२०८३ बैशाख १३

देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

साथै देउवाले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमानै  हुने बताएका छन् । 

देउवा निकट नेताका अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा समेत रहेका छन् ।

आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए । सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् । साथै उनले उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।

Read More

जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भएका छन ।

देउवा मंगलबार काँगेसको केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् । देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवापनि पार्टी कार्यालय पुगेकी छन् । 

गत भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा उपचारपछि पहिलो पटक आज सार्बजनिक भएका हुन् ।

देउवाले आजको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेर बाहिरिने बताएको छ । देउवाले पार्टीको सभापतिको कार्यभार उपसभापति पूर्णबहादुर खड्कालाई दिने तयारी गरेको बताइएको छ ।

Read More

सभापतिको आगमनसँगै कांग्रेस कार्यालयको सुरक्षा व्यवस्था कडा, नेताहरूको प्रवेशमा समेत निगरानी

काठमाडौँ । नेपाली कांग्रेसको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ बढाइएको छ भने नेताहरूलाई पनि हिँडाएर नै पार्टी कार्यालयसम्म पठाइदैछ ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदै छन् ।

Read More

बालेनले किसानको अपमान गरेको भन्दै महासंघको माफी माग्न चेतावनी

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी ‘किसानझैँ फोहर’ भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुकको प्रमुख  र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गरेको छ । काठमाडौं महानगरको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुनु खेदजनक रहेको बताएको छ ।

महासंघले मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न चेतावनी दिदै अन्यथा शाहको विरुद्धमा महासंघले थप कदम उठाउने बताएको छ ।

Read More

नेपालको आइसीसी टी २० टिम वरियतामा एक स्थानको सुधार

काठमाडौं । नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले अक्टोबर १३ अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थानको सुधार गरेको हो । 

नेपाल यसअघि १८औं स्थानमा रहेकोमा अब १७औं स्थानमा उक्लिएको छ । नेपालले लगातार जित हासिल गरेपछि वरियतामा पनि सुधार भएको हो । खासगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेपछि नेपालको वरियतामा सुधार भएको छ ।

त्यस्तै यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेको छ र १८औं स्थानमा पुगेको छ । 

टी-२० को वरियतामा हाल भारत शिर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ । त्यस्तै नेपाल भन्दा एक स्थान माथि युएई रहेको छ ।

Read More

भारतले दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई सात विकेटले पराजित गर्दै सिरिज २-० ले जित्यो

काठमाडौँ । भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सात विकेटले जितेको छ । यससँगै भारतले दुई खेलको सिरिज क्लीन स्वीप गरेको छ ।

वेस्ट इन्डिजले खेल जित्नको लागि भारतलाई १२१ रनको लक्ष्य दिएको थियो, जुन भारतीय टोलीले केवल तीन विकेट गुमाएर हासिल गर्यो । भारतको लागि दोस्रो इनिङमा केएल राहुलले सर्वाधिक ६० रन बनाए । साई सुदर्शनले पनि ३९ रनको योगदान दिए । वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले दुई विकेट लिए भने जोमेल वारिकनले एक विकेट लिए ।

यस खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङ पाँच विकेटमा ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो । जसमा यशस्वी जैसवालले १७५ र कप्तान शुभमन गिलले १२९ रन बनाएका थिए ।

वेस्ट इन्डिजको पहिलो इनिङ २४८ रनमा समेटियो । त्यसपछि, आगन्तुक टोलीले दोस्रो इनिङमा ३९० रन बनाए, जसले भारतलाई जित्नको लागि १२१ रनको लक्ष्य दिएक ओथियो । दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि जोन क्याम्पबेल र शाई होपले शतक बनाए । आफ्नो टोलीका लागि क्याम्पबेलले सर्वाधिक ११५ रन बनाए भने शाई होपले १०३ रन बनाएका थिए । यी दुईसँगै जस्टिन ग्रिभ्सले पनि ५० रन बनाए।

दोस्रो इनिङमा भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले तीन-तीन विकेट लिए। मोहम्मद सिराजले दुई र रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक-एक विकेट लिएका थिए । दुई टोलीबीचको पहिलो टेस्ट अहमदाबादमा खेलिएको थियो, जुन भारतले एक इनिङ र १४० रनले जितेको थियो ।

