२०८३ बैशाख १३

शुक्रबारदेखि काठमाडौंमा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै

काठमाडौँ । काठ, फर्निचर र इन्टेरियर क्षेत्रका नवीनतम प्रविधि, उत्पादन र डिजाइन एकै थलोमा अवलोकन गर्न पाइने ‘११औँ नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो २०८२’ शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा पुस ४, ५ र ६ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनी काठ, फर्निचर र इन्टेरियर उद्योगका लागि नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चको रूपमा स्थापित हुँदै आएको छ।

प्रदर्शनीमा नेपालसहित विभिन्न देशका ख्यातीप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। यहाँ फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, होम टेक्सटाइल, म्याट्रेस, फर्निसिङ सामग्री, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, कच्चा पदार्थ र तयार उत्पादनहरू प्रदर्शन गरिनेछ।

पछिल्ला एक दशकदेखि यो प्रदर्शनी काठ तथा फर्निचर व्यवसायमा संलग्न उद्योगी, डिलर, सब-डिलर र विक्रेताका लागि नयाँ प्रविधि र बजार बुझ्ने महत्वपूर्ण प्लेटफर्म बन्दै आएको आयोजकको भनाइ छ। यस वर्ष पनि आधुनिक मेसिन, प्रविधि र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रत्यक्ष रूपमा अवलोकन तथा जानकारी लिन सकिने अवसर रहनेछ।

आयोजकका अनुसार ११औँ संस्करणको प्रदर्शनीले अन्तर्राष्ट्रिय स्तरमा सफल प्रविधि र उपकरणलाई नेपाली उद्योगमा भित्र्याउने उद्देश्य लिएको छ। यसले साना देखि ठूला उद्योगसम्मलाई आफ्ना मेसिन तथा उत्पादन प्रणाली उन्नयन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएशन नेपाल सहयोगी संस्थाका रूपमा सहभागी छन्।

त्यसैगरी इन्टेरियर डिजाइनर एसोसिएशन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचर तथा उद्योगसँग सम्बन्धित विषयमा दुई दिने सेमिनार तथा गोष्ठी समेत आयोजना गरिनेछ।

घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि अनुभवी आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरसम्मका लागि उपयोगी हुने यो प्रदर्शनीले नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको आधुनिकीकरण र प्रविधि विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Read More

बलिवुड फिल्म धुरन्धर १२ दिनमा चार सय करोड क्लबमा

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको १२ दिनमा चार सय करोडको आँकडा पार गरेको छ ।

पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा कीर्तिमानी कमाई गरिरहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो भने दोस्रो शनिबार ५३ करोड ७० लाख कमाएको छ । त्यस्तै फिल्मले आइतबार मात्र ५८ करोड २० लाख, सोमबार ३१ करोड ८० लाख र मंलगबार ३२ करोड १० लाख कमाई गरेको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ४२८ करोड ५० लाख भारु कमाएको छ ।

फिल्मले पहिलो साताको पहिलो तीन दिन भन्दा दोस्रो साताको पहिलो तीन दिनमा बढी कमाई गरेको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ ।       

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

एमालेको महाधिवेसन स्थल भृकुटीमण्डपमा ओली (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

आज बिहान ९ बजेर २० मिनेटदेखि शुरु भएको मतदानमा जारी रहेको छ । नेकपा एमालेको ११औ महाधिवेसन स्थल भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँग भलाकुसारी गरिरहेका छन् । उनी गायिका ज्योति मगरसँग कुरा गरिरहेको देखिएका छन् ।    

जारी मतदानमा एक जनालाई मतदान गर्न २० मिनेट लागिरहेको र एक पटकमा ८० जनाले मतदान गरिरहेको बताएका छन् । २२६३ मतदाता रहेकोकाले मतदान गर्न राति ९ बजेसम्म नै लाग्ने देखिएको छ ।

यसअघि एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका थिए । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

