२०८३ बैशाख १३

संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् ।

टुँडिखेलमा आयोजित संबिधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले  संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि भएको बताएकी छन् ।

उनले भनिन्- वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो । संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि हो । १० बर्षमा देशमा के के उपलब्धि भए, के के कमजोरी भए भन्ने कुराको समिक्षा हुनुपर्दछ । सरकारबाट भएका कमीकमजोरीका कारण जेनजी आन्दोलनको जन्म भएको भन्दै भ्रष्टाचार, सुशासन, विकास र न्यायमा चुकेका कारण युवाहरु सडकमा आएका हुन् ।’

प्रधानमन्त्री कार्कीले तोकिएको जिम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट गरेकी छन् ।

उनले जेनजी आन्दोलनले शासकीय सुधारको माग गरेको बताइन् । उनले आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माण गर्ने, निजी क्षेत्रको हौसला बढाउनु पर्ने र तोकिएको समयमा निर्वाचन गर्नुपर्ने जस्ता काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

उनले सरकार आफ्ना जिम्मेवारीप्रति कटिबद्ध रहेको भन्दै आम जनतापनि आफ्नो कर्तव्यमा प्रतिबद्ध हुनेमा आफु विश्वस्त रहेको बताएकी छन् । 

Read More

जेनजी आन्दोलन: बीमा कम्पनीहरूमा २१ अर्बमाथिको क्षतिदाबी, कुनले कति बेहोर्ने ?

काठमाडौँ । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा अहिलेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ। भदौ महिनाको ३१ गतेसम्म १८ वटा इन्स्योरेन्स कम्पनीमा यति ठूलो दाबी दर्ता भएको हो।

द ओरियण्टल इन्सुरेन्समा सबैभन्दा बढी दाबी परेको छ। कम्पनीमा ४० वटा दाबी दर्ता भई करिब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको दाबी भएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, सबैभन्दा कम दाबी ट्रष्ट माइक्रो इन्सुरेन्स मा परेको छ। सो कम्पनीमा जम्मा ४२ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। बीमा कम्पनीहरूले दैनिक रूपमा बीमा प्राधिकरणमा दाबीहरूको विवरण बुझाइरहेका छन्। प्राधिकरणले प्राप्त दाबीको विवरण प्रत्येक साताको बुधबार सार्वजनिक गर्ने निर्णय गरेको छ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिदेखि व्यवसायिक भवन, होटल र निजी घरमा समेत तोडफोड र आगजनी भएका थिए। त्यसैको प्रभाव स्वरूप बीमा दाबीको ठूलो चाप देखिएको हो।

Read More

म्याक्रोनकी श्रीमती ब्रिगिटले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमती ब्रिगिट म्याक्रोनले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने भएकी छन् । उनले ट्रम्प समर्थक कार्यकर्ता क्यान्डेस ओवेन्स विरुद्ध अमेरिकी अदालतमा मानहानि मुद्दा दायर गरेकी छिन् ।

ओवेन्सले बारम्बार ब्रिगिट महिला नभएको दाबी गर्दै आएकी छन् । यो आरोपलाई गलत साबित गर्न ब्रिगिटले अदालतमा फोटोग्राफिक र वैज्ञानिक प्रमाण प्रस्तुत गर्ने तयारी गरेकी छन् ।

म्याक्रोनका वकिल टम क्लेयरले कुनै पनि मानिस जस्तै, देशको राष्ट्रपतिले पनि परिवारमाथि आक्रमण गर्दा विचलित हुन्छ। क्लेयरले विशेषज्ञहरूले अदालतमा गवाही दिनेछन् र वैज्ञानिक प्रमाण प्रस्तुत गरिने बताइएको छ ।

ब्रिगिटको गर्भावस्था र बच्चा जन्माउने तस्बिरहरू अदालतमा प्रस्तुत गरिने बताइएको छ ।

सामाजिक सञ्जालमा क्यान्डेस ओवेन्सका लाखौं फलोअरहरू छन् । उनले बारम्बार ब्रिगिट पुरुष भएको दाबी गर्दै आएकी छन् । मार्च २०२४ मा, उनले यो आरोपको विरोध गर्न आफ्नो सम्पूर्ण जीवन जोखिममा पार्न तयार रहेको पनि बताएकी थिइन् ।

