काठमाडौँ । भारतको ५३औं प्रधानन्यायाधीशको रूपमा न्यायाधीश सूर्य कान्तले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीश सुर्य कान्तलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । उनको कार्यकाल हालैका केही प्रधानन्यायाधीशहरू भन्दा लामो हुनेछ, जुन १५ महिनासम्म, फेब्रुअरी २०२७ सम्म चल्नेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदी सहित धेरै प्रमुख नेताहरू शपथ ग्रहण समारोहमा उपस्थित थिए ।
प्रधानन्यायाधीश भारतको न्यायिक प्रणालीका प्रमुख अधिकारी हुन् । उनले न्यायाधीशको रूपमा मुद्दाहरूको निर्णय मात्र गर्ने छैनन् सर्वोच्च अदालतसँग सम्बन्धित सबै प्रशासनिक मामिलाहरूको पनि नेतृत्व गर्ने छन् ।
बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।
सडकको ध्यु खोला नजिक वीरगन्जबाट भैरहवातर्फ रासायनिक मल बोकेर जाँदै गरेको मालबाहक गाडी बिग्रीएका कारण राजमार्ग एकतर्फी सञ्चालन भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान ८ : ४० बजेवाट दाउन्ने खण्डको पूर्वी बजार दुम्कीवाससम्म लामो जाम भएको छ । जामका कारण पूर्व–पश्चिम हिँडेका गाडी दुम्कीवास बजारसम्म रोकिएका छन् । बिग्रिएको बा प्र ०३ ००१ ख ०९५१ नम्बरको गाडी राजमार्गवाट हटाउन शुरु गरिएको छ । दाउन्ने सडक खण्ड निर्माणकै क्रममा रहेकाले कैयौं ठाउमा एकतर्फी रुपमा संचालन भइरहेकाले हरेक दिन जाम हुने गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा गरिएको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेको विषय बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ ।
भ्रष्टाचार र नातावादविरुद्धको जेनजी आन्दोलनको जगमा बनेको सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेपछि विभिन्न जेनजी समुहले आपत्ति जनाएका छन् ।
यसैबीच रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । साथै फ्रन्टले नियुक्त गरिएका नातेदारको तत्काल पदमुक्ति र प्रधानमन्त्रीको स्पष्टिकरण माग गरेको छ ।
साथै फ्रन्टले सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारीको माग गरको छ ।
फ्रन्टको ध्यानाकर्षण: प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार हो ।
जेन-जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले नेपाल जेन-जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ । प्रत्यक्ष रूपमा जेन-जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुनेगरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष तत्काल निम्न मागहरू पूरा गर्न नेपाल जेन-जी फ्रन्ट जोडदार अपील गर्दछः
१. प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्ती ।
२. निज श्रेष्ठले अनैतिक नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी ।
३. सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी ।
४. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयभित्र हुने नियुक्ति, दरबन्दी र भूमिकालाई अब उप्रान्त पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण र कार्यान्वयन ।
५. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को को कुन कुन पदमा कार्यरत छन् ? सो को सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा समेत राख्नुपर्ने कानूनी व्यवस्था गरी त्यसको कार्यान्वयन ।
जेन-जी विद्रोहको म्यान्डेट नातावाद, कृपावाद, स्वेच्छाचारिता र मनपरी होइन, न्यायोचित प्रक्रिया र पारदर्शिता हो । यसको प्रतिकूल हुने गरी राज्य संयन्त्रमा देखिएका यस्ता विकृतिका विरुद्ध नेपाल जेन-जी फ्रन्ट निरन्तर सतर्क, मुखर र सङ्गठित भएर उभिनेछ !
