२०८३ बैशाख १३

दुःखमा डुबेका गभर्नर, संवादमा जुटेका बैंकर्स: बैंकिङ संकट टार्न राष्ट्र बैंक सक्रिय, बैंकर्स र व्यवसायीसँग छुट्टाछुट्टै छलफल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालनबारे बैंकर तथा व्यवसायीसँग परामर्श सुरु गरेको छ ।

शुक्रबार बैंकले नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन तथा नेपाल वित्तीय संस्था सङ्घ एवं निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गरेको हो ।

बैंकर्ससँगको छलफलमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहज रूपमा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

त्यस्तै, व्यवसायीसँगको छलफलमा निजी क्षेत्रबाट हुने ऋणको माग तथा राष्ट्र बैंकले गर्न सकिने सहजीकरणबारे समेत छलफल गरिएको थियो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शबाट कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघबाट वीरेन्द्रराज पाण्डे लगायत सहभागी थिए ।

बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ लगायत सहभागी थिए ।

छलफलमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनलाई सङ्कटको लेला जनताको बैंकिङ कारोबार र भुक्तानीलाई सहज बनाउन बैंकर्सहरुसँग आग्रह गरेका थिए ।

साथै, अहिलेको विषम परिस्थितिमा पीडित उद्योगी व्यवसायीको वित्तीय व्यवस्थापनमा सहयोगी बन्न समेत आग्रह गरेको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए ।

व्यवसायीसँगको छलफलमा व्यवसायीले भोग्दै आएका समस्या तथा वर्तमान परिस्थितिमा पर्न सक्ने असर एवं राष्ट्र बैंकले गर्नसक्ने सहजीकरणको सम्बन्धमा छलफल भएको परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए ।

जेनजी आन्दोलनका कारण गभर्नर पौडेलकै दुई वटा घर जलाइएको छ । यो परिस्थितिबिच समेत उनले सरोकारवालालाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा बैंकर तथा व्यवसायीले पौडेलप्रति सहानुभूति समेत व्यक्त गरेका थिए ।

Read More

अहिलेसम्म २६८ नाल हतियार बरामद

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा खोसिएका हतियारहरु फिर्ता गर्नेक्रम जारी रहेको छ ।

यसैक्रममा हालसम्म देशका विभिन्न स्थानबाट २६८ नाल हतियारहरू बरामद भएको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस्तै सिन्धुलीको मरिन-४ स्थायी घर भएका एक व्यक्तिले ९ एमएम चाईनिज पेस्तोल नाल- १, काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।

Read More

कृषिजन्य उत्पादनको ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह

काठमाडौं ।  कृषि विभागले तरकारी फलफूल बीउ बेर्ना लगायतका कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानीमा सहयोग गरिदिन आग्रह गरेको छ ।

विभागले ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक र कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन आग्रह गरेको हो ।

विभागले भनेको छ- ‘अति सम्वेदनशील तथा नाशवान कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्यमा पुर्‍याउनुपर्छ । अन्यथा नष्ट हुने र यसले मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रभाव पार्नसक्ने देखिन्छ । सर्वसाधारण किसानको हितलाई मध्यनजर गर्दै कृषिवस्तुहरु निर्वाध रुपमा ओसारपसार तथा ढुवानीका लागि आवश्यक सहयोग तथा सहजीकरणका लागि अनुरोध छ ।’

Read More

आउदो साता पनि सेयर कारोबार नहुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दोस्रो बजार कारोबार थप एक साता बन्द गर्ने जानकारी दिएको छ । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो असोज २ गते आइतबारसम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेप्सेले एक साता सेयर कारोबार नगराउने निर्णय गरेको बताएको छ । यस अघि जेनजी आन्दोलनका कारण भदौ २४, २५ र २६ गतेपनि शेयर कारोबार बन्द भएको थियो ।

अब सेयर कारोबार आगामी असोज ५ गतेदेखि मात्र हुने भएको छ ।  

Read More

एक्सनमा आयो नेपाल प्रहरी, तोडफोड र लुटपाटका घटनाका विवरण भए पठाएर सहयोग गर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरी जेनजी आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाएर सहयोग अग्रण आग्रह गरेको छ ।