ब्रिजिट म्याक्रोन पुरुष भएको हल्ला धेरै समयदेखि फैलिएको थियो, तर यो विषयले पहिलो पटक २०२१ मा गति लिएको थियो । अमान्डाइन रोय नामकी एक महिला युट्युबरले पत्रकार नताशा रेलाई चार घण्टाको अन्तर्वार्ता दिइन्। त्यसमा नताशाले ब्रिजिट म्याक्रोन पुरुष भएको दाबी गरिन् । नताशा रेले यो जानकारीको लागि तीन वर्ष अनुसन्धान गरेको पनि दाबी गरेकी थिइन् ।

Read More

शहिदको रगत र जनताको सपना लत्याएर संविधान भेन्टिलेटरमा पुर्‍याइयो: राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल अहिले गहिरो संवैधानिक, आर्थिक र सांस्कृतिक संकटको दोबाटोमा उभिएको टिप्पणी गरेका छन् ।

उनले नवीन नेपाल निर्माणको निम्ति निर्णायक कदम चाल्न सार्वजनिक अपिल गर्दै आम जनसमूदाय र साहसी जेन-जी पुस्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

जेनी-जी पुस्ताले बगाएको रगत र बलिदान केवल आन्दोलनको इतिहास नभएर यो नेयाँ नेपालको पीडा भएको महतोको भनाई छ । दर्जनौं शहादत, हजारौं घाइते र असीम धनजनको क्षतिको मूल्यमा शुरु भएको यो क्रान्ति नेपाललाई नयाँ जीवन दिने ऐतिहासिक अवसर भएको पनि उनको दाबी छ ।

उनले आफूहरुले दशकौंदेखि यो संविधान अपूर्ण छ भनेको र यसलाई पूर्ण बनाउन भनेको स्मरण गराएका छन् । संविधानलाई सबै नेपालीको अधिकार र स्वाभिमानलाई रक्षा गर्ने बनाउँ भन्दा आफूहरुलाई उपहास गरिएको पनि उनले स्मरण गराएका छन् । उनले अहिले यो १० वर्षमा संविधान स्वयं जीवन रक्षाको लागि भेन्टिलेटरमा पुगेको टिप्पणी गरे ।

Read More

संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा गर्न सकिन्छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् ।

उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको उल्लेख गरेका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजनसहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोकाढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ।

सभामसख घिमिरेदे विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत नै पुनर्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

Read More

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् ।

संबिधान दिवसको अवसरमा सामाजिक संजालमार्फत ओलीले  जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको र सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् ।

ओलीले प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको, देशको निशानी मेटाउन खोजिएको उल्लेख गर्दै जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको बताएका छन् ।

ओलीले भनेका छन्-  
दिदीबहिनी तथा दाजुभाइहरू ! 
आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन । 

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो। 

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु। 

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ।  जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

 यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ । 

तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ । 

हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको  झन् झन् गाढा सम्झना गराउने छ। 

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ – सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ। 

मेरो सबैमा अपील छ – संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं ।

Read More

संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सधै क्रियाशील रहन्छ: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सैबलाई आग्रह गरेका छन्।

अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गरेका छन् । 

उनले भनेका छन्- ‘यस अवसरमा देशको परिवर्तन र संविधानसभाबाट अग्रगामी संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते, अपाङ्गता भएका व्यक्तिप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

Read More

साइप्रसलाई टर्कीको चेतावनी

काठमाडौँ । इजरायलबाट हवाई रक्षा प्रणाली खरिद गर्ने साइप्रसको कदमले टापुको शान्ति र स्थिरतालाई खतरामा पार्न सक्ने टर्कीले चेतावनी दिएको छ । टर्कीका रक्षा मन्त्रालयका अधिकारीहरूले यो कदमले टापुको नाजुक सन्तुलनलाई बिगार्न सक्ने र ‘खतरनाक परिणामहरू’ निम्त्याउन सक्ने बताएका छन् । 

साइप्रसलाई हालै इजरायली-निर्मित बाराक एमएक्स एकीकृत वायु रक्षा प्रणाली आपूर्ति गरिएको थियो । यो उन्नत प्रणालीमा १५० किलोमिटरको दूरीबाट शत्रुको मिसाइल, ड्रोन र विमानलाई एकैसाथ रोक्न सक्ने क्षमता छ । यसले साइप्रसको रक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ ।

