२०८३ बैशाख १३

बैंकको धितो सकार गर्ने व्यवस्थामा परिमार्जन, तीन पटक लिलामी प्रक्रिया गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितो सकार गर्ने व्यवस्थामा परिमार्जन गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा धितो सकार गर्दा तीन पटकसम्म बिक्री प्रयास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए आफैंले सकार गर्दै आएका थिए ।

राष्ट्र् बैंकले गरेको परिमार्जनमा उल्लेख छ:
इजाजतपत्रप्राप्त संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछ । कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैँले सकार गर्नुपर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नु पर्नेछ । यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा- नोक्सान हिसावमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नु पर्नेछ । तर, यसरी मूल्याङ्कन गर्दा त्यस्तो गैर बैंकिङ्ग सम्पत्ति वापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा-नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैर बैंकिङ्ग सम्पत्ति वापतको नोक्सानी व्यवस्थामा सार्नु पर्नेछ ।

Read More

माधव नेपालविरुद्धको मुद्धाको आज सुनुवाई हुदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेशी तोकिएको छ ।

नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो । भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिले ठहर गरेको थियो । 

नेपाल गत असारमा विशेष अदालतले तोकेको ३५ लाख धरौटी रकम तिरेर रिहा भएका थिए ।

Read More

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ३९औँ वार्षिक साधारण सभा सम्पन्न: ३ अर्ब नाफा, १९% नगद लाभांश दिने

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सोमबार आफ्नो ३९औँ वार्षिक साधारण सभा (AGM) सम्पन्न गरेको छ।

सभाको अध्यक्षता बैंकका अध्यक्ष भेनुगोपाल रंगनाथनले गरेका थिए । सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा बैंकले आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को सशक्त वित्तीय कार्यसम्पादन प्रस्तुत गरेको थियो । बैंकले यस अवधिमा ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा र ३ अर्ब रुपैयाँ खुद नाफा (कर पछिको) आर्जन गरेको जनाएको छ। बैंकको इक्विटीमा प्रतिफल (ROE) १४.३ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी (EPS) ३० रुपैयाँ पुगेको छ, जसले बैंकको वित्तीय स्थिरता र मजबुत रहेको स्पष्ट पार्दछ ।

सभाले सञ्चालक समितिको सिफारिस अनुसार भुक्तानी पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ। यसले पछिल्ला तीन वर्षदेखि निरन्तर स्थिर नगद लाभांश वितरण गर्ने बैंकको प्रतिबद्धता झल्काएको बैंकले जनाएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले भने: “नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो विविधतामार्फत व्यापार र समृद्धिलाई अघि बढाउने उद्देश्यमा निरन्तर काम गरिरहेको छ।” उनले थपे, “२०८२ असार मसान्तसम्मको भुक्तानी पुँजीका आधारमा १९ प्रतिशत नगद लाभांश सिफारिस गरिएको हो, जुन पछिल्ला तीन वर्षदेखि स्थिर रूपमा कायम छ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सार्वजनिक शेयरधनीको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ। बैंकले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

उल्लेखनीय रूपमा, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंक हो। बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा ICRA नेपालबाट ICRANP-IR AAA रेटिङ प्राप्त गरेको छ, जुन लगातार छैटौँ वर्षसम्म कायम रहेको छ।

Read More

नेता उपाध्याक्षको निधनमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको केन्द्रीय समितीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै  

तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रीय समितिको बैठकले १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएका ९१ बर्षिय उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ । 

विसं २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । वि.सं. २०५६ मा शिक्षा तथा खेलकूद मन्त्री भएका थिए भने २०६२-०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनस्र्थापित व्यवस्थापिका संसदको सदस्य बनेका थिए । त्यसैगरी २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका उपाध्यायले २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकको भूमिका निभाएका थिए ।

Read More

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन: नेपालगञ्जमा दिपल S05 र नामी भिगो सार्वजनिक

काठमाडौँ । नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा विद्युतीय मोबिलिटी विस्तारलाई थप गति दिँदै नेपालगञ्जमा दिपल S05 र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ।

