२०८३ बैशाख १३

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महरलाई प्रहरीले पक्राउ गरेको छ ।

भिम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ । 

Read More

बक्स अफिस रिपोर्ट: परानको कमाई करिब १७ करोड

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर २० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ९८ हजार ३०९ टिकट बेचेको छ ।

त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ ।

त्यसैगरी जारी-२ ले अहिलेसम्म ६ करोड २३ लाख ६९ हजार २०० ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल २ लाख ७ हजार ७१४ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४५ हजार ५९ टिकट बिक्रि गरेको छ ।

त्यस्तै यस साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ कमाई गरेको छ भने यस अवधिमा हर्षका ८ हजार ४३६ टिकट बिक्री भएका छन् ।

Read More

सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित चार जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसमेत ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले समुहको खाताबाट आफूखुशी रकम निकालेर खर्च गरेको आरोपमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषाध्यक्ष धनसरी राना, तत्कालीन सचिव राम कुमारी राना र दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध ९ लाख ६५ हजार ८७३ रकम दुरुपयोग गरेको भन्दै बिगो र कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

Read More

राष्ट्र बैंकले बनाएको ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ मा माग्यो सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन गर्न एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ तयार गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा लागु गर्न तयार गरेको मार्गदर्शनमा रे तथा सुझाव मागेको छ ।

राष्ट्रबैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उल्लेखनीय गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै वित्तीय क्षेत्रका लागि विभिन्न जोखिम र चुनौतीहरू पनि प्रस्तुत गर्दै नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको बताएको छ । वित्तीय संस्थाहरूले सञ्चालन गर्ने तरिकालाई पुन: आकार दिने यसको सम्भावनालाई ध्यानमा राख्दै, नेपाल राष्ट्र बैंक (एनआरबी) ले यसको प्रयोगमा स्पष्ट निर्देशन प्रदान गर्ने महत्त्वलाई मान्यता दिएको बताएको छ । यी दिशानिर्देशहरू नेपालमा नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थाहरू (एलआई) लाई एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगतर्फ मार्गदर्शन गर्ने उद्देश्य रहेको बताएको छ ।

यसको उद्देश्य वित्तीय संस्थाहरूलाई वित्तीय प्रणाली भित्र निष्पक्षता, जवाफदेहिता र स्थिरता सुरक्षित गर्दै एआईको फाइदा उठाउन सक्षम बनाउनु रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०२४/२५ को मौद्रिक नीतिको घोषणापछि यो आर्टिफिसियल इन्टेलिजेन्स दिशानिर्देश जारी गरेको उल्लेख गर्दै दिशानिर्देशहरूले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू पालना गर्ने बताएको छ ।

राष्ट्र बैंकद्वारा नियमन गरिएका एलआईहरूको लागि डिजाइन गरिएका यी दिशानिर्देशहरूको उद्देश्य वित्तीय स्थिरता, अखण्डता र सञ्चालन लचिलोपन सुनिश्चित गर्दै दक्षता, नवीनता र ग्राहक अनुभव बढाउने तरिकाले एआई प्रविधिहरू अपनाउने प्रवर्द्धन गर्नु, एलआईहरूमा एआइ आवेदनहरू पारदर्शी, व्याख्यायोग्य, निष्पक्ष र जवाफदेही छन् भनी सुनिश्चित गर्नु, एआईसँग सम्बन्धित जोखिमहरूलाई न्यूनीकरण गर्नु, जनसंख्याको सबै वर्गहरूलाई पहुँचयोग्य र किफायती वित्तीय सेवाहरू प्रदान गर्न एआईलाई लाभ उठाउने प्रतिस्पर्धात्मक र समावेशी वित्तीय क्षेत्रलाई बढावा दिने रहेका छन् ।

Read More

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा  भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।

Read More

महिनावारी स्वाभाविक प्रक्रिया हो, कुनै पनि बहानामा विभेद स्वीकार्य हुदैन- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा सबै महिला तथा किशोरीका साथै यस क्षेत्रमा क्रियाशील अधिकारकर्मी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले महिनावारी एक स्वाभाविक, जैविक र सम्मानित प्रक्रिया भएको भन्दै दुर्भाग्यवश आज पनि कतिपय समाजमा मौनता, लज्जा र विभेदको माध्यम बनाइएको उल्लेख गरेकी छन् । 

उनले भनेकी छन्- ‘अहिले विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस अभियानले पनि स्मरण गराउँछ कि महिनावारी विभेद एक किसिमको लैंगिक हिंसा नै हो।कतै देखिने र कतै नदेखिने गरी विश्वका धेरै ठाउँमा कुनै न कुनै रूपले यो विभेद विद्यमान छ । कुनै पनि प्रकारको विभेदपूर्ण एवं हानिकारक प्रथा, विश्वास वा परम्परा कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन। नेपाल सरकारले महिनावारीलाई मर्यादा, सम्मान, समानता र अधिकारको विषयका रूपमा स्थापित गर्न प्रतिबद्धता व्यक्त गर्दै त्यसअनुरूपका कानुन, नीति र कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।’

