२०८३ बैशाख १३

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् ।

एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो ।

खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को ब्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार जिम्मेवारी दिएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार बर्षे कार्यकाल पुरा गरि विदा लिनु भए पछि सदस्य सचिवको पद रिक्त थियो । 

परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिए । आफु सदस्य सचिवको पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने पनि उल्लेख गरेका थिए । 

परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख  दायित्व  भएको उल्लेख गरेका थिए ।

 मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरु कमल भट्टराई, भान बहादुर चन्द बोर्ड सदस्यहरु परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

Read More

प्रधानमन्त्री कार्कीसँग जापानी राजदुत तोरुको भेटवार्ता

काठमाडौँ । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल-जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याएका थिए ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत  विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरेकी थिइन् ।

Read More

शिक्षामन्त्री पुनको गुनासो- दुई पटक सुचना प्रकाशित गर्दा पनि उपकुलपति बन्न कोही आएनन्

काठमाडौँ । शिक्षामन्त्री महाबीर पुनले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा दुई पटक सूचना प्रकाशित गरेर दरखास्त आव्हान गर्दा पनि कसैले आवेदन नदिएको बताएका छन् ।

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मंसिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन ।

मन्त्री पुनले दुई पटक सूचना प्रकाशित गर्दा पनि कसैले इच्छा नदेखाएको भन्दै मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान भएमा निवेदन दिन आग्रह गरेका छन् । 

उनले भनेका छन्: ‘सुदुरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटक सम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस ।’

Read More

फिफा विश्वकप फुटबलको समुह चरणको ड्र आज हुदै

काठमाडौं । फिफा विश्वकप फुटबलको समुह चरणको ड्र आज हुदैछ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा विश्वकपको समुह चरणको ड्र नेपाली समय अनुसार आज राति १०: ४३५ बजेदेखि हुदैछ ।

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

अहिलेसम्म विश्वकपमा छानिएका देशहरुमा एशियाबाट अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान गरी ८ देश रहेका छन् । त्यस्तै अफ्रिकाबाट अल्जेरिया, केप भार्डे, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया गरी ९ देश रहेका छन् । त्यस्तै उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, मेक्सिको र क्यानडा आयोजकको रुपमा छनौट भएका छन् भने कुराकाको, हैटी र पानामा गरि ६ देश छनौट भएका छन् । त्यसैगरी दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, इक्वेडर, पराग्वे र उरुग्वे गरी ६ देश छनौट भएका छन् ।

त्यसैगरी ओसियानाबाट न्यूजील्याण्ड छनौट भएको छ भने युरोपबाट अस्ट्रिया, बेल्जियम, क्रोसिया, इङल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्डस, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन र स्वीजरल्याण्ड गरी १२ देश छनौट भएका छन् ।

२०२२ को विश्वकप खेलेका २६ देश यस विश्वकपमा छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन् । त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन् ।    

हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाय १९ मा हुने छन् ।

Read More

भारतमा शुक्रबार मात्र इन्डिगोका ४०० उडान रद्ध

काठमाडौँ । भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो लगातार चौथो दिन पनि चालक दलका सदस्यहरू (पाइलटहरू र अन्य उडान कर्मचारीहरू) को अभावसँग जुधिरहेको छ ।

यसका कारण शुक्रबार दिल्ली, बेंगलुरु, पुणे र हैदराबाद लगायत धेरै विमानस्थलहरूमा ५०० भन्दा बढी उडानहरू रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दिल्लीमा सबैभन्दा धेरै २२५ उडानहरू रद्द गरिएका छन् । इन्डिगोले शुक्रबार रातिसम्म दिल्ली विमानस्थलबाट प्रस्थान गर्ने सबै घरेलु उडानहरू रद्द गरेको छ । बेंगलुरुमा १०२, पुणेमा ३२ र हैदराबादमा ३२ उडानहरू रद्द गरिएका छन् । उडान रद्द र ढिलाइका कारण देशभरका हजारौं यात्रुहरू कठिनाइको सामना गरिरहेका छन् । धेरै विमानस्थलहरूमा, मानिसहरू २४ घण्टासम्म उडानहरूको लागि पर्खिरहेका छन्, सिँढी र कुर्सीहरूमा बसेर रात बिताउन बाध्य छन् । 