उक्त लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा FNCCI नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथिका रूपमा FNCCI कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई सहभागी थिए ।

एमएडब्लू ग्रुपको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकरिया, प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीईओ ज्ञानेन्द्र चन्द उपस्थित थिए । पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको प्रतिबद्धता दोहोर्याए ।

यस वर्षकै चर्चित विद्युतीय SUV मध्ये एक डीपल S05 मा CATL गोल्डेन शिल्ड ब्याट्री सिस्टम 2.0, जिरो–ग्राभिटी सिट, AR-HUD, १४.४ इन्च टचस्क्रिन, रिमोट पार्किङ तथा पूर्ण कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू छन्। यस्तै, डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ kW मोटर, ३५० किमीसम्म WLTP रेञ्ज, फास्ट चार्जिङ, लेभल–२ ADAS र आकर्षक ‘म्याजिक क्युब’ डिजाइन रहेको छ।

डीपल S05 को मूल्य रु. ५६.९९ लाखदेखि सुरु हुने भए पनि नेपालगञ्जका लागि विशेष लन्च अफरअन्तर्गत रु. ५५.९९ लाखदेखि उपलब्ध हुनेछ। नामी भिगो E2 र E2+ भेरियन्ट पनि विशेष छुटसहित क्रमशः रु. ३७.९९ लाख र रु. ४०.९९ लाखमा उपलब्ध गराइएको छ।

साथै, ग्राहकका लागि विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रमसमेत सुरु गरिएको छ।

Read More

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी अघि बढिरहेका छौं- गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् ।   

सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको कास्की पोखरामा उद्दघाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फाल्गुन २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोहि बमोजिम तयारी भईरहेको बताएका हुन् ।

 गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुभारम्भ गर्दै मन्त्री अर्यालले स्वतन्त्र विश्वसनीय निष्षक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकिकृत सुरक्षा योजना-२०८२ स्वीकृत भई सोहि बमोजिम कार्य भईरहेको व्यहोरा बताएका छन् । 

उनले फरार कैदी बन्दीका सम्बन्धमा  कुल फरार कैदीमध्ये ठुलो संख्यामा करिब करिब ७० प्रतिशत कैदी बन्दी हाल फिर्ता आईसकेको  र बाँकी पनि आउने क्रममा रहेको र यसका लागि गृह प्रशासनले चनाखो भई काम गरिरहेको बताए । भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये हाल सरकारले सबै प्रदेशमा यस्तो सुरक्षा गोष्ठी गर्नु पनि एक प्रमुख कारण भएको बताउँदै, यस सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले गरे । 

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अहिले सरकारबाट नै तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउंदै निर्वाचन हुँदैन र सो को वातावरण बनेको छैन भन्नु भनेको पुनः देशलाई राजनीतिक अस्थिरता तर्फ धकेल्नु भएको बताए । 

हाल देशमा धेरै भन्दा धेरै फरार कैदी बन्दी अझै बाहिर रहनु र लुटिएका हतियारको जफत नहुनाले राजनीतिक दलहरुप्रति चुनाव विश्वस्त वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले फेरी यसैलाई प्रमुख मुद्दा बनाएर अघि बढ्दा निर्वाचनको वातारण झनै बिग्रने बताए ।        

गण्डकी प्रदेश अन्तर्गतका गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, म्याग्दी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ११ वटा जिल्लाहरु पर्दछन्।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरे, नेपाली सेनाका बलाध्यक्ष रथी गणेश श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेना, पश्चिम पृतना हेडक्वार्टरका पृतनापति (उपरथी) मधुकर सिंह कार्की, गृह मन्त्रालय, विपद् तथा द्वन्द्व महाशाखा प्रमुख, गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, प्रदेश सचिवहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुको थियो ।

Read More

एमालेको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्ने

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।

आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

यसैबीच पार्टीको संगठनमा पकड हुने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ । 