प्रधानमन्त्री कार्कीले यसै सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मर्यादित महिनावारी निर्देशिका तयारीको अन्तिम चरणमा पुऱ्याएको छ, जसले विद्यालय, परिवार, समुदाय, कार्यस्थल र सार्वजनिक स्थलमा सम्मानजनक र सुरक्षित वातावरण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।

उनले राष्ट्रिय सभाले सर्वसम्मत रूपमा पारित गरेको मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव नेपालको नीति-दिशालाई स्पष्ट रूपमा अगाडि बढाएको ऐतिहासिक कदम भएको उल्लेख गर्दै सरकारले यस संकल्प प्रस्तावको भावना र मानव अधिकारका विश्वव्यापी मान्यताअनुसार कानुनी, नीतिगत, संरचनागत र व्यवहारगत सुधारहरूलाई तीव्र गतिमा अघि बढाउने बताएकी छन् ।

उनले नागरिक समाजसँगै अब राजनीतिक संगठनहरुले पनि यसलाई आफ्नो मुद्दा बनाउनुपर्छ र प्रत्येक आमा, छोरी, दिदी र बहिनी आत्मसम्मान एवं मर्यादायुक्त व्यवहारका लागि लायक छन् भन्ने मान्यता स्थापित गर्नुपर्ने बताउदै महिनावारीलाई सम्मान, स्वास्थ्य, समानता र अधिकारको विषय बनाउनुपर्ने उल्लेख गरेकी छन् । 

उनले महिनावारीका कारण अपमानित, बहिष्कृत वा हिंसामा पर्नुपर्ने अवस्था अन्त्य गर्न यस दिवसले भूमिका खेल्न सकोस् भन्ने कामना गरेकी छन् ।

Read More

नेटफ्लिक्स र वार्नर ब्रदर्सबीचको सम्झौताप्रति ट्रम्पको चिन्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्नर ब्रदर्सको चलचित्र स्टुडियो र एचबीओ स्ट्रिमिङ नेटवर्क प्राप्त गर्न नेटफ्लिक्सले प्रस्ताव गरेको ७२ अर्ब डलरको सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन् ।

ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा विशाल रहेको र दुई कम्पनीहरूको संयुक्त आकार समस्या हुन सक्ने टिप्पणी गरेका हुन् ।

शुक्रबार, दुई कम्पनीले उनीहरूले ‘ह्यारी पोटर’ र ‘गेम अफ थ्रोन्स’ जस्ता फ्रान्चाइजीको मालिक वार्नर ब्रदर्स नेटफ्लिक्सले किन्ने सम्झौता भएको थियो ।

यो प्रस्तावित सम्झौताले उद्योगका केही मानिसहरूमा चिन्ता बढाएको छ । यद्यपि, प्रतिस्पर्धा अधिकारीहरूले सम्झौतालाई अझै अनुमोदन गरेका छैनन् ।

नेटफ्लिक्स १९९७ मा डीभीडी भाडा व्यवसायको रूपमा सुरु भएको थियो । यो आज संसारको सबैभन्दा ठूलो सदस्यता स्ट्रिमिङ सेवा बनेको छ । यो सम्झौताले नेटफ्लिक्सको स्थितिलाई अझ बलियो बनाउने दाबी गरिएको छ ।

Read More

प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको निधन

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ ।  मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धर राष्ट्रिय धान चामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको नायब महाप्रबन्धक, धान चामल निर्यात कम्पनीको महाप्रबन्धक बनेका थिए ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंकहुँदै प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवानिवृत्त भएका थिए ।

Read More

सुदूरपश्चिम रोयल्सले भित्र्यायो भारतीय खेलाडी शेल्डन ज्याक्सन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएपनि टिमले खेलाडी भित्र्याउनेक्रम रोकेका छैनन् ।

यसैक्रममा प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्सले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सनलाई भित्र्याएको छ । सुदूरपश्चिमले ३९ बर्षिय ज्याक्सनलाई भित्र्याएको घोषणा गरेको हो । 

सुदूरपश्चिमबाट लिग चरणमा खेलेका दुई अस्ट्रेलियन खेलाडी क्रिस लीन र जोश ब्राउन बिदा भएपछि नयाँ खेलाडी ज्याक्सनलाई भित्र्याएको हो । क्रिस लिन इन्जुरीका कारण खेल्न नसक्ने भएका हुन् भने ब्राउन बिग बाश लिग खेल्न गएका हुन् ।

ज्याक्सनले भारतको सौराष्टबाट रणजी ट्रफीलगायतका घरेलु क्रिकेट खेल्ने गर्दछन । उनले फस्ट क्लास क्रिकेटमा ७ हजार भन्दा बढी रन बनाएका छन्, जसमा २१ शतक सामेल छन् । त्यस्तै उनले कोलकोता र बैंगलुरुबाट आइपिएलसमेत खेलेका छन् ।

Read More

तीन दिनमा सय करोड क्लबमा रणवीर सिंहको ‘धुरन्धर’

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ ले घरेलु बक्स अफिसमा तुफान ल्याएको छ ।

धुरन्धरले तीन दिनमा सय करोड कमाई गरेको छ । फिल्मले शुक्रबार २८ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन शनिबार ३२ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले तेस्रो दिन आइतबार ४० करोड कमाई गरेको छ । 

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More