२०८३ बैशाख १३

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको पुष्टि गरेको छ ।

२०६० सालदेखि पत्रकारितामा सक्रिय रावल पछिल्लो समय नेपाल खबरका सम्पादक छन् । 

बाजुरा, साविक मार्तडीमा जन्मिएका रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्। उनी कानुनमा स्नातक पनि छन् ।

Read More

अर्थमन्त्री खनालको अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृनिकायसँग छलफल

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिकी उच्च पदस्थ अधिकारी र विभिन्न दातृनिकायसँग छलफल गरेका छन् । 

यसक्रममा अर्थमन्त्री खनालले अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गर्नुका साथै नेपाल ट्रेड प्रेफेरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन् । त्यस्तै अर्थमन्त्री खनालको अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको थियो । 

त्यसै गरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो। साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराएका थिए । जापान सहयोग नियोगका प्रतिनिधिसँग विपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङ मार्ग  र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ।

त्यस्तै अर्थ मन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरेका थिए । 

सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।

Read More

प्रतिनिधि सभा पुनर्स्थापनाको विपक्षमा उभियो राप्रपा

काठमाडौँ । राप्रपाले सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा जेनजीका माग पुरा नभएसम्म संसद पुनर्स्थापना गर्न नहुने धारणा राखेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सबैभन्दा पहिला जेनजीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन, विदेशमा रहेका नेपालीका लागि अनलाइन मतदान प्रणालीको व्यवस्था लगायतका विषय टुंगो लगाउनुपर्ने धारणा बैठकमा राखेको बताएका छन् ।

प्रवक्ता शाहीले सभामुख घिमिरेलाई यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन, राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन र कार्यान्वयनको दिशामा अघि बढ्न मार्गप्रशस्त गर्न निर्णायक पहलकदमी लिनका लागि सुझाब दिएको बताउदै यी विषयको टुंगो नलागेसम्म संसद पुन:स्थापनाको कदम पूर्ण रूपमा अर्थहीन हुने आफुहरुको ठहर रहेको बताएका छन् ।

​सभामुख घिमिरेले बोलाएको आजको बैठकमा नेकपा एमाले संसद पुनर्स्थापनाको पक्षमा उभिएको छ । एमालेका नेता महेश बर्तौलाले संसद पुनर्स्थापना गरेर संबिधान संशोधन मार्फत जेनजीका माग पुरा गर्ने र निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।

Read More

मधेशमा बन्यो काँग्रेस-एमाले बाहेकको नयाँ गठबन्धन, लोसपाका सोनल मुख्यमन्त्री बन्ने

जनकपुर । मधेश प्रदेशमा लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने भएका छन् ।

लोसपासहितका पाँच दलबीच सोनललाई मुख्यमन्त्री बनाउदै नयाँ सरकार गठन गर्ने सहमति भएको हो । नयाँ गठबन्धनमा नेपाली काँग्रेस र नेकपा एमालेलाई बाहिर राखिएको छ । जसमा लोसपा, जसपा नेपाल, जनमत, एकीकृत समाजवादी र माओवादी केन्द्र रहेका छन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सदस्य आवश्यक पर्नेमा यो गठबन्धनसँग ५६ सदस्य पुगेको छ ।

जसमा जसपा नेपालका १९ जना, जनमतका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ जना रहेका छन् ।

यस अघि कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि त्यो सहमति तोडेर नयाँ गठबन्धन बनाइएको छ ।

यसअघि मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेकी छन् ।

Read More

भारतको राजस्थानमा यात्रुबसमा आगलागी हुदा २० जनाको मृत्यु

काठमाडौँ । भारतको राजस्थानको जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यामहरुले बसबाट १९ जनाको शव निकालिएको छ भने एक घाइतेको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए ।

घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् । आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

Read More

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुसँग परामर्श बैठक शुरु भएको छ ।

सिंहदरबारमा शुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरुका प्रतिनिधिहरु उपस्थित रहेका छन् । 

 सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् । 

अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ । मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन । उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।

Read More

काठमाडौंमा आजदेखि दुई सिफ्टमा राहदानी सेवा सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ ।

सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

Read More

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानको क्लीन स्वीप

काठमाडौँ । अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ ।

युएईको आबुधाबीमा गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई २०० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको २९४ रनको लक्ष्य पछाएको बंगलादेश २७.१ ओभरमा केवल ९३ रन बनाएर अलआउट भएको थियो । बंगलादेशको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अफगानिस्तानका बलर बिलाल सामीले ५ विकेट लिए भने रशिद खानले ३ विकेट लिए । त्यस्तै बंगलादेशका लागि केवल सैफ हसनले ४३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २९३ रन बनाएको थियो ।