काठमाडौँ । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रहरूमा गरेको हवाई आक्रमणमा एक वरिष्ठ हिज्बुल्लाह कमाण्डरको मृत्यु भएको छ । इजरायलले युद्धविरामको बाबजुद पनि यो आक्रमण गरेको हो ।
इजरायलले हैथम अली अल-तब्ताबाईलाई हिज्बुल्लाहको प्रमुख कर्मचारीको रूपमा वर्णन गरेको छ र उनी लामो समयदेखि धेरै महत्त्वपूर्ण पदहरूमा रहेका संगठनका सदस्य रहेको बताएको छ ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ र २८ जना घाइते भएका छन् ।
आक्रमणले घना बस्ती भएको दहिह क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरेको छ । हिज्बुल्लाहले तब्ताबाईको मृत्युको पुष्टि गरेको छ र इजरायलले आक्रमणको साथ रेड लाइन पार गरेको बताएको छ ।
यो आक्रमण इजरायलले हिज्बुल्लाहसँग सम्बन्धित व्यक्तिहरू र लक्ष्यहरूमाथि आफ्नो कारबाही तीव्र पारेको छ ।
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा Road To IPO & Credit Rating कार्यक्रम सम्पन्न भएको छ।
गत मंसिर ५ गते Neplease Young Entrepeneurs Forum(NYEF) को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उद्यमी व्यवसायीहरूलाई सेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरूमा वित्तीय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
NYEF चितवनका अध्यक्ष तथा F.C.A. निशान पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए । उनले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि रणनीतिक योजना सम्बन्धी महत्वपूण वर्कशप सञ्चालन गरेका थिए । कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराएका थिए ।
पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पारे । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे स्पष्ट पारे ।
यसैगरी, केयर एज रेटिङस् नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिएका थिए । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखेका थिए ।
चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीको नयाँ शाओमी १५टी ले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ । लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण यो उत्कृष्ट छ । साथै यसले दैनिक प्रयोगमा पनि सहज महसुस गराउँछ ।
क्यामेरा (Camera) शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो, जसले दैनिक जीवनका तस्विरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ । ५०मेगापिक्सेलको मुख्य क्यामेरामा OmniVision Light Fusion 800 सेन्सर र अप्टिकल इमेज स्टेबलाइजेशन प्रयोग गरिएको छ, जसले F/1.7 लेन्समार्फत स्पष्ट र जीवन्त तस्विर खिच्न मद्दत गर्छ । लाइका क्यामेराका कलर प्रोफाइल र इफेक्टले तस्विरमा प्राकृतिक र प्रिमियम अनुभूति थप्छ । दैनिक फोटो खिच्ने प्रयोगकर्ताका लागि यो सेटअप पर्याप्त र शक्तिशाली छ । यसले गर्दा महँगो फ्ल्यागशिप फोन बिना पनि राम्रो फोटो लिन सकिन्छ ।
प्रदर्शन (Performance) शाओमी १५टी मा १२ जिबी LPDDR 5X RAM र ५१२ जिबी UFS ४.१ स्टोरेज छ, जुन स्मार्टफोनका लागि अत्याधुनिक मेमोरी प्रविधि हो । १२ जिबी LPDDR 5X RAM ले स्मूथ मल्टिटास्किंग सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन । यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ । ५१२ जिबी UFS ४.१ स्टोरेजले UFS ४.० भन्दा ५०% छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया सुनिश्चित गर्छ ।
यसमा हजारौं तस्बिर, 4K भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ । शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ । यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
डिजाइन र बनोट (Design and Build) यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको वजन केवल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ । आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा Corning Gorilla Glass 7i ले दैनिक प्रयोगका लागि टिकाउपन सुनिश्चित गर्छ । खरिदकर्ताले कालो, खैरो र रोज गोल्ड रंग विकल्पहरू छान्न सक्छन्, सबैमा आकर्षक मेटालिक फिनिश छ जसले फोनको देखिने शैली अझ प्रभावशाली बनाउँछ ।
