२०८३ बैशाख १७

मन्त्री रावलको महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग छलफल

काठमाडौँ । सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा रहेकी प्रतिभा रावलले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरेकी छन् ।

बुधबार भएको छलफलमा समस्याग्रस्त सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाका विषयमा महान्यायाधिवक्ता डा. कँडेलले मन्त्रीलाई जानकारी गराएका थिए भने अनुसन्धानको अवस्था बारे एआईजी केसीले ब्रिफिङ गरेका थिए । 

छलफल पछि महान्यायाधिवक्ता डा.कँडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

महान्यायाधिवक्ता डा.कँडेल बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले विशेष भूमिका खेल्ने बताए । उनले भने- ‘समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क नै स्थापना भएको छ, यसले अझै प्रभावकारी भूमिका खेल्ने छ । ‘

त्यस्तै एआईजी केसीले भने- ‘अनुसन्धानमा देखिएको केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ताका लागि सीआईबीले आवश्यक समन्वय गर्ने छ ।’

छलफलपछि मन्त्री रावलले सरकारले १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिनु पर्ने वातावरण सिर्जना नहोस् भन्ने ध्यान दिन आग्रह गरेकी थिइन् ।

Read More

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: रुवाण्डामाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले रुवाण्डालाई २ विकेटले पराजित गरेको हो ।

रुवाण्डाले दिएको ८९ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खडकाले ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको रुवाण्डाले १९.४ ओभरमा अलआउट हुदै ८८ रन मात्र बनाएको थियो ।

यो जितपछि नेपालको ३ खेलमा दोस्रो जितसहित ४ अंक भएको छ भने रुवाण्डाको ४ खेलमा ४ अंक रहेको छ ।

अब नेपालले अर्को खेल अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

प्रधानमन्त्री बालेन्द्रले आफैसँग राखे गृह मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्कालका लागि आफैसँग राखेका छन् ।

गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृहमन्त्रालय आफैसँग राखेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने गरि तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

गृहमन्त्री गुरुङले सम्पत्ति विवरण र व्यावसायिक साझेदारी बारे चौतर्फी प्रश्न उठेपछि आजै राजीनामा दिएका थिए ।

Read More

राष्ट्रपति पौडेलबाट संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबारका दिन २ बजेदेखि संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Read More

सत्ता र प्रतिपक्ष आमनेसामने: गृहमन्त्री गुरुङको राजीनामाले चर्कियो राजनीतिक भिडन्त

काठमाडौँ । गृहमन्त्रीको राजीनामापछि देशको राजनीतिक वातावरण एकाएक तातिएको छ। सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चर्किँदै जाँदा यो घटनाले नयाँ राजनीतिक बहस जन्माएको हो ।

नेकपाका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक रूपमा लिँदै छोटो तर अर्थपूर्ण प्रतिक्रिया दिएका छन्। उनले भने, “उहाँले दिनुभयो, राम्रो गर्नुभयो।”

गुरुङमाथि अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीबारे प्रश्न उठेपछि बढ्दो दबाबबीच उनले पद त्यागेका हुन्। प्रचण्डको यो टिप्पणीले सत्ताभित्रै असन्तुष्टि रहेको संकेत दिएको भन्दै विभिन्न कोणबाट व्याख्या हुन थालेको छ।

यता, प्रतिपक्षी नेकपा एमालेले भने यस घटनालाई आफ्नो पूर्वआशंका पुष्टि भएको रूपमा व्याख्या गरेको छ। एमाले महासचिव शंकर पोखरेलले पछिल्ला घटनाक्रमले आफूहरूले उठाएका प्रश्नहरू क्रमशः सही सावित हुँदै गएको दाबी गरेका छन्।

च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’देखि पछिल्ला विवादहरूलाई षड्यन्त्रपूर्ण भन्दै सरकारमाथि गम्भीर आरोप लगाए। “घटनाहरूले हाम्रो आशंका प्रमाणित गर्दै लगेका छन्,” उनले भने।

पोखरेलले तोडफोड र विध्वंसका घटनाहरू योजनाबद्ध रहेको जिकिर गर्दै पार्टीले समयमै जनतामाझ सन्देश पुर्‍याउन नसक्दा अहिलेको अवस्था आएको दाबी गरे। साथै उनले सुशासनको नाममा एमालेमाथि मात्रै आरोप लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै वर्तमान सरकारमा रहेका नेताहरूको सम्पत्ति पनि छानबिन गर्नुपर्ने माग अघि सारे।

गृहमन्त्रीको राजीनामाबाट सुरु भएको यो बहस अब सत्ता र प्रतिपक्षबीचको खुला टकरावमा रूपान्तरण हुने संकेत देखिएको छ।

Read More

“म नेतृत्वको नयाँ रूप र भूमिका खोज्दैछु” प्रचण्डको संकेत, पार्टीभित्र कडा सन्देश

काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब पुरानै शैलीमा सीमित नहुने स्पष्ट संकेत दिएका छन्।

उनले नेतृत्वको नयाँ स्वरूप र भूमिकाको खोजीमा लागेको खुलासा गर्दै पार्टीभित्रै परिवर्तनको आँधी ल्याउने तयारीमा रहेको संकेत गरेका छन्।

बुधबार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफू परिवर्तनको खोजीमा रहेको मात्र नभई अन्तिम क्षणसम्म संघर्ष जारी राख्ने उद्घोष गरे। उनले भावुक र आक्रामक शैलीमा भने, “म आफैँ नेतृत्वको नयाँ रूप खोज्दैछु। मलाई साथ चाहिएको छ। तर, म अन्तिम समयसम्म लडाइँ छोड्दिनँ।”

प्रचण्डको अभिव्यक्तिले पार्टीभित्रको शक्ति सन्तुलन फेरिन सक्ने संकेत गरेको छ। उनले अहिलेको समयलाई पार्टी पुनर्गठन र पुनर्संरचनाको निर्णायक मोडको रूपमा चित्रण गर्दै आन्तरिक रूपमा कडा सन्देशसमेत दिएका छन्। “अब पार्टीलाई साँच्चिकै नयाँ बनाउने बेला आएको छ,” उनले भने, “सच्चिन चाहनेहरू हाम्रो साथमा बसून्, नचाहनेहरू स्वतः अलगिए पनि हुन्छ।”

उनको यो अभिव्यक्ति केवल भाषणमा सीमित नभई आगामी दिनमा पार्टीभित्र ठूला निर्णय र सम्भावित पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।

राजनीतिक वृत्तमा प्रचण्डको यो ‘नयाँ रूप’ खोजीले कस्तो प्रभाव पार्छ भन्ने चासो तीव्र रूपमा बढेको छ।

Read More

होर्मुज क्षेत्रमा तीन जहाजमा गोलीबारी

काठमाडौँ । होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन जहाजमाथि गोलीबारी भएको छ । समुद्री सुरक्षासम्बन्धी स्रोत र बेलायतको समुद्री व्यापार निगरानी निकायले उक्त जानकारी दिएको हो ।

ओमानको उत्तर–पूर्व क्षेत्रमा लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोलीबारीसँगै रकेट आक्रमण भएको जनाइएको छ । आक्रमणबाट जहाजको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सबै सदस्य सुरक्षित रहेको बताइएको छ ।

यसैगरी पनामाको झण्डा बोकेको अर्को जहाजमाथि पनि आक्रमण भएको छ । उक्त जहाज इरानबाट करिब ८ नटिकल माइल दूरीमा रहेको थियो । यो जहाज र त्यसमा सवार सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

तेस्रो कन्टेनर जहाजमाथि पनि इरानबाट करिब ८ नटिकल माइल पश्चिमतर्फ गोलीबारी गरिएको थियो । होर्मुज क्षेत्रबाट बाहिरिँदै गरेको उक्त लाइबेरियाली जहाजमा भने कुनै क्षति नपुगेको जानकारी दिइएको छ ।

Read More

गरिमा विकास बैंकलाई एकैसाथ दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो सेवा गुणस्तर र सूचना सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउँदै दुई वटा महत्वपूर्ण अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र हासिल गरेको छ।

बैंकले गुणस्तरीय बैंकिङ सेवा सुनिश्चितताका लागि आईएसओ ९००१ः२०१५ तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। यी दुई मापदण्ड एकैसाथ प्राप्त गर्ने संस्थाहरूमा आफूलाई उभ्याउँदै बैंकले नेपाली बैंकिङ क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सर्टिफिकेशन संस्था इन्टरसर्टका लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रमाणपत्र ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यस उपलब्धिले बैंकलाई अझ गुणस्तरीय सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षामा सुदृढ बन्न प्रेरणा मिलेको बताए। उनले आगामी दिनमा ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

हाल गरिमा विकास बैंकले देशभर फैलिएका १२१ शाखामार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। डिजिटल तथा भौतिक दुवै माध्यमबाट सरल र सुरक्षित बैंकिङ सेवा विस्तार गर्दै बैंकले आफ्नो उपस्थिति निरन्तर मजबुत बनाउँदै लगेको छ।

Read More

मन्त्री रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग मागिन् सहकारीको बचत फिर्ताको मोडालिटीमा सुझाब

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन् । 

मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् । 

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरेकी छन् । 

मन्त्री रावलले सहकारी समस्या समाधानका लागि छलफल भइरहेको योजनामा सहयोग गर्न आग्रह गरिन । साथै मन्त्रालयले निकट भविष्यमै बचतकर्ताका रकम फिर्ता सुरु गर्न लागेकाले बचत फिर्ताको मोडालिटीका विषयमा समेत राय लिनु भएको छ । 

छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष निलबहादुर सारू मगर सहित सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका थिए । 

मन्त्री रावलसँग छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका पदाधिकारीहरु सहभागी थिए।

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगर सहित सदस्यहरू आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदिपकुमार यादव,कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री, सहनिर्देशक अस्मिता ढकाल सहभागी थिए । 

सरकारले पछिल्लो समय सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सरोकारवालासँग छलफललाई तीव्रता दिएको छ ।  

Read More

चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित

काठमाडौं । हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । 

निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ ।

यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ । गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी  दिएको थियो । 

आशीर्वाद यस चलचित्रमा प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन् । चलचित्रको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।

सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ । उमेश कुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् ।

‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘परान’ वि.सं. २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।

आशीर्वाद क्षेत्रीको प्रवेशसँगै चलचित्रको कास्टिङ बलियो बनेको छ । चलचित्रको छायांकनका लागि बाँकी कलाकार र प्राविधिक टोलीको छनोट कार्य भइरहेको निर्माण पक्षले जनाएको छ ।

Read More