नेपाल प्रहरीले घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू इमेल ठेगाना [email protected] मा पठाई सहयोग गर्न आग्रह गरेको छ ।  साथै प्रहरीले गोपनियता कायम राख्ने समेत बताएको छ । 

Read More

जेनजीलाई समर्थन गर्दा धम्की आयो: दीपक राज गिरी

काठमाडौँ । कलाकार दीपक राज गिरीले जेनजीलाई समर्थन गर्दा लगातार धम्की आएको बताएका छन् ।

सामाजिक सञ्जालमा यसबारेमा जानकारी दिदै गिरीले केहि मानिसहरुले म्यासेज पठाएर र केहिले फोनमै धम्क्याइरहेको जानकारी दिएका हुन् ।

गिरीले हरेक खाले परिवर्तनको आन्दोलनमा सकारात्मक भूमिका निभाएको बताउदै अहिले पनि केहि लोभले यो आन्दोलनलाई समर्थन गरेको नभई भाइ बहिनीहरूको शुसासन र भ्रष्टाचारको मुद्दालाई समर्थन गरेको बताएका छन् ।

उनले भनेका छन्-  
मलाइ आएको धम्किको कुरा… अस्तिको दिन बाट केहि मानिसहरूले मलाइ पनि धम्काउन थालेका छन् । केहिले इनबक्समा त केहिले त कल नै गरेर । उनिहरूको भनाइ थियो जेनजीलाई उकास्ने तॅ ?  कलाकार भएर जेनजी तिर लाग्ने ? एक एक हिसाब राखिन्छ, ती कलहरू मध्य केहि त रेकर्ड पनि गरेर राखेको छू । आन्दोलनको पहिलो दिन भ्रष्टाचारबिरूद्दको आन्दोलनलाई धैरै कलाकार लगायत मैले पनि शुभकामना दिदै भने यो शान्तिपूर्ण होस !!

दोस्रो दिन जब स्कूल ,कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो त्यो देखे पछि को नै चूप लागेर बस्न सक्यो होला र ? भोली पल्ट म मात्रै होइन मेरा लगभग सबै कलाकार साथिहरूले स्ट्याटस लेख्यौ , प्रमज्यूलाई थप भ्वाइलेन्स रोक्नका लागि राजीनामा दिन अनुरोध पनि गर्यौ । कति जना त सडकमा नै गयौ, लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पिडाबोध गरेर सडकमा आइसकेका थिए , राजिनामा आउन ढिलो भैरहेको थियो । त्यसपछि हिसा झन भडकियो, यसको फाइदा अनेक तत्वले लिन थाले, घुसपैठ भयो, लुटपाट गर्ने, आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो । अनौठौ भिडमा सरकार बिरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो । त्यसको प्रमाण त अहिले सामाजिक संजालहरूमा देखिन थालि पनि सकेको छ । 

राजीनामा आएपछि पनि नरोकिएको त्यो बबंडरबिरूद्द हामिले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौ । विध्वंस रोक्न कलाकारहरू र केहि राजनीतिकर्मीहरू मिलेर लगातार अनुरोध गरिरह्यौ । थुप्रै सकारात्मक पोष्टहरू गर्यौ तर त्यो रोकिएन, जेनजी को त्यो आन्दोलनले अर्कै मोड लियो, स्वार्थ समूह छिरे पछि जे भयो त्यो हामि सबैले देख्यौ, जेनजी आन्दोलन सफल त भयो तर त्यो बिध्वंसले कोहि खुशि भएनन, मन भारी भैरह्यो । सायद कोहि नेपाली निदाएनन होला त्यो रात…यसमा सबै पक्षको केहि न केहि गल्ति भएको छ, तर सरकार पक्षिय भनेका केहि मानिसहरू यस्को आडमा आफ्नो गल्ति महसूस गर्न छोडेर एक एक लाइ छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे,  मलाई आएको कलको र म्यासेजको कुरा त गरिहाले, 

