२०८३ बैशाख १३

अध्ययन भन्छ- एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर

काठमाडौँ । एउटा नयाँ अध्ययन प्रतिवेदनले ढिलो सुत्नु र त्यसपछि लामो समयसम्म सुत्नुले शरीरको आन्तरिक जैविक घडीमा बाधा पुर्‍याउन सक्ने सुझाव दिएको छ । अध्ययनमा निद्रा र उठ्ने समयलाई निरन्तर कायम राख्नु कुल निद्रा अवधि भन्दा बढी महत्त्वपूर्ण भएको निष्कर्ष निकालेको छ । किनकि यो लय मस्तिष्क र मुटु दुवैको लागि लाभदायक हुने बताइएको छ ।

यो अध्ययन संयुक्त अधिराज्यको एक्सेटर विश्वविद्यालय र अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका निद्रा वैज्ञानिकहरूले संयुक्त रूपमा गरेका थिए । यो अध्ययन प्रतिवेदन ब्रिटिश जर्नल अफ स्लीप मेडिसिन र नेशनल जियोग्राफिक हेल्थ सेक्सनमा प्रकाशित भएको छ । अनुसन्धानकर्ताहरूले निद्राको समयले निद्राको गुणस्तर र समग्र स्वास्थ्यमा गहिरो प्रभाव पर्ने पत्ता लगाएको दाबि गरेका छन् । ढिलोसम्म जागा रहनु र भोलिपल्ट ढिलो सुतेर हराएको निद्राको क्षतिपूर्ति गर्ने प्रयास गर्दा सर्काडियन लयमा अवरोध आउन सक्ने अध्ययनमा भनिएको छ ।

त्यस्तै अनियमित निद्राको समयले मस्तिष्कको कार्य, एकाग्रता र निर्णय लिने प्रक्रियामा नकारात्मक असर पार्छ । थप रूपमा, यसले मुटु रोग, मोटोपना, उच्च रक्तचाप र मधुमेह जस्ता रोगहरूको जोखिम पनि बढाउने उल्लेख गरिएको छ । अध्ययनले ४० हजार भन्दा बढी सहभागीहरूको दीर्घकालीन निद्राको ढाँचा, जीवनशैली र स्वास्थ्य सूचकहरूको विश्लेषण गरेको थियो । सहभागीहरूको औसत उमेर १८ देखि ६५ वर्ष बीच थियो ।

डाक्टर, मिडिया कर्मचारी, आईटी पेशेवरहरू वा रात्रि शिफ्टमा काम गर्ने कामदारहरू जस्ता आफ्नो पेशाको कारणले गर्दा अबेरसम्म जागै बस्न बाध्य हुनेहरूका लागि, अनुसन्धानकर्ताहरूले सकेसम्म एकरूप निद्रा दिनचर्या कायम राख्न सिफारिस गरेका छन् । सुत्ने समय रातमा नभए पनि, २४ घण्टाको दिन र रात चक्रमा लगभग एउटै समयमा सुत्ने र उठ्ने कामले शरीरको जैविक घडीलाई सन्तुलनमा राख्न मद्दत गर्ने अध्ययनको निष्कर्ष रहेको छ । अध्ययनले दिनमा सुत्नु परे पनि, यो गहिरो र अविरल रहने सुनिश्चित गर्नु शरीरको आन्तरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताइएको छ ।

Read More

आइसीसी विश्वकप लिग २: यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ ।

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । 

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो । 

एकदिवसीय मान्यता पाएपछि नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० को फेब्रुअरीमा टियु क्रिकेट मैदानमा भएको थियो, जुन खेल नेपालले ३५ रनले जितेको थियो । त्यस्तै दोस्रो खेल फेब्रुअरी, १२, २०२० मा टियु मैदानमै भएको थियो, जुन नेपालले ८ विकेटले जितेको थियो । त्यस्तै चौथो खेल २०२१ को सेप्टेम्बर १३ मा ओमानको अल अमेरत मैदानमा भएको थियो, जुन खेल नेपालले ५ विकेटले जितेको थियो । त्यसपछि ओमानमै सेप्टेम्बर १७, २०२१ मा भएको चौथो खेलमा अमेरिकाले ६ विकेटले जितेको थियो । त्यस्तै अमेरिकाको टेक्सासमाजुन ११, २०२२ मा भएको खेल टाई भएको थियो भने जुन १५, २०२२ मा टेक्सासमै भएको खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो । त्यसपछि जुन २०, २०२३ मा जिम्बाबेको हरारेमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । त्यसपछि अक्टोबर २७, २०२४ मा अमेरिकाको डल्लासमा भएको खेलमा अमेरिका ३ विकेटले विजयी भएको थियो भने नोभेम्बर २, २०२४ मा अमेरिकामै भएको खेलमा अमेरिका ३७ रनले विजयी भएको थियो ।      

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २० खेल खेल्दै २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० मध्ये १४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १६ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ९ खेलमा हार बेहोरेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ । 

Read More

छठ पर्वको मुख्य विधि शुरू, आज नहाय–खाय

जनकपुर । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । 

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित रहेको छ ।

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण सोही प्रसाद गर्छन् । यस दिनपछि व्रतीले पूर्ण लिनुपर्दछ ।

तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ ।

सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ । ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पत्ति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरीक्ष एवम दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ ।

यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी तथा चिकित्सकहरूले सूर्य तत्वबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रसङ्ग पनि पाइन्छ । सूर्यको किरणबाट चिकित्साबारे देश–विकासका कैयौँ चिकित्सकले ग्रन्थ लेखेका छन् तथा कैयौँ असाध्य तथा अक्षय रोगहरूको आश्चर्यजनक उपचार खोजिएको छ । अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ । सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौँ प्राचीन साहित्यमा उपचार प्रसङ्ग पाइन्छ ।

संस्कृतिविदहरुले साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको बताउछन् ।

जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ । छठ पर्वमा सूर्यको पूजाअर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान् सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले राजधानी काठमाडौँसहितका पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको हो । यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिनु भएको बताइन्छ । छठमा धनी, गरीब, सबै जातजाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ ।

सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले सूर्यप्रति कृतज्ञताको अभिव्यक्तिका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठको मौलिक विशेषता हो । छठ प्रकृति र पुरूषको पूजा हो, सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ । सामुदायिक सद्भाव मूलमन्त्र रहेको यस पर्वमा कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वादस्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ ।

Read More

गायक बिक्रम श्रेष्ठको नयाँ प्रेमगीत सार्वजनिक: मन छुने धुन र आकर्षक भिडियोले तान्यो दर्शकको मन

काठमाडौँ । गायक बिक्रम श्रेष्ठको आवाजमा रहेकाे नयाँ गीत सार्वजनिक भएको छ।
बिक्रम राजवंसी युटुब च्यानलबाट मंगलबार गीत सार्वजनिक भएको हो । गीतमा बिक्रम श्रेष्ठ र निशा देसारको आवाज रहेको छ ।

शब्द आनन्द अधिकारीको रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने म्युजिक भिडियोको निर्देशन पनि शिखर सन्तोषले नै गरेका छन् । हर्ष मनहास र महक महाजनको अभिनय तथा प्रसन्न कुवरको सम्पादन रहेको यो गितको प्रोडक्सन डिजाइन ईभा लामिछानेले गरेकिछिन । भेषभुषामा प्राज्मा लामिछाने र शृंगारमा तजन्ना श्रेष्ठ छिन ।

माया प्रेमको भाकालाई म्युजिक भिडियोमा निक्कै सुन्दर तरिकाले उतारिएको छ । गीतकार तुलाराम थापा तथा गायक सुरेन्द्र ठकुरीको समेत साथ रहेको यो गित बिशेष गरी युवापुस्ता लक्षित रहेको छ ।

Read More

नेपाली मुलका मास्केको कम्पनी अमेरिकाको सेयर बजारमा सुचिकृत, नेपाली सफलताको नयाँ अध्याय, गभर्नरले दिए बधाई

काठमाडौँ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी कम्पनी फ्युजमेसिन्स (Fusemachines) ले अमेरिकाको प्रतिष्ठित नास्डाक (NASDAQ) मा आफ्नो शेयर कारोबार सुरु गरेको छ। बिहीबारदेखि कम्पनीले ‘FUZ’ नामबाट शेयर कारोबार आरम्भ गरेको हो, जससँगै विश्वव्यापी बजारमा नेपालीको सहभागिता एक ऐतिहासिक उपलब्धिका रूपमा अंकित भएको छ।

दुई वर्षअघि अमेरिकी कम्पनी CSLM Acquisition Corp. सँग भएको ‘मर्जर’ प्रक्रिया सम्पन्न भएपछि फ्युजमेसिन्सले नास्डाक पुँजीबजारमा प्रवेश पाएको हो। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. मास्केले भने, “नवीनतम सोच र प्रविधिमा विश्वास राख्दै सानो समूहबाट सुरु गरिएको यो यात्राले आज विश्व बजारमा प्रवेश गरेर नेपाली प्रतिभाको क्षमता प्रमाणित गरेको छ।”

डा. मास्केका अनुसार हाल कम्पनीमा ३५० कर्मचारी कार्यरत छन्, जसमा २६० जना नेपालमा नै काम गर्छन्। फ्युजमेसिन्स कृत्रिम बुद्धिमत्ता (AI) र डेटा विज्ञानमा आधारित प्रविधि समाधान विकासमा अग्रणी कम्पनी हो।

नास्डाकले जारी गरेको विज्ञप्तिमा फ्युजमेसिन्स र CSLM Acquisition बीचको मर्जर प्रक्रिया पूरा भइसकेको र बिहीबारदेखि कारोबार सुरु भएको उल्लेख छ। योसँगै कम्पनीले विश्वव्यापी लगानीकर्तालाई आकर्षित गर्ने नयाँ अवसरहरू खोलेको बताइएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले फ्युजमेसिन्सको ऐतिहासिक उपलब्धिलाई बधाई दिएका छन्। नेपाल फर्कँदै गर्दा टाइम्स स्क्वायरमा डा. मास्केसँगको भेटपछि गभर्नर पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज NASDAQ मा फ्युजमशिनको शेयर कारोबार सुरु भयो। संयोगले नेपाल फर्कँदै गर्दा फ्युजमशिनका संस्थापक डा. समीर मास्केसँग टाइम्स स्क्वायरमा भेट भयो। एक पायोनियरका रूपमा नेपालीहरूले डा. मास्केलाई सधैं सम्मान गर्नेछन्।’