यसैबीच, इन्डिगोले फेब्रुअरी १०, २०२६ सम्म उडान शुल्क समय सीमा नियमहरूबाट छुटको लागि नागरिक उड्डयन महानिर्देशनालयलाई अपील गरेको छ । कम्पनीले तीन महिना भित्र आफ्नो सञ्चालन सामान्यमा फर्किने आश्वासन दिएको छ ।

यसअघि महानिर्देशनालयका अधिकारीहरूले बिहीबार इन्डिगो एयरलाइन्सका अधिकारीहरूसँग भेट गरेका थिए । एयरलाइन्सले आफ्नो ए ३२० फ्लीटको लागि उडान शुल्क समय सीमा का केही प्रावधानहरू अस्थायी रूपमा छूट गर्न अनुरोध गरेको र सञ्चालन सामान्यीकरण गर्न तीन महिना लाग्ने बताएको थियो ।

महानिर्देशनालयले इन्डिगोलाई सुधारका धेरै प्रमुख पक्षहरूलाई सम्बोधन गर्न आग्रह गरेको छ । महानिर्देशनालयले इन्डिगोलाई चालक दल भर्ती, प्रशिक्षण रोडम्याप, रोस्टर पुनर्संरचना, सुरक्षा योजना प्रदान गर्न र प्रत्येक १५ दिनमा प्रगति रिपोर्ट पेश गर्न आग्रह गरेको छ । इन्डिगोले यात्रुहरूसँग माफी माग्दै चाँडै सञ्चालन पुनर्स्थापित गर्न काम गरिरहेको बताएको छ ।

Read More

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन राजनीतिक दललाई निवेदनको आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

शुक्रबार आयोगले सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपरान्ह ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न आव्हान गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार  राजनीतिक दलहरूले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने र उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले सुचनामा जनाएको छ ।

Read More

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।

त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आवद्ध गरी सञ्चालनमा ल्याइएको छ । अब उक्त सबस्टेसनहरु मिनभवनस्थित प्राणिकरणको भवनमा बनाइएको नियन्त्रण कक्षबाट सञ्चालन गरिएको छ । स्वचालित रुपमा सबस्टेसन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

स्यूचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु गरी बाँकी ६वटा सबस्टेसन दुई महिनाभित्र स्वाचालित प्रणालीमा आवद्ध गरिनेछ । स्वचालित सबस्टेसन स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण तथा डाटा प्राप्ति मार्फत आवद्ध हुनेहुँदा यसबाट एकीकृत प्रणाली सञ्चालन थप मजबुत र स्थिर हुनेछ ।  

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सबस्टेसन पूर्ण रुपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत अवरोध न्यून हुने, वास्तविक समयको तथ्याङ्क प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताए । उनले स्वचालित बनेपछि क्रमिक रुपमा मानवरहित अवस्थामा अर्थात भौतिक रुपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नु नपर्ने बताए । 

एशियाली विकास बैंक (एडिबी)को विद्युत प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनलाई स्वचालित बनाइएको छ । समग्र आयोजनाको लागत करिब ६१ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेसन स्वचालित बनाउन एडिबीको सहुलितपूर्ण ऋणमा काम भइरहेको छ । उक्त काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि सम्पूर्ण ग्रिड सबस्टेसन स्वचालित हुनेछन् ।

