२०८३ बैशाख १३

जनमतले मधेश प्रदेशका मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री फिर्ता बोलाएको छ । 

शनिबार संसदीय दलको नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरु मधेश सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन् । 

उनले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको र मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जनाएका छन् । 

गएको सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालबाट राजीनामा दिएपनि उनले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा भने दिएका थिएनन् ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा रहेका  थिए ।

Read More

जेनजी माग देशको हितमा छन्, छिटो भन्दा छिटो सम्बोधन हुनुपर्छ: कांग्रेस उपसभापति गुरुङ

काठमाडौं । भ्रष्टाचार बिरोधि अभियान्ताका रूपमा परिचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जेनजीले उठाएका माग पुरा गर्न तत्काल प्रक्रिया थाल्नु पर्ने बताएका छन् ।

सामाजिक संजाल मार्फत उपसभापति गुरुङले आफुले पटकपटक २०४६ साल यता लाभको पदमा पुगेका नेता कर्मचारी सबै सम्पत्ति छानबिन गरि आयस्रोत नदेखिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग उठाए पनी कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले भने: “आवाज मात्रै उठाएको हैन, २०८० चैत २३ गते संसदमा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता समेत गरेको थिए, तर सुनुवाइ हुन सकेन, सुनुवाइ हुन सकेको भए आज सायद यस्तो अवस्था आउने थिएन ।”

केही नेता कर्मचारीहरु कमाउ धन्दामा लाग्दा देशले आज यो दुर्गति भोग्नु परेको उनको भनाइ छ । जेनजीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारको छानबिन लगायतका माग सम्बोधन गर्न तत्काल आयोग गठन गर्न पनि उनले सुझाव दिनुएका छन् ।

Read More

नोट्टीङघममाथि आर्सनलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ  । 

शनिबार सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो  । 

आर्सनलको जितमा मार्टिन जुबिमेंडीले २ गोल गरेका थिए भने एक गोल भिक्टर ग्योकेरेसले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ४ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको भने यो दोस्रो हार हो । नोट्टीङघमको ४ खेलमा ४ अंक रहेको छ र हाल १२औं स्थानमा रहेको छ ।

Read More

संवैधानिक दायरा बाहिरबाट निकास दिनु जनताको भावनाविपरीत हो: नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति रामचन्द्र पौडेलले गैरसंबैधानिक काम गरेको भन्दै इतिहासले दोषी साबित गर्ने बताएका छन् ।

नेमकिपाले पार्टी सचिवालय बैठकपछि विज्ञप्ति जारी गर्दै दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत भएको निष्कर्ष निकालेको छ । साथै नेमकिपाले अहिलेको सङ्कटको लागि शासक दलहरू पनि इतिहासमा दोषी साबित हुने उल्लेख गरेको छ ।

नेमकिपाको विज्ञप्ति: 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा मिति २०८२ साल भदौ २८ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बस्यो । बैठकले देशको वर्तमान राजनीतिक अवस्थाबारे देहायबमोजिम वक्तव्य दिने निर्णय गयो :-

बहुदलीय व्यवस्था पुनःस्थापनापछिको ३५ वर्षयता संयुक्त वा एकल सरकारमा गएका शासक दलहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको र भ्रष्टाचार, पक्षपात, भागवन्डालगायत अनियमितता गरेको हुँदा भदौ २३ र २४ गतेको जन-अ न – असन्तुष्टि छताछुल्ल भएको हो । त्यसपछि देशमा थप राजनीतिक जटिलता उत्पन्न भयो ।

देश र जनताका समस्या समाधानका लागि राष्ट्रपतिबाट समयमा संविधानको संरक्षण तथा पालन भएन र राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार तत्काल प्रयोग गरिएन । समयमै शान्ति सुरक्षा कायम नहुँदा अकल्पनीय जनधनको क्षति भयो । अहिलेको गैरसंवैधानिक कदमको लागि राष्ट्रपति स्वयंले जिम्मेवारी लिनुपर्नेछ । इतिहासमा राष्ट्रपति दोषी साबित हुनेछ ।

शासक दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत हो । अहिलेको सङ्कटको लागि शासक दलहरू पनि इतिहासमा दोषी साबित हुनेछन् ।

प्रतिनिधिसभाका सभामुखले संसद्मा उठेका विषय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिने वा जवाफदेही बनाउनेजस्ता अत्यावश्यक काम गरेनन् । भदौ २३ र २४ गतेको जटिल अवस्थामा समेत सभामुखबाट सर्वदलीय बैठकको आयोजना भएन । यसकारण इतिहासमा सभामुखसमेत यो सङ्कटको निम्ति दोषी साबित हुनेछन् ।

नेपाल मजदुर किसान पार्टीले ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण तथा उनीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था, नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, नेपालीलाई योग्यताअनुसार देशभित्र रोजगारी, शिक्षा-स्वास्थ्य उपचार निःशुल्क, व्यक्तित्व विकासमा समान अवसरलगायत बन्दोबस्त हुनुपर्ने विषय उठाउँदै आएको हो । यी न्यायोचित विषयमा नेमकिपा पुन: जोड दिन्छ ।