डिस्प्ले गुणस्तर (Display Quality) शाओमी १५टी मा ६.८३ इन्चको ओ एल इ डी स्क्रिन छ जसले हेर्ने अनुभव नै फरक पार्छ । यसको स्क्रिन १ .५ के रेसोलुशनको स्क्रिनले तस्बिर र भिडियो क्लियर देखिन्छन् । साथै १२० हत्जर्Þ रिफ्रेश रेट भएकोले फोन चलाउँदा, स्क्रोल गर्दा वा गेम खेल्दा, सबै सबै फिचरहरू सहज र सुविधाजनक हुन्छ । स्क्रिनको उज्यालोपन ३,२०० निट्स सम्म पुग्न सक्छ, जस्ले गर्दा घाममा पनि फोन सजिलै चलाउन सकिन्छ । यसमा एच डी अर १०+ र डोल्बी विसन सपोर्ट पनि छ, जसले गर्दा मुभी वा भिडियो हेर्दा रङहरू सुस्पष्ट देखिन्छन्, र स्क्रिनको टच रिस्पोन्स पनि छिटो भएकोले छुने बित्तिकै चल्छ । यसको स्क्रिनमा पी दब्ल्यु एम डिमिङ्ग टेक्नोलोजी भएकोले तपाईंलाई कम उज्यालोपनमा स्क्रिनको फ्लिकर (झिलमिल) ले आँखामा खासै असर पर्न दिँदैन ।
ब्याट्री लाइफ (Battery Life) ५,५०० mAh को ठूलो ब्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि पूरा दिन सजिलै चल्छ र कम प्रयोग गर्नेले एउटै चार्जमा दुई दिनसम्म पनि चलाउन सक्छ । ६७वाट तारको चार्जिङ प्रयोग गर्दा, दिइएको ६७ वाट पावर एडप्टरले करिब ५० मिनेटमा १००% चार्ज हुन्छ । यसमा वायरलेस चार्जिङ नभए पनि चार्ज गर्न सजिलो छ ।
थप सुविधाहरू (Additional Features) शाओमी १५टी मा पूर्ण कनेक्टिविटी विकल्पहरू छन्, जसमध्ये डुअल सिम (नानो), WiFi 6E (डुअल–ब्यान्ड), Bluetooth 6.0, र पूर्ण पोजिसनिङ सिस्टम -GPS, Glonass, Galileo, Beidou, QZSS, / NavIC_ ) समावेश छन् । यसमा USB–C सपोर्ट, NFC (कन्ट्याक्टलेस भुक्तानीका लागि) र 4GLTE तथा 5G नेटवर्क सर्पोट छ, जसले प्रयोकर्तालाई अहिले र भविष्यमा धेरै सजिलोसमेत बनाउने छ ।
सुरक्षा र सेन्सर सुविधाहरू (Security Features and Sensors) फोनमा सजिलो पहुँचका लागि अप्टिकल इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । साथै, यसमा पूर्ण सेन्सर सेट पनि छ । एक्सेलेरोमिटर, एम्बियेन्ट लाइट, कलर टेम्प्रेचर, ई–कम्पास, फ्लिकर सेन्सर, जाइरोस्कोप, आईआर ब्लास्टर र प्रोक्सिमिटी सेन्सर रहेको छ जसले प्रयोग गर्दा फोनको पूर्ण कार्यक्षमता सुनिश्चित गर्छ ।
मूल्य र उपलब्धता (Price and Availability) १२जिबी/५१२जिबी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ रहेका शाओमी १५टी दैनिक प्रयोगका लागि उत्कृष्ट डिस्प्ले गुणस्तर, ब्याट्री लाइफ र लाइका क्यामेरा अनुभव प्रदान गर्छ साथै समान मूल्यमा प्रिमियम सुविधाहरू दिन्छ । यो उपकरण नेपालभरका शाओमीका अधिकृत बिक्रेता तथा रिटेल नेटवर्कमार्फत उपलब्ध छ । त्यस्तै मात्र ४०% डाउन पेमेन्टमा ९ महिनासम्मको सहज किस्ता सुविधा पनि उपलब्ध छ । जसले गर्दा धेरै प्रयोगकर्ताका लागि शाओमी १५टी पहुँचयोग्य छ ।
काठमाडौं । सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् ।
मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउने मार्ग प्रशस्त गरेको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत मार्गदर्शन कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गरिनेछ ।
स्टील र कंक्रिटमा आधारित निर्माण प्रविधि महँगो, पर्यावरणमा नकारात्मक प्रभाव पार्ने, ग्रामीण क्षेत्रमा निर्माण सामाग्रीको सीमित पहुँचका कारण सस्तो र वातावरणमैत्री संरचनाको महत्व बढ्दै गएको छ । यसलाई ध्यान दिंदै परम्परागत रुपमा प्रयोग हुँदै आएको ग्रामीण स्तरमै उपलब्ध हुने बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रोत्साहन र प्रवर्धन गर्न मार्गदर्शनले जोड दिएको मन्त्री घिसिङले बताए ।
उनले ईंटा, सिमेन्ट र फलाम जस्ता सामग्रीमा निर्भरता घटाउँदै स्थानीय रूपमा उपलब्ध बाँसलाई संरचनात्मक प्रयोगमा ल्याउन सकिने र यसबाट किफायती संरचना निर्माण हुँदा विपन्न र गरिबीको रेखामुनि रहेका परिवारले पनि टिकाउ आवास बनाउन सक्ने उल्लेख गरे ।