अहिलेसम्म, साइप्रसमा प्रायः पुरानो सोभियत हतियारहरू थिए, जस्तै बुक एम १-२ मिसाइल प्रणाली रहेको छ । यद्यपि, यो नयाँ प्रणालीको आगमनले यसको रक्षा प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ । साइप्रसका रक्षामन्त्री भासिलिस पाल्मालासले गत वर्ष एक अन्तर्वार्तामा साइप्रसको भौगोलिक स्थान धेरै संवेदनशील रहेको र यो क्षेत्र युद्धग्रस्त मध्य पूर्वको नजिक अवस्थित रहेकाले देशको रक्षा क्षमता बढाउनु महत्त्वपूर्ण रहेको बताएका थिए ।

साइप्रस १९७४ देखि विभाजित छ। ग्रीक-समर्थित विद्रोह पछि, टर्कीले साइप्रसको उत्तरी भाग कब्जा गर्यो । ग्रीक साइप्रसहरू टापुको दक्षिणी भागमा बस्छन् । टर्कीको उत्तरी भागमा प्रभाव छ, जहाँ लगभग ३५ हजार टर्की सेना तैनाथ छन् । १९८३ मा, टर्की-समर्थित उत्तरी साइप्रसले आफूलाई स्वतन्त्र घोषणा गर्‍यो, तर टर्कीले मात्र यसलाई मान्यता दिन्छ ।

साइप्रसको वायु रक्षा प्रणालीलाई लिएर तनाव बढेको यो पहिलो पटक होइन । १९९७ मा, साइप्रसले रूसी एस-३०० मिसाइल प्रणाली तैनाथ गर्ने योजना बनायो । टर्कीले त्यतिबेला सैन्य कारबाहीको धम्की दियो । पछि, सम्झौताको एक भागको रूपमा, साइप्रसले ग्रीसलाई मिसाइल प्रणाली हस्तान्तरण गर्‍यो, र तनाव कम भयो ।

टर्कीको रक्षा मन्त्रालयले टर्की साइप्रसवासीहरूको सुरक्षाको लागि सबै सम्भावित उपायहरू अपनाउने बताएको छ । यद्यपि, टर्कीले के उपायहरू लिन सक्छ भनेर निर्दिष्ट गरेको छैन । टर्कीको साइप्रसमा इजरायली वायु रक्षा प्रणालीको तैनाथीले यसको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा निम्त्याउँछ र यस भूमध्यसागरीय क्षेत्रमा सैन्य द्वन्द्वको जोखिम बढाउन सक्छ भन्ने विश्वास छ ।

Read More

देउवा निवासमा पैसाको सुरुङ भेटिएको समाचारको सचिवालयबाट खण्डन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

देउवाका निजी सचिव भानु देउवाले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते विभिन्न समुहले डकैतिको शैलीमा सभापति देउवाको निवासमा प्रवेश गरेर सांघातिक आक्रमण गरेको बताउदै यस्तो अपराधिक घटनापछि सामाजिक सञ्जालमा देउवा निवासमा  अत्यधिक पैसा भेटिएको, पैसाको सुरुंग गरेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोभन्दै यस्ता समाचारको खण्डन गरेका छन् ।        

विज्ञप्ति: 
गत भाद्र २३ र २४ गते नेपालका जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका सबैप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पूर्ण महान नेपाली आमाका सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

जेन-जीको आन्दोलनलाई धमिलो बनाई आ-आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भत्सना गर्दछौं । भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो ।

तर त्यस्तो जघन्य अपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु ।

१- विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु ।

२- जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं ।

यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछु ।

Read More

फ्रान्समा सरकारको विरोधमा लाखौँ मानिस सडकमा

काठमाडौँ । बजेट कटौतीको विरोधमा फ्रान्समा ठुलो विरोध प्रदर्शन भइरहेका छन् । ट्रेड युनियनहरूले बिहीबार हडतालको आह्वान गरेका थिए, जसमा लाखौं मानिसहरू सहभागी भएका थिए । पेरिस, लियोन, नान्टेस, मार्सेली, बोर्डो, टुलुज र केन जस्ता शहरहरूमा सडक अवरुद्ध भएका थिए ।

सरकारी तथ्याङ्कका अनुसार, यी विरोध प्रदर्शनहरूमा ५ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएको बताइएको छ । जबकि युनियनहरूले यो संख्या १० लाख रहेको बताएका छन् । सुरक्षाका लागि देशभर ८० हजारभन्दा बढी प्रहरी अधिकारीहरू तैनाथ गरिएका थिए र १४१ भन्दा बढी पक्राउ परेका थिए ।