अफगानिस्तानले यस सिरिजको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेल ८१ रनले जितेको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एक्दिवासिय सिरिज ३-० ले जितेको छ ।

Read More

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । 

पार्टी उपाध्यक्ष एवम प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार आज बस्ने बैठकले केन्द्रीय सचिवालय बैठकले पारित गरेका विषयलाई अनुमोदन गर्दै केन्द्रीय समितिको बैठकमा पठाउने छ । 

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको भर्चुअल बैठक विहिबारका लागि बोलाएको छ ।

यसअघि असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसङ्ग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने, वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने र प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने लगायतका निर्णय गरेको थियो । 

Read More

जेनजी आन्दोलनपछि राष्ट्रपति भागेसँगै माडागास्करमा सैन्य विद्रोह

काठमाडौँ । हिन्द महासागर टापु राष्ट्र माडागास्करमा सैन्य विद्रोह भएको छ । सैन्य अधिकारीहरूले सरकारको नियन्त्रण लिएको बताएका छन् । माडागास्करको सम्भ्रान्त सैन्य इकाई (क्याप्साट) ले राष्ट्रपति एन्ड्री राजोएलिनालाई सत्ताबाट हटाएर सरकारको नियन्त्रण लिएको जानकारी दिएको हो ।

रोचक कुरा के छ भने, २००९ मा तत्कालीन राष्ट्रपति मार्क राभालोमानानालाई अपदस्थ गरेर राजोएलिनाले सत्ता कब्जा गर्दा सेनाले उनलाई समर्थन गरेको थियो । सेनाले संवैधानिक अदालत र निर्वाचन आयोग लगायत प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई निलम्बन गरिएको बताएको छ । यो कदम राष्ट्रिय संसदले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको समयमा आएको हो । राष्ट्रपति राजोएलिनाले मतदानलाई अवैध भनेर खारेज गरे र अज्ञात स्थानमा भागेका छन् । उनले फेसबुक लाइभ प्रसारणमा उनले आफू अझै पनि वैध राष्ट्रपति भएको दाबी गरेका छन् ।

कसरी भयो विद्रोह ?

दुई हप्ता अघि, पानी र बिजुलीको अभावका कारण देशभर जेनजी आन्दोलन सुरु भयो । यो आन्दोलनलाई ‘जेन जेड’ आन्दोलन भनेर नाम दिइएको थियो । प्रदर्शनकारीहरूले मुद्रास्फीति जस्ता मुद्दाहरूमा आफ्नो आक्रोश व्यक्त गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनालाई हटाउन माग गर्दा आन्दोलन बढ्यो । शनिबार, सेनाको सबैभन्दा शक्तिशाली इकाई, क्याप्साटका सुरक्षा बलहरू अचानक आफ्नो ब्यारेक छोडेर प्रदर्शनकारीहरूमा सामेल भएपछि अवस्था नाजुक बनेको थियो । दुई दिन पछि, राष्ट्रपति राजोएलिना फ्रान्सेली सेनाको सहयोगमा दुबई भागेको खबर बाहिर आयो । सोमबार राति, राजोएलिनाले उनको जीवन खतरामा रहेकाले सुरक्षित स्थानमा गएको बताएका छन् ।

केही घण्टा पछि, संसदमा उनको पद त्यागिएपछि राजोएलिनाविरुद्ध महाभियोग प्रक्रिया सुरु भयो । राजोएलिनाले पछि संसद विघटनको घोषणा गरे । यद्यपि, सांसदहरूले तैपनि महाभियोग प्रक्रिया पूरा गर्न मतदान गरे । तर यसैबीच सेनाले सरकार कब्जा गरेको घोषणा गर्‍यो । क्याप्साट प्रमुख कर्नल माइकल रान्ड्रियानिरिनाले आगामी १८ महिनादेखि दुई वर्ष भित्र चुनाव गराउने बताएका छन् । उनले मेडागास्करका जनरल जेड प्रदर्शनकारीहरू यस परिवर्तनको हिस्सा हुने बताउदै यो आन्दोलन सडकमा सुरु भएको र उनीहरूको मागको सम्मान गर्ने बताएका छन् ।

मेडागास्कर कहाँ छ ?

