२०८३ बैशाख १३

ललितपुरको न्यायाधीश तथा मन्त्री निवास र काँग्रेस केन्द्रीय कार्यालय क्षेत्रमा कर्फ्यु

काठमाडौँ । ललितपुर जिल्ला प्रशासन जिल्लाका विभिन्न भिआइपी क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रशासनले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पुल्चोकस्थित न्यायाधीश निवास, भैसैपाटीस्थित नयाँ मन्त्री निवास र सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । जेनजी आन्दोलनले उग्ररुप लिएपछि ललितपुरसहित काठमाडौँ, सुनसरीको इटहरी र रुपन्देहीमा कर्फ्यु लगाइएको छ ।

पछिल्लो अपडेट अनुसार जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ ।

Read More

अहिलेको संसदले हल निकाल्न सक्दैन ताजा जनादेशमा जानुपर्छ- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस एमाले सरकारको बर्खास्तीको माग गर्दै ताजा जनादेशमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भर्त्सना गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका छन् ।

रास्वपाले भनेको छ-  
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ ।

निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्  र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।

वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ । 

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ ।  सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौँ । 

Read More

गृहमन्त्रीलाई तिन सुरक्षा प्रमुखको ब्रिफिङ: जेनजी आन्दोलनमा यो हदको घुसपैठ कल्पना गरेका थिएनौं

काठमाडौँ । तीन सुरक्षा नियकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका छन् ।

मन्त्रीका प्रेस संयोजक शेरबहादुर सिंहका अनुसार अनुसार बानेश्वरको प्रदर्शन नियन्त्रण बाहिर गएर मानिसहरू हताहत हुन थालेपछि दिउँसै लेखकले सुरक्षा प्रमुखलाई सिंहदरबारमा बोलाएका थिए । ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।

जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा सोमबार बानेश्वर क्षेत्र हिंसात्मक भएको उनीहरुले गृहमन्त्री लेखकलाई बताए ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि जेन जी प्रदर्शनका आयोजकले एक सूचना जारी गरेर आफूहरु उक्त प्रदर्शनबाट पछाडि हटेको घोषणा गरेपछि अन्य प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा छिरेको उनीहरूले बताए ।

सरकारले जेन जी प्रदर्शनकारीसँग संयमित व्यवहार गर्नका लागि दिएको निर्देशन पालना गर्दा हिंसात्मक जत्था भित्रिएको र तिनले यो हदसम्म गतिविधि गर्लान् भनी अनुमान गर्न नसकिएको उनीहरुको ब्रिफिङ थियो ।

उनीहरूले रास्वपा, राजावादी र दुर्गा प्रसाईंका समूहको घूसपैठ हुँदा स्थितिले हिंसात्मक रुप लिएको जानकारी गृहमन्त्रीलाई दिएका छन् ।

प्रहरी र सशस्त्रले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै संसद भवनको सुरक्षा गरेको, तर त्यसक्रममा बल प्रयोग गर्दा स्थिति अप्रिय भएको भनेका छन् ।

सुरक्षा प्रमुखहरुसँग ब्रिफिङ लिएलगत्तै मन्त्री लेखक राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । अहिले पनि उनी त्यहीँ छन् । त्यहाँ परिषद्को बैठक सकिनासाथ साँझ ६ बजेदेखि मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

Read More

काठमाडौँमा १७ र इटहरीमा २ गरी जेनजी आन्दोलनमा १९ जनाको मृत्यु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ ।  

अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपतालमा २ जना र शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यस्तै इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म काठमाडौँमा आजको प्रदर्शनमा सयौं घाइते भएका छन् । हाल सिभिल अस्पतालमा सय भन्दा बढीको उपचार भइरहेको छ भने, ट्रमा सेन्टरमा ५० जना, केएमसी कलेजमा ३२ जना, टिचिङ अस्पतालमा १८ जनाको उपचार भईरहेको छ ।  

त्यस्तै सिभिल अस्पतालमा घाइतेको अवस्था अस्तव्यस्त रहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ । 

प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् । 

थप विवरण आउनेक्रममा रहेको छ ।

Read More

जेनजीको आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले जेनजीको आन्दोलनमा घाइते भएका सबैको नि: शुल्क उपचारको व्यवस्था मिलाउन सबै संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

स्वास्थ्य अम्त्न्रालयले मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा घाइते भएका सबैको सबै किसिमका उपचारको व्यवस्था गरि उपचार नि: शुल्क व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रलायले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउन र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक जुट भएर उपचारमा खटिन आग्रह गरेको छ ।

Read More

जेनजीले जलाए इटहरी उपमहानगरको कार्यालय भवन

विराटनगर । जेनजी प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । 

सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगजनी गरेका हुन् ।

आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् । प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा दिनको साढे ३ बजेदेखि अर्को सुचना नभएसम्मका लागि कर्फ्यू आदेश पनि जारी गरेको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले चालाएको गोली लागेर इटहरीमा एक जनाको मृत्यु समेत भएको छ ।

Read More

सरकारको वैधता समाप्त भयो भन्दै जेनजी आन्दोलनले गर्‍यो वैकल्पिक सरकार गठनको माग

काठमाडौँ । सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ।

आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले निष्कर्ष निकालेको छ।

अब सरकारको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। जेन–जी पुस्ताका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,’ यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ । लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा, अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको छ। त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन स्पष्ट आग्रह गर्दछौँ ।’

यस्तै, सुरक्षा निकायहरूलाई पनि तत्काल दमनकारी गतिविधिबाट पछि हट्न र शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउन र जनताको अधिकारलाई सम्मान गर्न आग्रह गरिएको छ।

Read More

सेनाको नियन्त्रणमा संसद् भवन वरिपरिको सडक

काठमाडौँ । नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।

संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

आज दिउँसो जेनजी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर अहिले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो।

Read More

जेनजी आन्दोलन: इटहरीमा गोली लागेर एकको मृत्यु

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते युवाको घटनास्थलमै मृत्यु भएको हो । 

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Read More

ट्रमा सेन्टरमा फेरि एकको मृत्यु, आन्दोलनमा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

घाइतेहरूको घाइतेहरूको संख्या १२३ भन्दा बढी रहेको भानियता पनि यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

Read More