काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सोमबार आफ्नो ३९औँ वार्षिक साधारण सभा (AGM) सम्पन्न गरेको छ।
सभाको अध्यक्षता बैंकका अध्यक्ष भेनुगोपाल रंगनाथनले गरेका थिए । सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा बैंकले आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को सशक्त वित्तीय कार्यसम्पादन प्रस्तुत गरेको थियो । बैंकले यस अवधिमा ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा र ३ अर्ब रुपैयाँ खुद नाफा (कर पछिको) आर्जन गरेको जनाएको छ। बैंकको इक्विटीमा प्रतिफल (ROE) १४.३ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी (EPS) ३० रुपैयाँ पुगेको छ, जसले बैंकको वित्तीय स्थिरता र मजबुत रहेको स्पष्ट पार्दछ ।
सभाले सञ्चालक समितिको सिफारिस अनुसार भुक्तानी पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ। यसले पछिल्ला तीन वर्षदेखि निरन्तर स्थिर नगद लाभांश वितरण गर्ने बैंकको प्रतिबद्धता झल्काएको बैंकले जनाएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले भने: “नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो विविधतामार्फत व्यापार र समृद्धिलाई अघि बढाउने उद्देश्यमा निरन्तर काम गरिरहेको छ।” उनले थपे, “२०८२ असार मसान्तसम्मको भुक्तानी पुँजीका आधारमा १९ प्रतिशत नगद लाभांश सिफारिस गरिएको हो, जुन पछिल्ला तीन वर्षदेखि स्थिर रूपमा कायम छ।”
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सार्वजनिक शेयरधनीको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ। बैंकले नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
उल्लेखनीय रूपमा, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंक हो। बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा ICRA नेपालबाट ICRANP-IR AAA रेटिङ प्राप्त गरेको छ, जुन लगातार छैटौँ वर्षसम्म कायम रहेको छ।