अफ्रिकाको दक्षिणपूर्वी तटमा अवस्थित मेडागास्कर, विश्वको चौथो ठूलो टापु राष्ट्र हो । लामो समयदेखि विश्वको बाँकी भागबाट अलग्गिएको, यो टापु यसको अद्वितीय वन्यजन्तुको लागि प्रसिद्ध छ । परम्परागत रूपमा, यसको अर्थतन्त्र चामल, कफी, भेनिला र ल्वाङको खेतीमा आधारित छ । यद्यपि देश प्राकृतिक स्रोतसाधनमा धनी छ, पर्यटन एक प्रमुख व्यवसाय हो । यसको बावजुद, यो विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक हो र विदेशी सहायतामा धेरै निर्भर छ । पछिल्ला वर्षहरूमा आएका गम्भीर आँधीबेहरीहरूले यसको आर्थिक कठिनाइहरूलाई बढाएको छ । १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि, माडागास्करले धेरै समय राजनीतिक अस्थिरताको अनुभव गरेको छ । यसमा कू, हिंसात्मक विरोध र विवादित चुनावहरू समावेश छन् । २००९ को कू पछि, देश पाँच वर्षसम्म राजनीतिक गतिरोधमा फसेको थियो, जसले गर्दा अन्तर्राष्ट्रिय आलोचना र आर्थिक प्रतिबन्धहरू निम्त्यायो ।

मंगलबारको कू अघि, माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना तेस्रो कार्यकाल खोजिरहेका थिए । उनले विवादित नोभेम्बर २०२३ को चुनाव जिते, जसलाई विपक्षी र उनका केही समर्थकहरूले पनि बहिष्कार गरेका थिए । रजोएलिनाले आफ्ना दुई मुख्य प्रतिद्वन्द्वीहरू, पूर्व राष्ट्रपति मार्क राभालोमानाना र सेटेन रान्ड्रियानासोलोनियाइकोलाई पराजित गर्दै ५९ प्रतिशत मत प्राप्त गरेका थिए । यस चुनावमा मतदान केवल ४६ प्रतिशत थियो, जुन देशको इतिहासमा सबैभन्दा कम मानिन्छ । १० राष्ट्रपति उम्मेदवारहरूले बहिष्कारको आह्वान गरेपछि कम मतदान भएको थियो । चुनाव हुनुभन्दा छ हप्ता अगाडिसम्म विरोध प्रदर्शन र प्रहरी झडप जारी रह्यो, जसले गर्दा मतदानको पूर्वसन्ध्यामा एन्तानानारिभोमा कर्फ्यू लगाइएको थियो ।

माडागास्करको इतिहासका केही प्रमुख घटना:
– ३५०-५५० ईस्वी: पहिलो बसोबास गर्नेहरू माडागास्करमा आइपुगे । यो पृथ्वीमा मानिसहरूले बसोबास गर्ने अन्तिम ठूला भूभागहरू मध्ये एक बन्यो ।

– ७औं-९ औं शताब्दी: अरब व्यापारीहरू आइपुगे । माडागास्कर हिन्द महासागरका बन्दरगाहहरूलाई जोड्ने एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र बन्यो ।

– १६औं-१७औं शताब्दी: पोर्चुगिज र फ्रान्सेली व्यापारिक चौकीहरू देखा परे ।

– लगभग १५४०-१८९७: मेरिना साम्राज्य ।

– १८८३: फ्रान्सले पहिलो फ्रान्को-होवा युद्धमा माडागास्करमा आक्रमण गर्‍यो । देशलाई आफ्नो उत्तरी बन्दरगाह एन्टसिरानाना (डिएगो सुआरेज) फ्रान्सलाई सुम्पन बाध्य पारियो ।

– १९३९-४५: दोस्रो विश्वयुद्ध ।

– १९४७-४९: मालागासी विद्रोह – राष्ट्रवादीहरूले फ्रान्सेली सैन्य अड्डाहरूमा आक्रमण गरे । फ्रान्सले विद्रोहलाई कुल्च्यो ।

– १९६०: माडागास्करले स्वतन्त्रता प्राप्त गर्यो । फिलिबर्ट सिरानाना देशको पहिलो राष्ट्रपति बने ।

– १९७५: डिडियर रत्सिराकालाई राज्य प्रमुख र सर्वोच्च क्रान्तिकारी परिषदको अध्यक्ष नियुक्त गरियो । उनले अर्को २६ वर्ष शासन गरे ।

– २००१: विवादित चुनाव पछि रत्सिराका फ्रान्स भागे ।

– २००९: रक्तहीन विद्रोहले आर्थिक प्रतिबन्ध लगायो ।

– २०१३: लोकतान्त्रिक चुनावको बावजुद, राजनीतिक स्थिरता फर्कन सकेन, र कार्यपालिका र व्यवस्थापिका बीचको द्वन्द्व जारी रह्यो ।

– २०१८: एन्ड्री राजोलिनाले राष्ट्रपति चुनाव जिते ।

राजधानी अन्तानानारिभो रहेको माडागास्करको क्षेत्रफल: ५ लाख ८७ हजार ४१ वर्ग किलोमिटर रहेको छ भने यस देशको कुल जनसंख्या २ करोड ८८ लाख रहेको छ । यहाँ मुख्यरुपमा मालागासी र फ्रान्सेली भाषा बोलिन्छ ।

Read More