ओली पक्षबाट महासचिवमा पोखरेल दोहोरिएका छन् । महासचिवमा ओली पक्षबाट प्रदीप ज्ञवालीले महासचिवमा दाबि गरेपनि ओली आफ्ना विश्वासपात्र मानिएका पोखरेलकै पक्षमा गएका छन् । ओलीले यसअघि उपमहासचिव रहेका ज्ञवालीलाई उपाध्यक्षमा बढुवा गरेका छन् ।

त्यस्तै ईश्वर पोखरेल पक्षले भने महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडी सारेको छ । अब पार्टीको हाइप्रोफाइल पद महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।

अहिले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका लागि फारम वितरण शुरु गरिसकेको छ भने उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

Read More

अमेरिकाको एच-१ बी र एच-४ भिसा आवेदकको सामाजिक सञ्जाल प्रोफाइलको छानबिन आजदेखि लागु

काठमाडौँ । अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले आजदेखि एच-१ बी भिसा र आश्रित एच-४ भिसा आवेदकहरूको लागि कडा स्क्रिनिङ प्रक्रिया लागू गरेको छ । यस प्रक्रियाको एक भागको रूपमा, यी भिसा कोटीहरूका लागि सबै आवेदकहरूको अब उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलहरूको छानबिन गरिनेछ ।

अमेरिकी विदेश मन्त्रालयले यो निर्णयले भिसा प्रक्रियालाई अझ कडा र राष्ट्रिय सुरक्षा-अनुरूप बनाउने लक्ष्य राखेको बताएको छ । नयाँ निर्देशन अन्तर्गत, यी सबै वर्गका आवेदकहरूलाई सहज स्क्रिनिङ प्रक्रिया सुनिश्चित गर्न आफ्नो सामाजिक सञ्जाल प्रोफाइलहरूको गोपनीयता सेटिङहरू सार्वजनिक राख्न भनिएको छ ।

विदेश मन्त्रालयका अनुसार,एच-१बी र एच-४ भिसा आवेदकहरूको लागि अब अनलाइन उपस्थिति समीक्षा अनिवार्य हुनेछ । पहिले, यो अभ्यास केवल एफ, एम र जे श्रेणी भिसाहरूमा लागू हुन्थ्यो, जसको अर्थ विद्यार्थीहरू र आदानप्रदान आगन्तुकहरूमा लागु रहेको थियो । विदेश मन्त्रालयले अमेरिकी भिसा अधिकार होइन, तर विशेषाधिकार हो र प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग जोडिएको स्पष्ट गरेको छ ।

मन्त्रालयले कुनै पनि आवेदकले अमेरिकी सुरक्षा वा सार्वजनिक हितमा खतरा नबनोस् भनेर सबै उपलब्ध जानकारी प्रयोग गरिन्छ । यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक भाग हो । प्रशासनले एच- १ बी भिसा कार्यक्रममा कथित दुरुपयोग रोक्न पहिले नै धेरै उपायहरू अपनाएको छ ।

Read More

एमाले महाधिवेशन: ओली पक्षबाट को को बन्दैछन् उम्मेदार ?

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।

आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

एमालेको पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । 

जस अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीमा उम्मेदवार बन्नेको नाम टुंगाएको छ । अध्यक्षमा ओली आफै प्रतिष्पर्धा गर्दैछन् भने उनको समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने भएका छन् । त्यस्तै ओली पक्षबाट महासचिव शंकर पोखरेलनै उम्मेदवार बन्ने निश्चित भएको छ । महासचिवका लागि प्रदीप ज्ञवालीले दाबि गरेपनि उनलाई उपाध्यक्षमा मनाइएको ओली निकट एक नेताले जानकारी दिएका छन् ।

त्यस्तै ओली पक्षको उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम तय भएको छ । त्यस्तै नौं सचिवमा ओली पक्षबाट महेश बस्नेत, डा. राजन भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई र हिक्मत कार्कीको नाम तय भएको छ ।

अहिले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका लागि फारम वितरण शुरु गरिसकेको छ भने उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

Read More

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३८२५ मा कारोबार भएको थियो ।

Read More