बाँस छिटो बढ्ने वनस्पति समेत भएका कारण यसको प्रयोगलाई प्रवर्धन गर्न सकिएमा अन्य निर्माण सामाग्रीका कारण पर्यावरणमा परिरहेको नकरात्मक प्रभावलाई समेत कम गर्न सकिने उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा बाँसको भवन डिजाइन तथा निर्माण प्रविधि सम्बन्धमा भएका अध्ययन र अनुसन्धानबाट हासिल भएका तथ्य, ज्ञान र मापदण्डलाई आधार बनाएर मार्गदर्शन बनाइएको छ ।
मार्गदर्शनले बाँसको कटाई, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्धारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।
मार्गदर्शन निर्मणका क्रममा शहरी विकास तथा भवन निर्माणका प्राविधिकसहित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र थापाथली क्याम्पस, नेपाल गुणस्तर तथा नापतौल विभाग र मदन भण्डारी विश्वविधालयमा आवश्यक परिक्षण गरिएको थियो ।
बाँसजन्य निर्माण समाग्री प्रवर्धनका लागि नीतिगत व्यवस्थाको मागसहित खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बसेका थिए ।
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले फेरि एक पटक पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको लागि भारतलाई आधिकारिक पत्र पठाएको छ । यो जानकारी अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले प्रदान गरेका हुन् ।
बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार, यो पत्र नोभेम्बर २१, शुक्रबार भारतलाई पठाइएको थियो । यो नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोग मार्फत पठाइएको थियो ।
रिपोर्टका अनुसार, बंगलादेशले अहिलेसम्म शेख हसिनाको भारतलाई सुपुर्दगीको लागि तीन पटक अनुरोध गरिसकेको छ । यसअघि गत वर्षको डिसेम्बर २० र २७ मा उनको सुपुर्दगीको लागि पत्र पठाइएको थियो । भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिना र उनको सरकारका पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मानवताविरुद्धको अपराधको लागि मृत्युदण्डको सजाय सुनाएको थियो । दुवैको मुद्दा उनीहरूको अनुपस्थितिमा चलेको थियो । ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हत्यालाई उक्साउने र हत्याको आदेश दिने आरोपमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो । बाँकी मुद्दामा उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । अन्तर्राष्ट्रिय अपराध अदालतले उनीहरूलाई पाँचवटा मुद्दामा अभियोग लगाएको थियो ।
न्यायाधिकरणले जुलाई २०२४ को विद्यार्थी आन्दोलनको क्रममा भएका हत्याकाण्डको मुख्य योजनाकार शेख हसिनालाई नाम दिएको थियो । तेस्रो अभियुक्त, पूर्व आईजीपी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । मामुन हिरासतमा छन् र उनी भने सुनुवाईको साक्षी बनेका थिए ।
हसिनालाई मृत्युदण्डको सजाय सुनाउने अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण उनकै पहलमा स्थापना भएको थियो । यो २०१० मा स्थापना भएको थियो । यो अदालत १९७१ को बंगलादेश मुक्ति युद्धको समयमा भएका युद्ध अपराध र नरसंहारका मुद्दाहरूको अनुसन्धान र सजाय दिनको लागि सिर्जना गरिएको थियो । यो न्यायाधिकरण स्थापना गर्न १९७३ मा कानून पारित भए पनि, प्रक्रिया दशकौंसम्म रोकिएको थियो। यसपछि, हसिनाले २०१० मा यसलाई स्थापना गरे ताकि अपराधीहरूलाई मुद्दा चलाउन सकियोस् ।
काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा नैतिक भ्रष्टाचार भएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ तत्काल पदमुक्त गर्न माग गरेकी छन् ।
बमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाउने काम गरेको भन्दै उनलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएकी छन् ।
प्रमुख स्वकिय सचिव श्रेष्ठले श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाएको बाहिर आएपछि बमको यस्तो टिप्पणी आएको हो ।