Read More

असिम मुनीर पाकिस्तानको पहिलो रक्षा बल प्रमुख नियुक्त

काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले फिल्ड मार्शल असिम मुनीरलाई देशको पहिलो रक्षा बल प्रमुख नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहबाज शरीफले फिल्ड मार्शल असिम मुनीरको नियुक्तिको बारेमा राष्ट्रपतिलाई गरेको सिफरिसको आधारमा राष्ट्रपति जारदारीले नियुक्त गरेको जियो न्यूजले उल्लेख गरेको छ । दुवै पदमा असिम मुनीरको कार्यकाल पाँच वर्षको हुनेछ । असिम मुनीरले २०३० सम्म दुवै पदमा रहनेछन् ।

यसबाहेक, राष्ट्रपति जरदारीले वायुसेना प्रमुख एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धुको कार्यकाल दुई वर्षको लागि बढाउने प्रस्तावलाई अनुमोदन गरेका छन् ।

पाकिस्तानमा कानुन संशोधन गरेर संघीय रक्षा बल बनाउने व्यवस्था गरिएको थियो ।  संघीय सरकारले रक्षा बल प्रमुखको सिफारिसमा जारी गरिएको लिखित आदेश अन्तर्गत सेना प्रमुखको शक्ति प्रयोग गर्न उप-प्रधान सेनापति वा उप-प्रधान सेनापतिलाई अधिकार दिन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै संघीय सरकारले रक्षा दल प्रमुखको विशिष्ट कर्तव्य र जिम्मेवारीहरू निर्धारण गर्ने, जसमा बहु-डोमेन एकीकरण, पुनर्संरचना, र सशस्त्र बलहरूमा संयुक्तता सुनिश्चित गर्ने लगायतका विषयहरु रहेका छन् ।

Read More

मधेशमा सरकार बनाउने समय आज सकिदै, कांग्रेसको नेतृत्वमा सरकार बन्दै

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समयसीमा आज ५ बजेसम्म रहेको छ । समय नजिकिदै गएपछि दलहरुले गठबन्धन बनाएर सरकारमा दाबि पेश गर्न छलफल तिब्र पारेका छन् ।

विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपची मुख्यमन्त्री सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।

मधेश प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।  प्रदेश प्रमुखको आह्वानलगत्तै मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका हुन् । 

सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी रहेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ । त्यसैगरी लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने लोसपाको अडान रहेको छ ।

विहिबार रातिसम्म भएको छलफलमा मुख्यमन्त्रीको नाममा सहमति भएको दाबि गरिएको छ तर नाम भने गोप्य राखिएको छ । कांग्रेसका नेता यादवलाई मुख्यमन्त्री बनाउन लोसपा बाहेकाका अन्य ६ दल सहमत भएको बताइएको छ ।

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपा बाहेकका सात दल गठबन्धन बनाएर सरकार बनाउने तयारीमा रहेका छन् ।     

मधेश प्रदेशमा एमाले २४, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, लोसपा र माओवादी केन्द्रको ९-९, एकीकृत समाजवादीको ७ तथा संघीय समाजवादी, नाउपा र राप्रपाको एक एक सिट रहेको छ ।

मधेशमा राजनीति अस्थिर हुदा तीन वर्षमा पाँचौं मुख्यमन्त्री पाउने भएको छ । २०७९ सालको निर्वाचनपछिका ३६ महिनामा मधेश प्रदेश सरकारबाट चार मुख्यमन्त्री बनिसकेका छन् । 

Read More

फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।

तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ ।

सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । रेलिङमा उनी अडेस लागेकी छन् । जहाँ उनी तनावमा छिन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।

अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । यहाँ उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ । ग्रिस्मा कटुवाललाई पनि पोस्टरमा देखिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् ।

पोस्टरमा निलो लाइट छ, यो कलरले चलचित्रको नामको टोन दिने प्रयास गरेको छ । पोस्टरले आशा र निराशाबीचको कथा अथवा उताचढावपूर्ण जिन्दगीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदै छ । उनको यो डेब्यु निर्देशन हो । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा  बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।

आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

Read More