जहाँसम्म मेरो कुरा छ , २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरूसंगै आन्दोलनमा सडकमा नै थिए म , ६२/६३ मा पनि  आफ्नो पेशा नै धरापमा राखेर तपाइहरूकै माग लाइ समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो । हरेक खाले परिबर्तनको सबालमा तपाइहरू संगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हूं । अहिले पनि केहि लोभले यो आन्दोलन लाइ  समर्थन गरेको होइन , भाइ बहिनीहरू ले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो, जुन स्वभाबिकै थियो ,सरकारलाइ दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने मबाट पनि अपराध भएकै छ । 

अस्तिको आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित भएनन कति निर्दोष मान्छेहरू पनि भिक्टिम हुन पुगेको देखेको छू , यदि तपाइहरूले धम्कि दिए जस्तै भयो भने म पनि त्यो त्यहि सूचिमा थपिनेछू भनेर चित्त बुझाउनु बाहक मसंग अर्को बिकल्प छैन ! होइन भने यहाँबाट सबैले आ आफ्नो गल्ति महसूस गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भइ  पुन : मूलूक निर्माणको बारेमा सोच्नु पर्ने हो कि ?  जय आमा नेपाल !

Read More

जेनजीको भ्रष्टाचार नियन्त्रण गर्ने माग सबै नेपालीको हो, विध्वंशको कारण खोजौं: पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजीले उठाएका भ्रष्टाचार नियन्त्रण गर्ने माग सबै नेपालीको भएको बताएका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यादवले जेनजीले उठाएका माग जायज भएपनि भदौ २३ र २४ गते मुलुकमा जुन तहको विनाश र विध्वंश मच्चाइयो, त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु अति जरुरी रहेको बताएका छन् ।  

पूर्वराष्ट्रपति यादवले २०६२/०६३ को जनआन्दोलन, नेपालको संविधान २०७२ द्वारा सिर्जित र स्थापित शासन-पद्धतिलाई धुलिसात् पार्ने प्रयास भएको तथ्यलाई पनि सबैले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।  

आन्दोलनपछि सिर्जित राजनीतिक-प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोऱ्याउन जिम्मेवार निकाय र पदाधिकारीले थप विलम्ब गर्न नहुने सुझाव पूर्वराष्ट्रपतिको रहेको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रेस वक्तव्य: 
१- २०८२ साल भदौ २३ गते सोमबारका दिन ‘जेन- जी’ ब्यानरमा युवा तथा किशोर- किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको छ। व्यक्तिगत रूपमा यस घटनाबाट म अत्यन्त दुःखित र मर्माहत छु । सर्वप्रथम, म उक्त जघन्य हिंसा र आगजनीमा परी अकालमा ज्यान गुमाउनु भएका भाइ-बहिनीहरूको आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, आफ्ना होनहार सन्तान, साथी र सहपाठीलाई असमयमा गुमाउनुपर्दा शोकको पीडामा रहनुभएका दिवंगत युवाका परिवार तथा स्वजनहरूप्रति समवेदना व्यक्त गर्दै उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु ।

२- युवाहरूको सो आन्दोलन – भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन-व्यवस्था अर्थात् ‘सुशासन’ जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको थियो । तिनले उठाएको माग हामी जो-कोहीका पनि अभीष्ट हुन् । तर, आन्दोलनका नाममा त्यस दिन र भोलिपल्ट समेत मुलुकमा जुन तहको विनाश र विध्वंश मच्चाइयो- त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अतिजरुरी छ । देशको ऐतिहासिक धरोहर समेत रहेको सिंहदरवार, शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीका निवास एवं मन्त्रालयहरू, सर्वोच्च अदालतदेखि जिल्ला आदालतसम्मका न्यायिक संरचना, प्रदेशसभा र मुख्यमन्त्रीका कार्यालयदेखि गाउँ र नगरपालिका तहका संरचनाहरूमा गरिएको नियोजित जस्तो देखिने भदौ २३-२४ गतेको तोडफोड र आगजनीका कृत्यहरूको यथार्थ उद्देश्य र त्यसका कारकहरू ठम्याउनु – मुलुक र नेपाली समाजको अमनचयन राष्ट्रको एकता, अक्षुणता एवं सुरक्षित भविष्यका लागि समेत अपरिहार्य छ । विशेषगरी २०६२/०६३ को जनआन्दोलन अनि नेपालको संविधान २०७२ द्वारा सिर्जित र स्थापित शासन-पद्धतिलाई धुलिसात् पार्ने प्रयास भएको तथ्यतर्फ पनि हामी सबैको ध्यान जानु जरूरी छ ।