जेनजी विद्रोह रकमको भ्रष्टाचारबिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो भन्दै बमले यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको समेत उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्: आखिर के का लागि ? जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं । तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ।
संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ।
भदौ २३ मा ‘पारदर्शिता र जवाफदेहिता’ हाम्रो मूल माग मध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नुहुदैन।सरकार बेलैमा सचेत होओस् ।
काठमाडौँ । अमेरिका र ल्याटिन अमेरिकी देश भेनेजुएलाबीचको तनाव निरन्तर बढ्दै गइरहेको छ । अमेरिकी अधिकारीहरूले आगामी दिनहरूमा भेनेजुएलाविरुद्ध नयाँ कारबाही सुरु हुन सक्ने बताएका छन् ।
ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध विद्रोहको योजना पनि बनाउन सक्ने अनुमान गरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, कारबाही गोप्य कारबाहीबाट सुरु हुन सक्छ । यो कदम कहिले लिइनेछ वा कति व्यापक हुनेछ भन्ने कुरा स्पष्ट छैन, तर यो स्पष्ट छ कि ट्रम्प प्रशासन यसप्रति गम्भीर छ ।
हालैका दिनहरुमा, अमेरिकी सेनाले क्यारिबियनमा ठूलो संख्यामा जहाज, विमान र सेना तैनाथ गरेको छ, जसले गर्दा दुई देशहरू बीच टकरावको सम्भावना बढेको छ । अमेरिकाले सबै सम्भावित बल प्रयोग गर्ने बताएको छ ।
अमेरिकी रक्षा विभाग, पेन्टागन र गोप्य एजेन्सी, सीआईएले यस विषयमा टिप्पणी गर्नबाट टाढा रहेका छन् । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प लागूऔषध तस्करी रोक्न सबै सम्भावित बल प्रयोग गर्न तयार रहेको बताएको छ ।
क्यारिबियनमा अमेरिकी सैन्य उपस्थिति विगत केही महिनादेखि निरन्तर बढ्दै गएको छ । सबैभन्दा ठूलो अमेरिकी विमानवाहक, गेराल्ड आर. फोर्ड, धेरै युद्धपोतहरू, एक आणविक पनडुब्बी, र एफ-३५ विमानहरूसहित तैनाथ गरिएको छ ।
अमेरिकाले लामो समयदेखि मादुरोलाई लागूपदार्थ तस्करीको आरोप लगाउँदै आएको छ, यद्यपि मादुरोले यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन् । अर्कोतर्फ, मादुरोले अमेरिकाले उनलाई सत्ताबाट हटाउन चाहेको बताउदै देश र सेनाले कुनै पनि बाह्य हस्तक्षेपको प्रतिरोध गर्ने बताएका छन् । अमेरिकी सेनाले सेप्टेम्बरदेखि दर्जनौं लागूपदार्थ डुङ्गाहरूमा आक्रमण गरेको छ, जसमा ८० भन्दा बढी मानिसहरू मारिएका छन् ।
मानव अधिकार संगठनहरूले अमेरिकाले प्रमाण बिना नै मानिसहरूलाई मारिरहेको र यसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएका छन् ।
अमेरिकी संघीय उड्डयन एजेन्सी (एफएए) ले भेनेजुएलाको हवाई क्षेत्रमा उडानविरुद्ध चेतावनी जारी गरेपछि स्थिति अझ तनावपूर्ण भएको छ ।
एफएएले भेनेजुएलाको हवाई क्षेत्रमा सैन्य गतिविधि बढेको छ र जीपीएस प्रणाली हस्तक्षेप जस्ता समस्याहरू अवलोकन गरिएको छ, जसले उडानहरूलाई खतरा निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
यद्यपि भेनेजुएलाले कहिल्यै पनि नागरिक विमानलाई लक्षित गर्ने कुरा बताएको छैन, धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले यो चेतावनी पछि भेनेजुएलाबाट उडानहरू रद्द गरेका छन् ।
यसैबीच, अमेरिकाले कार्टेल डे लस सोल्सलाई विदेशी आतंकवादी संगठन घोषणा गर्ने तयारी गरेको छ । अमेरिकाले मादुरो यस संगठनको नेता भएको आरोप लगाएको छ, जुन दाबीलाई मादुरोले कडाइका साथ अस्वीकार गर्छन् ।
यसका साथै दुई देशबीच वार्ता पनि चलिरहेको छ, तर वार्ताले तनाव कम गर्ने सम्भावना र अमेरिकी योजनामा परिवर्तन ल्याउने कुरामा विश्वास गर्न सकिने वातावरण नबनेको बताइएको छ । अमेरिकाले मादुरोको गिरफ्तारीको लागि पुरस्कार पनि बढाएर ५ करोड डलर पुर्याएको छ ।
भेनेजुएला सेनाले लामो समयदेखि कमजोर स्रोतसाधन र वित्तीय अवरोधहरूसँग संघर्ष गरिरहेको छ । खाद्यान्न अभावले केही सैन्य कमाण्डरहरूलाई स्थानीय किसानहरूबाट मद्दत लिन बाध्य पारेको छ ।
यस कारणले गर्दा, भेनेजुएला सरकारले अमेरिकी आक्रमणको घटनामा दीर्घकालीन प्रतिरोधको तयारी गरिरहेको छ । यस योजना अन्तर्गत, साना सैन्य समूहहरूले देशभर तोडफोड, छापा र छापामार रणनीतिहरू सञ्चालन गर्नेछन् ।