Read More

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा आज ५ वटा रिट पेस भएको हो ।

वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् ।

जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।

सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

Read More

अर्थमन्त्री खनालको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध निर्देशक बो ली सँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । 

विश्व बैंकका प्रवन्ध  निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन जी समुहको प्रदर्शन पछि बनेको सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनुका अतिरिक्त सुशासन र उत्तरदायित्व प्रवर्द्धन गरेको बताए । साथै उनले वर्तमान सरकार व्यवसायिक वातावरण सुधारका लागि गर्नुपर्ने संस्थागत र प्रक्रियागत सुधारका कार्यलाई तिव्रता दिन र कानुनी सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको बताए । विश्व बैंक समुहले नेपालको विकास प्रयासमा गरिरहेको सहयोग प्रति धन्यावद व्यक्त गर्दै आगामी दिनमा बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरे । सो अवसरमा विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डे अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक भएको उल्लेख गर्दै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा अर्थमन्त्रीसँग छलफल गरे । 

अन्तर्राष्ट्रिय मुद्रा कोषको उप-प्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपालको आर्थिक सुधारमा गरेको सहयोग र सहकार्य प्रति धन्यवाद दिए । मन्त्री खनालले हाल अन्तराष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा संचालित विस्तारित कर्जा सुविधा सम्बन्धी बाँकी सुधारका कार्यलाई अघि बढाइने र आगामी दिनमा कोषसँगको सहकार्य मजबुत बनाइने उल्लेख गरे । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोष उप-प्रवन्ध निर्देशक बो लीले विस्तारित कर्जा सुविधाको छैठौं समीक्षा सफलतपूर्वक सम्पन्न भएकोमा बधाई दिदै आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।

आजै अर्थमन्त्री खनाले नेपाल अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लगानीयोग्य वातावरण निर्माण गर्न सरकार दृढ रहेको जानकारी दिए । साथै उनले कर सम्बन्धी कानुनमा देखिएका अस्पष्टता हटाइने,  नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने  र लगानीकर्ताले लगानी स्वीकृत गराउँदा र व्यवसाय बन्द गर्दाका प्रक्रिया सजिलो पार्ने विश्वास दिलाए । उक्त अवसरमा विभिन्न कम्पनीका प्रतिनिधिहरुले नेपालमा कर कानुन र अन्य नियमनकारी निकायका कतिपय निर्णय र प्रावधानले लगानीकर्ताहरुलाई असहज बनाएको उल्लेख गरेका थिए । अर्थमन्त्री खनालले कर कानुनका विषयमा आर्थिक ऐन तर्जुमा हुने क्रममा पर्याप्त छलफल गरी टुँगो लगाइने र अन्य विषयमा समेत पर्याप्त अनुसन्धान र विकासका माध्यमबाट नीतिगत र कानुनी सुधार गरिने बताए ।

आजै अर्थमन्त्री खनालले विश्व बैंक समुहका दक्षिण एशिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग भेट गरी हाल विश्व बैंकका तर्फबाट नेपालमा सञ्चालित विकास आयोजना र तीनको कार्यान्वयनमा क्रममा देखिने गरेका समस्याका विषयमा छलफल गरेका थिए  ।

Read More

गरिमा विकास बैंकले घोषणा गर्‍यो लाभांश: ६% बोनस, ४.५३% नगद

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ३३४औं बैठक सोमबार दिउँसो ३:३० बजे बसेर उक्त निर्णय गरेको हो।

प्रस्ताव अनुसार, बैंकले हाल कायम चुक्ता पुँजीबाट ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

गरिमा विकास बैंकको हाल चुक्ता पुँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर रु ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।

Read More

सुनको मूल्यले तोड्यो सबै रेकर्ड: तोलाको २ लाख ५० हजार नजिक

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिन सोमबार तोलाको २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको मूल्यमा ८ हजार रुपैयाँभन्दा बढीको वृद्धि भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेर उच्च स्तरमा पुगेको छ । सोमबार तोलाको ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ५० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८५० रुपैयाँ ५० पैसा रहेको छ ।

Read More