वर्तमान जटिल राजनीतिक परिस्थितिमा वैदेशिक हस्तक्षेप बढिरहेको यथार्थप्रति सचेत हुँदै अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादविरोधी सङ्घर्ष चालु राख्न सम्पूर्ण देशभक्त नेपाली जनतामा नेमकिपा आह्वान गर्दछ ।

Read More

चुनाव सफल बनाउन सहयोग गर्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् ।

शनिबार वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको बताउदै फागुन २१ गते हुने चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका हुन् ।  उनले संविधान बचेको, संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको बताउदै ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएको बताएका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्- ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’

शुक्रबार रति राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले गरेको प्रतिनिधिसभा बिघटनको सिफारिश राष्ट्रपति पौडेलले सदर गरेका थिए र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेका थिए ।

कार्कीको नियुक्तिलाई सहज रुपमा लिएपनि प्रतिनिधि बिघटन गर्ने निर्णयप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले असहमति जनाएका छन् ।

Read More

अन्तरिम सरकारले दिइएको जिम्मेवारी पुरा नगरेमा प्रतिरोध गर्छौं: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम सरकारले दिइएको जिम्मेवारी पुरा नगरेमा प्रतिरोध गर्ने जनाएको छ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा भएको परिवर्तनमा संबिधान पालनाको कोणबाट प्रश्न उठेको भन्दै घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुने र समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहने बताएको छ । 

रास्वपाले फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको उल्लेख गरेको छ ।    

रास्वपाको विज्ञप्ति: 
कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाउनुभएको छ। भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षशील रहेको स्मरण गराउँदै, भदाै २३ मा नवयुवा (Gen-Z) पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको हो । तथापि, संविधान पालनाको कोणबाट प्रश्न उठेको छ।      

सबै पक्षलाई जोड्न भदाै २६ गते रास्वपाले जारी गरेको प्रस्ताव थियो: “राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।”

फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।

Read More

काठमाडौँका विद्यालय सोमबारदेखि खुल्ने, विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर अध्यापन गराउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगर भित्रका विद्यालय सोमबारदेखि खुल्ने भएका छन् । महानगरले एक सुचना प्रकाशित गर्दै शिक्षकहरुलाई आइतबार विधालयमा उपस्थित हुन र सोमबारदेखि अध्ययन सुचारु गर्ने जानकारी दिएको हो ।

महानगरले अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई सोमबार देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँगसँगै अध्ययन अध्यापन गर्ने गराउन निर्देशन दिएको हो ।

साथै महानगरले सबै शिक्षक तथा कर्मचारीहरु आईतवारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरु गर्ने, विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा काठमाडौँ महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न आग्रह गरेको छ । 

साथै महानगरले विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल क्लासमार्फत सहजिकरण गर्न समेत आग्रह गरेको छ ।

Read More

संसद विघटनप्रति एमालेको असहमति

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको छ ।

शनिबार महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन्  ।

एमालेले विज्ञप्तिमा प्रतिनिधि सभा विघटनपछि संवैधानिक रिक्तता र राजनीतिक जटिलता उत्पन्न हुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ- ‘विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले गरिसकेको छ ।’

त्यस्तै भदौ २३ र २४ का घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने तथा भ्रष्टाचार अनुसन्धानका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्तावमा भने पार्टी सहमत रहेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

प्रधानमन्त्री कार्कीलाई दलाई लामाले पठाए बधाई सन्देश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई तिब्बतका आध्यात्मिक नेता दलाई लामाले बधाइ ज्ञापन गरेका छन् । 

उनले प्रधानमन्त्री कार्कीलाई बधाइ दिएको उनको वेभसाइटमा उल्लेख छ । जसमा दलाई लामाले एक पत्र लेखेर प्रधानमन्त्री कार्कीलाई बधाई दिएको उल्लेख छ ।

बधाई पत्रमा भनिएको छ- ‘तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताले ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको आनन्द उठाएका छन् । सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेपछि तिब्बती शरणार्थीहरूको पुनर्स्थापनाको लागि सुविधा प्रदान गरेकोमा म नेपाल सरकार र जनताप्रति धेरै आभारी छु ।’

छिमेकी देश चीनले अहिलेसम्म औपचारिक बधाई सन्देश नपठाएको अवस्थामा दलाई लामाले पहिलो पटक नेपालको प्रधानमन्त्रीलाई बधाई सन्देश दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Read More

बुटवल भाटभटेनीमा लुटपाटमा संलग्न शिक्षक बर्खास्त

काठमाडौँ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय जेनजी आन्दोलनका क्रममा बुटवलस्थित भाटभटेनीमा लुटपाटमा संलग्न रहेका एक शिक्षकलाई बर्खास्त गरेको छ ।

विद्यालयले भदौ २४ गते विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले  प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन् ।

विद्यालयले भनेको छ- मिति २०८२ साल भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण सहिंता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ ।

Read More