३- यस आन्दोलनका क्रममा लाखौं नेपालीलाई रोजगारी दिने अनि राज्यलाई अबौं रुपैयाँ राजस्व तिरेर मुलुक र समाजको आर्थिक समृद्धिमा ठूलो योगदान गरिरहेका मूल्यवान् औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानहरूमा भएको तोडफोड र आगजनीले देशको अर्थतन्त्रमा दूरगामी धक्का पुऱ्याएको छ । यस्तो घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति यसलाई गम्भीरतापूर्वक लिन म सबैलाई अपील गर्दछु ।

४- आन्दोलनपश्चात् सिर्जित राजनीतिक – प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोऱ्याउन जिम्मेवार निकाय र पदाधिकारीहरूले अब थप विलम्ब गर्ने छैनन् भन्ने मेरो विश्वास छ । 1. यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र निरपराध उपाय हो । झण्डै सात दशकको सपना र सयौं शहीदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै ‘जेन-जी’ पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।

५- आन्दोलनका क्रममा घाइते भई घर तथा विभिन्न अस्पतालहरूमा उपचार गराइरहनुभएका सबैको स्वास्थ्य लाभको कामना गर्दछु ।

Read More

जेनजी आन्दोलनका मृतकको शव व्यवस्थापन, घाइतेको उपचार गर्न काठमाडौँ महानगरको विशेष टिम परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा अकालमै निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरेको जनाएको छ ।

शुक्रबार एक सुचना प्रकाशित गर्दै महानगरले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको जानकारी गराएको छ ।

साथै महानगरले आवश्यक सहयोगका लागि जगदीश अर्याल- ९८५४०४५७०२, विज्ञान घिमिरे – ९८५११३३९११ र इश्वर वाग्ले – ९८४१२९७८६१ लाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Read More

रवि बसेको नक्खु कारागारको फरार कैदीहरुलाई आत्मसमर्पण गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने बसिरहेको नक्खु कारागारले फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । 

बिहीबार विज्ञप्ति जारी गर्दै कारागार प्रशासनले फरार भएका सबै थुनुवा र कैदीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । 

फरार भइरहे कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने पनि कारागार प्रशासनले चेतावनी दिएको छ ।  

यस्तै विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क गरी आत्मसमर्पण गर्न पनि आग्रह गरिएको छ। 

यसै कारागारबाट सहकारीको बचत रकम हिनामिना प्रकरणमा अदालतको आदेशअनुसार रास्वपा सभापति लामिछाने पुर्पक्षका लागि थुनामा थिए । उनी भदौ २४ गते ठुलो संख्यामा समर्थकको भिड बोलाएर सुरक्षा चुनौती देखाउँदै कारागारबाट निस्किएका थिए ।  लामिछानेलाई छाडेपछि कारागारका बाँकी कैदी बन्दी पनि निस्किएका थिए । त्यसपछि देशभरका कारागारमा एक किसिमको विद्रोह नै भएको थियो । यसक्रममा देशभरका कारागारबाट १६ हजारभन्दा बढी कैदी बन्दी निस्किएको आँकडा रहेको छ ।

Read More

अपडेट- जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

काठमाडौँ । जेनजीको आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा तीन जना प्रहरी, एक भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका छन् । 

मृतक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ भने महाराजगञ्जमा रहेकाहरुको पोर्टमार्टम शुक्रबारबाट सुरु भएको छ । काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

Read More