कम्पनीको Chief Financial Officer (CFO) मा क्रिस्टिन च्याम्बर्स र सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।

फ्युजमेसिन्सको नास्डाक सूचीकृत हुनु नेपालका प्रविधि उद्यमीहरूको लागि प्रेरणादायी कदमका रूपमा हेरिएको छ। यो उपलब्धिले अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रविधि र नवप्रवर्तनको पहिचानलाई थप सुदृढ बनाएको विश्लेषण गरिएको छ।

Read More

राष्ट्रपति र प्रधानमन्त्री मिलेर षड्यन्त्र गरे: दीक्षितको कठोर टिप्पणी, सर्वोच्च अदालतले संसद् ब्युँताउनैपर्छ

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्य्रक्रममा बोल्दै डा. दीक्षितले भने–‘सुप्रिम कोर्टलाई अर्को उपाय नै छैन, उसले संसद् व्युँताउनैपर्छ, उसले टेक्नुपर्छ संविधानलाई नै, यो सरकार नै संविधान टेकेर आएको हो । यो सरकार त जेनजी क्रान्तिको आडमा आएको रहेनछ । त्यो त पक्का बुझियो । राष्ट्रपतिले पनि त्यही घोषणा गर्नुभएको छ, संविधान चलाएको छैन । मैले संविधान बिगारेको छैन भनेर राष्ट्रपतिले भन्नुभएको छ ।’

राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीले जेनजी रिभोलुसनलाई खत्तमै पारेको उनको आरोप छ । उनले भने,‘यहाँ त के भयो भने पूरानै संसद्, पूरानै व्यवस्था अनि पूरानै संविधान । पूरानै खालको इलेक्शन, उही सांसद चुन्ने, व्यवस्था उही हो । घुम्ने मेचमाथि अन्धो मान्छेझैं भयो ।’ राष्ट्रपति पौडेलले नै संसद् पूनःस्थापनाको लागि सर्वोच्च अदालतलाई एकप्रकारले मौका दिएको उनको टिप्पणी छ ।

राष्ट्रपति पौडेल कांग्रेसी र सुशीला कार्कीपनि भित्री मनमा काँग्रेसी नै भएकोले उनीहरुले अहिलेको जेनजी आन्दोलनपछि षड्यन्त्र गरेको दीक्षितको आरोप छ । उनले भने,‘यिनीहरुले जेनजीहरुको यत्रो अद्धितीय रिभोलुसनलाई खत्तम नै पारे । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्छ । उसँग अर्को विकल्प नै छैन । त्यो मार्गदर्शन त राष्ट्रपति र सुशीला कार्कीले दिईसक्नुभएको छ ।’

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको नरहेको जनाएको छ । साथै हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  रहेको विभागले जानकारी दिएको छ ।

Read More

कुनै पनि दलसँग एकता टुंगो लागिसकेको छैन, अझै छलफल जारी छ: प्रचण्डको सचिवालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एकीकृत समाजवादीसँगको एकताको विषयमा टुंगो नलगाएको स्पष्ट गरेको छ ।

शुक्रबार सञ्चारमाध्यमहरुमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता टुंगिएको आशयको समाचारहरु प्रकाशित भएपछि प्रचण्डको सचिवालयले यसको खण्डन गरेको हो ।

सचिवालयले माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी रहेको र कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिनसकेको बताएको छ ।

सचिवालयले भनेको छ:
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी छ ।

यद्दपी कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन । बिभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ । इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि बिभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं ।

Read More

आज शनिबार १२ राशिको प्रभाव: बृश्चिकमा चन्द्रमा, अन्य यी राशिहरुको चम्किदै छ भाग्य

आज कार्तिक ८ गते शनिबार ई.सं. २०२५ अक्टोबर २५ नेपाल सम्बत ११४६ कछलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्थी, चन्द्रमा बृश्विक राशिमा,  अनुराधा नक्षत्र, सौभाग्य योग, वणिज करण ।

आज नेपालमा सुर्योदय बिहान ६: १० बजे र सूर्यास्त साँझ ५ बजेर २७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा बृश्विक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १४ मिनेट देखि ०९ बजेर २८ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आज छठ पर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन नहाय–खाय गरिन्छ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ । कार्यक्षेत्रमा पनि राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन हो । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । महत्त्वपूणर् कामलाई स्थगित नगर्नु होला, बरु अतिरिक्त समय वा कामदारको व्यवस्थापन गरी थालेको काम पूरा गर्नु ठीक हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूणर् कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
भाइबहिनी वा छोराछोरीसँग सम्बन्ध÷सम्पर्क बढ्नाले मन प्रसन्न रहने छ, कुनै प्रतिस्पर्द्धा वा परीक्षामा सहभागी हुँदा सफल भइने छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।

Read More