Read More

निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् ।  

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाएको बताउदै निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी हुन् । 

उनले भनिन्- ‘ निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो ।’ 

प्रधानमन्त्री कार्कीले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेठो स्थानीय तहको रुपमा रहेको ललितपुर महानगरपालिका स्थापनाको १०७ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सबैलाई शुभकामना दिदै ललितपुर उमेरले मात्र जेठो छैन, कलात्मक सम्पदाहरुमा पनि जेठो रहेको बताएकी छन् । 

पाटन आफैँमा नेपाली सभ्यता र सौन्दर्यको जीवित संग्रहालय भएको उल्लेख गर्दै उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराउने र यहाँका पुर्खाहरुले छाडेर गएका सम्पदाहरुमा श्रद्धा, साधना र संस्कृतिका सजीव अभिव्यक्ति रहेको बताइन ।

उनले भनिन्- ‘यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँट, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको छ। यहाँका झ्याल, ढोका, टुँडाल, गजुर र तोरणहरुले पुर्खाको सीप र सौन्दर्यचेत बोल्दछन्। यहाँका पौभा र थांकाले देशको सिमानाभन्दा निकै परसम्म मितेरी साइनो गाँसेका छन् । बौद्ध र हिन्दू परम्परा यहाँ एकअर्कासँग हातेमालो गर्छन्। विहार र मन्दिरहरू केवल पूजास्थल मात्र होइनन्, शिक्षाका धरोहर पनि हुन्। त्यसैले ललितपुर एक ऐतिहासिक कालदेखि नै ज्ञान, धर्म र सहिष्णुताको केन्द्र रहँदै आएको छ । यी धरोहरको संरक्षण, संवर्धन र पुनर्निर्माणमा यहाँको स्थानीय सरकार र समुदायले गरेको अथक प्रयास प्रशंसनीय छ ।’

प्रधानमन्त्री कार्कीले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताउदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्ने र त्यो जिम्मेवारी र जवाफदेहितामा ललितपुर महानगरले आफूलाई अब्बल सावित गर्न सकेको बताइन ।

Read More

एमाले महाधिवेशन: अहिलेसम्म साढे ३ सयले गरे मतदान

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

आज बिहान ९ बजेर २० मिनेटदेखि शुरु भएको मतदानमा अहिलेसम्म ३५० जनाले मतदान गरिसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनले एक जनालाई मतदान गर्न २० मिनेट लागिरहेको र एक पटकमा ८० जनाले मतदान गरिरहेको बताएका छन् । २२६३ मतदाता रहेकोकाले मतदान गर्न राति ९ बजेसम्म नै लाग्ने देखिएको छ ।

गौतमले मतदान सकिएको तीन घण्टाभित्र परिणाम घोषणा गर्ने तयारी रहेको जानकारी दिएका छन् ।

यसअघि एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका थिए । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

Read More

गएको वर्ष काठमाडौँ महानगरभित्र ३० हजार ७७९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौँ । काठमाडौँ महानगरभित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् ।

महानगरले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३२२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको हो । यस्तै संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरुका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो । 

यस वर्ष ३९ वटा विद्यालयहरुले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे । ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरे । 

शिक्षातर्फ यस वर्षका लागि ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपियाँ खर्च भयो । यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार रुपियाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपियाँ खर्च भयो । गरी खाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ६० करोड रुपियाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपियाँ अर्थात् ८.४ प्रतिशत खर्च भयो । शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपियाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपियाँ खर्च भयो । 

पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भए । शिक्षामा सिप कार्यक्रम अन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरे । ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरियो । सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरियो । यस्तै १ हजार ४३ जना शिक्षकहरुको क्षमता विकास कार्यक्रम सम्पन्न भयो । प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नति भएपछि बाल भर्नामा आकर्षण बढेको, एसईई परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको, पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमबाट बालबालिकाको सिर्जनात्मकता र सिप विकासमा वृद्धि भएको, सुन्दर विद्यालय परियोजनामार्फत विद्यालयहरुको भौतिक तथा वातावरणीय अवस्थामा सुधार भएर विद्यालयहरु स्वच्छ, सफा र हरियाली हुँदै जानुलाई विभागले प्रगति मानेको छ ।  यस्तै दिवा खाजा तथा छात्राका लागि सेनिटरी प्याड वितरण गरेपछि विद्यार्थीहरुको उपस्थिति संख्या बढेको, कक्षाहरु सूचना प्रविधिमा आधारित हुँदै गएको, प्राविधिक धारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय स्तरबाटै पहुँच पुगेको, नियमानुसार संस्थागत विद्यालयहरुले प्रदान गर्नु पर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन यस वर्षका मुख्य उपलब्धि हुन्, विभागले भनेको छ । 

महानगरभित्र आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा,  वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरु ७८४ वटा छन् । 

प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरे । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरे । माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४५५ जना विद्यार्थीले अध्ययन गरे । 

यस वर्ष सामुदायिक विद्यालयहरुमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरुमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरे ।

महानगरपालिकाभित्र २०९ जना सहजकर्ता, ८७ जना आया, ८७ जना विद्यालय सहयोगी, ५८ जना विद्यालय सहायक कर्मचारी, ७०५ जना प्राथमिक शिक्षक, ४३७ जना निम्न माध्यमिक शिक्षक, माध्यमिक तह कक्षा ९ र १० का लागि ४०५ जना, कक्षा ११ र १२ का लागि ४३ जना, प्राविधिक धारका प्रशिक्षक ९९ जना, भाषा सहायक १७३ जना गरी २ हजार ३०३ जना जनशक्ति छन् ।

Read More

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सांसदको रिट संबैधानिक इजलासमा सुनुवाई हुदै

काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । 

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ७ जनाका तर्फबाट पेश गरिएको रिटमाथि आज संबैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।

मङ्सिर २३ गते दर्ता भएको यस रिटको सुनुवाई प्रधान्यायाधिश प्रकाशमान सिंह राउत, न्यायाधिशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोज कुमार शर्मा र नहकुल सुवेदीको संबैधानिक इजलासमा पेसी तोकिएको छ ।     

योसँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुईवटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ रिट दर्ता भएर विचाराधीन छन् । यस अघि नेकपा एमाले र अन्य १७ थान निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ । कांग्रेसका तर्फबाट पेस भएको रिट पनि दर्ता भएर पहिलो सुनुवाइ हुँदै लगाबमा राखिने भएको छ । सर्वोच्चले यी सबै निवेदनलाई एकैपटक सुनुवाइ गरेर किनारा लगाउन सक्ने देखिएको छ ।

Read More

इथियोपियामा मोदीलाई सर्वोच्च सम्मान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियालाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ ।

इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् । मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताहरूले द्विपक्षीय बैठक गरेका थिए ।

मोदीको यो इथियोपियाको पहिलो भ्रमण हो । इथियोपियाका प्रधानमन्त्री अहमद अलीले आदिस अबाबा विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । विमानस्थलमा दुई नेताहरूले अनौपचारिक कुराकानी गरेका थिए ।

इथोपियामा विदेशी लगानी पनि द्रुत गतिमा बढिरहेको र भारत सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा रहेको छ । ६१५ भन्दा बढी भारतीय कम्पनीहरूले इथियोपियामा लगानी गरिरहेका छन् । बैठकको क्रममा मोदीले इथियोपियाली विद्यार्थीहरूको लागि छात्रवृत्ति दोब्बर गर्ने घोषणा गरेका थिए ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, चाँदी मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ५९ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ४०५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३८८५ मा कारोबार भएको थियो ।

Read More

टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं- मन्त्री घिसिङ

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । 

राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्धिपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे । 

कञ्चनपुरका शुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे । 

नेपाल—भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ । 

सन्धि बमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ । 

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।

Read More