२०८३ बैशाख १३

पेट्रोलियमकै बलमा वीरगञ्ज भन्सारको राजस्व उछाल, दुई महिनामा इन्धनबाट मात्रै ११ अर्ब १८ करोड

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। कार्यालयका अनुसार यस अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र एटिएफ (विमान इन्धन) गरी पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरी रु ११ अर्ब १८ करोड राजस्व संकलन गरिएको हो।

भन्सार कार्यालयले दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर ती पदार्थ आयात गरेको थियो। प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुमध्ये पेट्रोलियम पदार्थको योगदान २८ दशमलव ५६ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान उल्लेखनीय रहेको छ। “यहाँको भन्सार आयातमुखी छ, जसमा पेट्रोलियम पदार्थ र सवारीसाधन दुवैको हिस्सा उच्च छ,” उनले भने।

यातायातका साधन र तिनका पार्टपुर्जाबाट रु ६ अर्ब १४ करोड (१५.६८ प्रतिशत) राजस्व प्राप्त भएको छ भने फलाम तथा फलामजन्य वस्तुहरूबाट रु २ अर्ब ५४ करोड (६.४९ प्रतिशत) राजस्व संकलन भएको छ। साथै, सबै प्रकारका कपडाबाट रु १ अर्ब ९८ करोड (५.०६ प्रतिशत) राजस्व आएको छ।

कुल मिलाएर वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ।