२०८३ बैशाख १७

डेपुटी गभर्नर किरण पण्डितको सम्पत्ति विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको उल्लेख छ ।

काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण भएको जनाइएको छ ।

यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको उल्लेख छ भने आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ ।

पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख गरेका छन र उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ ।

त्यस्तै उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको उल्लेख गरेका छन् । साथै विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ । त्यस्तै उनले आफ्नो सम्पत्ति विवरणमा श्रीमतीको नाममा इ२० महिन्द्रा इभी गाडी र २ मोटरसाइकल तथा आफ्नो नाममा एक मोटरसाइकल रहेको उल्लेख गरेका छन् । 

पण्डित चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

Read More

आइपिएलमा लखनउमाथि राजस्थान ४० रनले विजयी

काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ४० रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १६० रनको लक्ष्य पछाएको लखनउले १८ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।

लखनउका लागि मिचेल मार्शले सर्बाधिक ५५ रन बनाए भने निकोलस पुरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर र बृजेश शर्माले २-२ तथा रविन्द्र जडेजा र रवि विश्नोईले २-२ विकेट लिए ।

यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । राजस्थानका लागि रविन्द्र जडेजाले ४३ तथा यशस्वी जैसवाल र शिमरन हेटमायरले २२-२२ रन बनाएका थिए ।

यो जितपछि राजस्थानको ७ खेलमा १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने ७ खेलमा ४ अंक रहेको छ ।

Read More

विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइदै

काठमाडौँ । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिव मनाउने गरिएको छ ।

आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सवको दिन पनि हो । विश्व पुस्तक दिवस कार्यक्रमको अपनत्व युनेस्कोले लिँदै आएको छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाइन लागिएको हो । लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसका रुपमा लिइएको हो । पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो ।

अप्रिल २३ का दिन स्पेनमा ‘गुलाब दिवस’ मनाइन्थ्यो । भ्यालेन्टाइन दिवसका दिन जस्तै एक अर्का गुलाब साटासाट गरेर एक अर्काप्रति माया र सद्भाव साट्ने गर्थे । तर सन् १९२६ मा स्पेनिस लेखक मिगेल डि सेर्भेन्टासको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनी नागरिकहरुले पुस्तक आदान–प्रदान गर्न थालेका थिए । स्पेनमा सन् १९२६ बाटै पुस्तक दिवस जस्तै गरी विशेष कार्यक्रम मनाइन्थ्यो । त्यसैबाट विश्व पुस्तक दिवस मनाउने अवधारणा आएको थियो ।

विश्व पुस्तक दिवसका दिन विश्वभर नै विभिन्न साहित्यिक उत्सव तथा समारोहहरु मनाइन्छ । नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर पुस्तक दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ । 

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेकोछ ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यस्तै आज राती कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

बिभागले देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा अवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

Read More

२०८३ बैशाख १० गते विहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख १० गते विहिबार ईस २०२६ अप्रल २३ नेपाल सम्बत ११४६ वछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष सप्तमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, सुकर्म योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिस्र्पद्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । देखिएका बाधारअड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला ।

Read More

चार दिन भित्र थापाथलीको सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन, सुरक्षा निकाय छलफलमा

काठमाडौँ । थापाथली क्षेत्रस्थित बागमती खोला किनारको सुकुम्बासी बस्ती खाली गराउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रमुख (आईजीपी) दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर यसबारे छलफल गरेका थिए। सोही क्रममा बस्ती खाली गर्ने विषयमा आवश्यक तयारी गर्न निर्देशन दिइएको स्रोतले जनाएको छ।

छलफलमा सहभागी एक उच्च सुरक्षा अधिकृतका अनुसार आगामी शनिबार र आइतबारभित्र बागमती खोला किनार क्षेत्रमा रहेका संरचना हटाउने विषयमा प्रारम्भिक तयारीबारे कुरा भएको हो।

उनले भने, “यस विषयमा छलफल भएको छ। अब काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग पनि थप समन्वय गरेर अघि बढ्ने कुरा भएको छ।”

थापाथली क्षेत्रको बस्ती लामो समयदेखि अव्यवस्थित बसोबासका कारण विवादमा रहँदै आएको छ। यसअघि पनि उक्त क्षेत्रमा पटक–पटक खाली गराउने प्रयास भए पनि स्थानीयको प्रतिरोधका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन।

सरकारले यसपटक भने समन्वय र सुरक्षा व्यवस्थासहित बस्ती व्यवस्थापन अघि बढाउने तयारी गरेको बुझिएको छ।

Read More

डीआईजीकै प्रहरी जवानले गरे हात काट्ने प्रयास, छानबिनको नाममा ‘यातना’ दिएको भनाई

काठमाडौँ । मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाको कार्यकक्षमा एक जना प्रहरी जवानले हात काट्ने प्रयास गरेका छन्। जानकी प्रहरी चौकीमा कार्यरत जवान रोशन यादवलाई छानबिनका लागी प्रदेश कार्यालयमा झिकाइएको थियो ।

बुधबार छानबिनको नाममा ‘यातना’ दिएपछि आफूले हात काट्ने प्रयास गरेको यादवले बताएका छन्। जनकपुरमा बसेर पत्रकारिता गर्ने एक जना सञ्चारकर्मीसँग जवान यादवले गरेको कुराकानीको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

धनुषाको जानकी चौकीका इन्चार्ज वरिष्ठ सई सागर शमसेर जबरालाई निलम्बनको प्रक्रिया सुरु गरेपछि छानबिनको लागी जवानलाई पनि ४ दिनअघि प्रदेश कार्यालयमा झिकाइएको थियो ।

