काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बर्दीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने गौतम घिसिङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाई बाग्मती खोलामा साङ्घातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गर्ने जिल्ला दोलखा, शैलुङ गाउँपालिका १ घर भइ काठमाडौं महानगरपालिका ३२ जडीबुटी बस्ने वर्ष ४८ को गौतम घिसिङलाई नियन्त्रण लिइएको छ ।
प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन ८ (आठ) को म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको जनाएको छ । घिसिङ प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूरमा मुद्दा दर्ता भइ फरार रहेको समेत देखिएको प्रहरीले जनाएको छ ।




