काठमाडौँ, १२ साउन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण समयमा भएको ढिलाइका कारण विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता भएको छ ।
रङ्गशालाको निर्माणको जिम्मा लिएको हिमालयन-कालिञ्चोक-बिबिआर ज्वाइन्ट भेञ्चर कम्पनीले तीन वर्षअघि सुरु गरेको काम आजसम्म उल्लेख्य प्रगति गर्न सकेको छैन । २०७८ सालदेखि ठेक्का लिएको कम्पनीले ४० प्रतिशत काम गर्नुपर्ने समयसीमा पार हुँदा पनि आर्थिक प्रगति ३ प्रतिशतभन्दा तल छ ।
संघीय सरकारले दिएको २५ करोड रुपैयाँमध्ये ७ करोड ३४ लाख रुपैयाँ खर्च गर्नै नसकिएर फिर्ता भएको छ भने, बागमती प्रदेशले निकासा गरेको १० करोडमध्ये ३ करोड २० लाख रुपैयाँ खर्च हुन सकेन। भरतपुर महानगरपालिकाले छुट्याएको ५ करोड पनि फ्रिज भएको छ ।




