काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले असोज २४ गते १९औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्नेगरी सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शनमा साधारणसभा बोलाएको हो ।
बैंक सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको सो प्रस्ताव साधारणसभाले पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पारित गर्नेछ।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।




