काठमाडौं । शनिबारको इन्द्रजात्रा पर्व विशेष रह्यो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रतिनिधिसभाका सभामुखसम्मको उपस्थिति रहेको थियो । राजधानीको ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजित परम्परागत र भव्य इन्द्रजात्रा अवलोकन गर्न उच्च पदस्थ नेताहरू पुगेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतको इन्द्रजात्रामा उपस्थिति रहेको थियो । त्यस्तै, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) पनि थिए ।
तर दृश्यमा एउटा मानवीय संकेत स्पष्ट देखिन्थ्यो- राष्ट्रपति पौडेललाई मेयर शाहले स्वयं स्वागत गरे, तर प्रधानमन्त्री ओलीको स्वागतका लागि भने उनी प्रस्तुत भएनन् । प्रधानमन्त्री ओलीलाई काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्वागत गरे।
यद्यपि बालेन कार्यक्रमस्थलमै थिए, प्रधानमन्त्री आइपुग्दा उनले औपचारिक भेटघाट या स्वागतका लागि चासो देखाएनन् । यसले शहरी राजनीति र सम्बन्धहरूको पृष्ठभूमिमा केही संकेतपूर्ण ‘दूरी’ देखाएको अनुभूति दिलाएको छ ।
इन्द्रजात्रा भने परम्परागत र सांस्कृतिक रुपमा भव्य रूपमा सम्पन्न भयो। वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी मनाइने यो जात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुन्छ, र आठ दिनसम्म विविध पूजाआजा, नाचगान, रथयात्रासहित मनाइन्छ।
यस मुख्य दिनमा गणेश, भैरव र कुमारीको रथयात्रा परम्परागत ढंगले निकालियो । राष्ट्रपति पौडेलले हनुमानढोकास्थित गद्दी बैठकबाट परम्परागत रूपमा जीवित देवीको दर्शन गरे।
राजतन्त्रकालदेखि चलिआएको यो रीत अहिले गणतान्त्रिक व्यवस्थामा राष्ट्रपतिद्वारा निरन्तरता पाउँदै आएको छ।