ढुङ्गा हानाहानका घटनाहरू र अश्रुग्यासको प्रयोग भएको थियो, तर धेरैजसो विरोध प्रदर्शन शान्तिपूर्ण रहे । स्कूले विद्यार्थीहरूले पनि धेरै ठाउँमा राजमार्गहरू अवरुद्ध गरेका थिए ।

फ्रान्सेली सरकारले २०२६ को बजेटमा लगभग ५२ अर्ब डलर कटौती गर्ने योजना बनाएको छ । यसमा पेन्सन फ्रिज गर्ने, स्वास्थ्य र शिक्षामा खर्च घटाउने, बेरोजगारी भत्ता घटाउने र दुई राष्ट्रिय बिदाहरू हटाउने समावेश छ ।

सरकारले देशको घाटा युरोपेली संघको ३ प्रतिशत मापदण्डभन्दा दोब्बर भएको र ऋण जीडीपीको ११४ प्रतिशत पुगेको बताएको छ । तर मानिसहरू यसलाई धनीहरूका लागि राहत र गरिबहरूमाथि बोझको रूपमा हेर्छन् । युनियनहरूले धनीहरूमाथि कर बढाउनुपर्ने बताएका छन् । मुद्रास्फीतिका कारण जीवन पहिले नै कठिन भइसकेको छ ।

विरोध प्रदर्शनका चार मुख्य कारण: 
१- राष्ट्रपति म्याक्रोंका नीतिहरू: जनताको ठूलो वर्गले म्याक्रोंका नीतिहरू आम जनताको हित विरुद्ध र धनीहरूलाई फाइदा पुर्‍याउने ठान्छन् । 

२- बजेट कटौती: सरकारले खर्च कटौती गरेर र कल्याणकारी कार्यक्रमहरू घटाएर आर्थिक सुधारहरू लागू गरेको छ । यसले आम जनता, विशेष गरी मध्यम वर्ग र श्रमिक वर्गमाथि दबाब बढाएको छ ।

३- २ वर्षमा ५ प्रधानमन्त्री: सेबास्टियन लेकोर्नु हालै प्रधानमन्त्री नियुक्त भएका थिए । दुई वर्षभन्दा कम समयमा यो पाँचौं प्रधानमन्त्री हो । यसले जनतामा अस्थिरता र असन्तुष्टि बढाएको छ । प्रदर्शनकारीहरू उनको नियुक्तिको सुरुवातदेखि नै सरकारमाथि दबाब दिन चाहन्छन् ।

४- सबै कुरा रोक्ने आन्दोलन: वामपन्थी गठबन्धन र तल्लो तहका संगठनहरूले देशको सबै कुरा ठप्प पार्न र सरकारलाई आत्मसमर्पण गर्न बाध्य पार्न यो नाराका साथ आन्दोलन सुरु गरेका छन् ।

सबै प्रमुख विपक्षी दलको आन्दोलनलाई समर्थन:
यी विरोध प्रदर्शनहरूलाई वामपन्थी राजनीतिक दलहरूबाट पनि समर्थन मिलिरहेको छ । वामपन्थी दल फ्रान्स अनबाउन्डले अगस्टमा आन्दोलनलाई समर्थन गरेको थियो । अब, अन्य वामपन्थी दलहरू पनि यसमा सामेल भएका छन् । समाजवादी दलले पनि आन्दोलनलाई समर्थन गरेको छ । संसदमा बजेटको विरुद्धमा मतदान गरेर अघिल्लो सरकारलाई ढाल्ने नयाँ लोकप्रिय मोर्चा र राष्ट्रिय र्‍याली जस्ता दलहरू पनि धनीहरूमाथि उच्च करको माग गर्दै युनियनहरूसँग सडकमा छन् ।

यी विरोध प्रदर्शनहरूले नयाँ सरकारलाई ठूलो खतरा निम्त्याउँछन् । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई अब बजेट पारित गर्न कठिनाइ हुनेछ । संसद विभाजित छ र कुनै पनि दलसँग बहुमत छैन । विरोध प्रदर्शनहरूले रेल, बस र मेट्रो रोकेका छन्, विद्यालयहरू बन्द गर्न बाध्य पारेका छन् र १.१ गिगावाटले बिजुली उत्पादन घटाएका छन् ।

यसले अर्थतन्त्रलाई क्षति पुर्‍याउनेछ र बजेट परिवर्तन गर्न सरकारमाथि दबाब बढाउनेछ । म्याक्रोनको पहिले नै कम लोकप्रियता थप घट्न सक्छ ।

Read More