्पले भने वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानको अनुरोधमा युद्धविरामको अवधि बढाएको बताएका छन् ।

Read More

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

आज विहान ११ बजे सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बैठक बस्ने समितिले जानकारी दिएको छ ।

आजको बैठकमा साइवर बुलिङ्ग लगायत साइबर अपराध र नियन्त्रणको लागि भइरहेका प्रयासहरू, वर्षायामको शुरूवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभको तयारीको विषयमा छलफल गर्ने एजेण्डा रहेका छन् ।

Read More

यमलको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी मार्फत गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३२ खेलमा ८२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भण्ड ९ स्पष्ट अंकले अगाडी रहेको छ ।

त्यस्तै सेल्टा भिगोको ३२ खेलमा ४४ अंक रहेको छ ।

Read More

दुई मन्त्रीको बहिर्गमन: सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।

छोटो अवधिमै देखिएको यो घटनाक्रमलाई सामान्य राजनीतिक उतारचढावभन्दा बढी, शासन प्रणालीको प्रारम्भिक संकेतका रूपमा हेरिन थालेको छ । चैत्र १३ गते पदभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले सुरुमा नै सुशासन, पारदर्शिता र नैतिकताको बलियो सन्देश दिएका थिए । तर त्यही सन्देश कार्यान्वयनकै क्रममा पहिलो झट्का श्रममन्त्री दीपककुमार शाहको बहिर्गमनसँग देखियो । पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा पुनर्नियुक्ति दिएको आरोपपछि उनलाई पदमुक्त गरियो ।

प्रधानमन्त्रीले यसलाई नैतिकताको प्रश्नसँग जोड्दै निर्णय लिए पनि सम्बन्धित मन्त्रीलाई पर्याप्त स्पष्टीकरणको अवसर नदिइएको गुनासो सार्वजनिक भयो । यसले निर्णय प्रक्रियाको पारदर्शिता र विधिसम्मतताको विषयमा प्रश्न उठायो ।

त्यसपछि गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण र लगानी सम्बन्धी विवादले सरकारलाई थप दबाबमा ल्यायो । सार्वजनिक भएका तथ्यांक, सेयर लगानी र केही विवादित व्यक्तिसँग जोडिएको भनिएको सम्बन्धका कारण सरकारको ‘सुशासन’ को दाबी परीक्षणमा परेको देखिन्छ । अझ गृह मन्त्रालय जस्तो संवेदनशील निकायको नेतृत्वमाथि प्रश्न उठ्नुले यसको प्रभाव राजनीतिक मात्रै होइन, प्रशासनिक र सुरक्षात्मक क्षेत्रमा समेत पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यस घटनाक्रमलाई विश्लेषण गर्दा दुई फरक तर आपसमा जोडिएका पाटा देखिन्छन् । पहिलो, प्रधानमन्त्रीले आफ्नै टोलीभित्रका कमजोरीलाई ढाकछोप नगरी कारबाही गर्न खोज्नु सकारात्मक संकेत हो । नेपालजस्तो राजनीतिक संस्कृतिमा आफ्नै मन्त्रीविरुद्ध कदम चाल्नु दुर्लभ मानिन्छ । यसले सरकार कम्तीमा सार्वजनिक दबाबप्रति उत्तरदायी रहेको देखाउछ ।

तर दोस्रो पक्ष अझ गम्भीर छ । सरकार गठन भएको केही सातामै दुई मन्त्री विवादमा पर्नु र हटाउनुपर्ने अवस्था आउनुले सुरुवाती मन्त्री छनोटमै कमजोरी भएको संकेत गर्छ । बलियो जनमत र अपेक्षाकृत सहज राजनीतिक अवस्था हुँदाहुँदै पनि यस्तो स्थिति आउनु नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठाउने आधार बनेको छ ।

सुशासन केवल नारामा सीमित रहँदैन, यसको पहिलो परीक्षा नै टोली चयनबाट सुरु हुन्छ । योग्य, निष्कलंक र विवादरहित व्यक्तिलाई जिम्मेवारी दिन नसक्नु दीर्घकालीन रूपमा सरकारको विश्वसनीयतामा असर पार्ने कारक बन्न सक्छ । प्रारम्भमै बारम्बार सुधार गर्नुपर्ने अवस्था आउनु स्थायित्वका दृष्टिले पनि चुनौतीपूर्ण हुन्छ । यससँगै अर्को महत्त्वपूर्ण पक्ष ‘छवि व्यवस्थापन’ को पनि हो। अहिले सरकार मिडिया र सार्वजनिक चासोको उच्च निगरानीमा छ । हरेक निर्णय, नियुक्ति र गतिविधि तुरुन्तै परीक्षणमा पर्छ । यस्तो अवस्थामा साना कमजोरी पनि ठूलो राजनीतिक मुद्दा बन्न सक्छन् । गृहमन्त्रीको प्रकरणमा यही भएको छ, जहाँ तथ्यभन्दा बढी धारणा र विश्वासको संकट प्रमुख देखिएको छ ।

त्यस्तै अर्कोतर्फ, सरकारभित्र समन्वय र आन्तरिक तयारीको स्तरबारे पनि प्रश्न उठ्न थालेका छन् । यदि नियुक्ति अघि नै पर्याप्त पृष्ठभूमि अध्ययन र जोखिम मूल्यांकन भएको भए, यस्ता विवाद सुरुवातमै टार्न सकिने थियो नै ।

समग्रमा हेर्दा, वर्तमान सरकार अहिले ‘विश्वास निर्माण’ को प्रारम्भिक चरणमै चुनौतीमा परेको देखिन्छ । एकातिर कडाइ देखाएर सन्देश दिनुपर्ने दबाब छ भने अर्कोतिर सही व्यक्तिको छनोट गरेर स्थायित्व कायम राख्ने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ । अबको मुख्य प्रश्न यही हो, के प्रधानमन्त्री बालेनले यी घटनाबाट पाठ सिक्दै आगामी निर्णयहरूमा सुधार ल्याउछन्, वा यस्तै विवादले सरकारलाई निरन्तर घेरिरहन्छ ?

Read More

म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ७० अंक भएको छ र समान ७० अंक रहेको आर्सनलसँग बढी गोल गरेका कारण शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै बर्नलीको भने यो हारपछि रेलिगेसनमा पर्ने निश्चित भएको छ । बर्नलीको ३४ खेलमा २० अंक रहेको छ र १९औं स्थानमा रहेको छ । यस सिजनमा बर्नलीसँगै वोल्भ रेलिगेसनमा पर्ने निश्चित भएको छ ।

Read More