सागर शमसेर जबरा र एक जना व्यापारीको बिचमा भएको अडियो कुराकानी सामाजिक सञ्जालमा छताछुल्ल छ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) सागर शमसेर ज.ब.रा. सँग कुरा गर्दा ती व्यापारीले डीआईजीको नाममा आफूसँग मासिक ३ लाख र अर्का एक जनाबाट डेढ लाख डीआईजीका घुमुवाले असुल्ने गरेको आरोप लगाएका छन् ।

अडियो संवादमा ती व्यापारी भन्छन्, ‘म सँग जयलाल यादवले ३ लाख लिएर जान्छन्, उमेशकोबाट १ लाख ५० हजार ।’ अडियो प्रकरणबारे छानबिन भइरहेको छ । हात काट्ने प्रयास गरेका जवानले डीआईजी थपलिया र छानबिनमा सहभागी अधिकृतहरूले ‘जबरालाई बोलाउ’ भन्दै टर्चर दिएको बताएका छन्।

Read More

प्रदेशसभा सदस्यलाई सक्रिय हुन मुख्यमन्त्री आचार्यको आग्रह

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले प्रदेशसभा सदस्यहरूलाई संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्।

बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित संसदीय दलको कार्यालयमा आयोजित बैठकमा उनले आगामी अधिवेशनहरूमा जनताको सरोकारका विषयहरू मजबुत रूपमा उठाउन आग्रह गरे।

मुख्यमन्त्री आचार्यले प्रदेशसभालाई जनजीविकासँग प्रत्यक्ष जोडिएका मुद्दाहरूको मञ्च बनाउनुपर्नेमा जोड दिँदै विकासका प्राथमिकता र नीतिगत विषयहरूलाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने बताए।

उनले योजना छनोटदेखि कार्यान्वयनसम्म जनप्रतिनिधिहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रभावकारी अनुगमन र मूल्यांकनमा विशेष ध्यान दिन निर्देशन दिए। साथै, पार्टी संगठनलाई थप सुदृढ बनाउन पनि उनले जोड दिएका थिए।

विगतका अधिवेशनबाट सिकाइ लिँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

बैठकले संसदीय बोर्डका यसअघिका निर्णयहरू अनुमोदन गर्नुका साथै बोर्डको आमन्त्रित सदस्यमा बसन्ती न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा सदस्य राजमजीप्रसाद घिमिरे, इन्द्रा गहतराज लगायतले आफ्ना धारणा राखेका थिए। बैठकको सञ्चालन प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले गरेका थिए।

Read More

जेनजी आन्दोलनमा जलेका १८४ सवारी लिलाममा गर्ने गण्डकी सरकारको निर्णय

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनहरू अब लिलामीमा जाने भएका छन् ।

गण्डकी प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरेको हो। निर्णयअनुसार आन्दोलनका क्रममा जलेका १ सय ८४ वटा सवारी साधनहरूको मूल्यांकन गरी उपयोगी अवस्थाका सवारी लिलामीमा राखिनेछ भने पूर्ण रूपमा काम नलाग्ने सवारीलाई पत्रु गरिनेछ।

यो निर्णयसँगै आन्दोलनले पुर्‍याएको क्षतिको व्यवस्थापनतर्फ सरकार अघि बढेको देखिन्छ।

यस्तै, मन्त्रिपरिषद्ले संक्रामक तथा सरुवा रोगको उपचारका लागि छुट्टै कोष स्थापना गर्ने अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। आकस्मिक अवस्थामा तत्काल उपचार खर्च व्यवस्थापन गर्न यो कोष उपयोग गरिने जनाइएको छ।

सरकारका प्रवक्ता जीत शेरचनका अनुसार हालै बागलुङमा देखिएको दादुरा प्रकोपले यस्ता कोषको आवश्यकता महसुस गराएको हो। “भोलि यस्तै समस्या अन्यत्र पनि आउन सक्छ, त्यसका लागि तयारी आवश्यक छ,” उनले भने।

उक्त कोष स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयको समन्वयमा परिचालन गरिनेछ।

त्यसैगरी, बैठकले १९८ जना असाध्य रोगीलाई उपचार सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ। साथै, अर्थमन्त्रीसमेत रहेका शेरचनलाई प्रदेश सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिइएको छ।

सरकारका यी निर्णयहरूलाई एकातर्फ क्षति व्यवस्थापन र अर्कोतर्फ स्वास्थ्य सुरक्षातर्फको तयारीका रूपमा हेरिएको छ।

Read More

कांग्रेसमा एकताको सन्देश: मिलेर अघि बढ्न सभापति गगन थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिँदै आएको आन्तरिक असन्तुलनका बीच सभापति गगन थापाले पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनले पार्टीभित्रका सबै नेता कार्यकर्तालाई मतभेद थाती राख्दै साझा लक्ष्यका लागि एकजुट हुन आह्वान गरेका छन् । थापाका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस मजबुत बन्ने हो भने त्यसका लागि आन्तरिक एकता अपरिहार्य छ।

उनले व्यक्तिगत स्वार्थ र समूहगत सोचभन्दा माथि उठेर पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा राखे। “हामी सबै मिलेर अघि बढ्यौँ भने मात्रै कांग्रेस बलियो बन्छ,” भन्ने सन्देश उनले दिएका छन्।

थापाको यो अभिव्यक्ति कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत गतिविधि र मतभेदका सन्दर्भमा आएको मानिएको छ। उनको आह्वानले पार्टीभित्रको सम्बन्ध सुधारतर्फ कस्तो प्रभाव पार्छ भन्नेमा अहिले चासो बढेको छ।

Read More