काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा खुला प्रतिस्पर्धामार्फत महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग निगमको हालसम्मको प्रगतिबारे जानकारी लिँदै सो निर्देशन दिएकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, निगममा पारदर्शिता र कार्यकुशलता बढाउने उद्देश्यसहित खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। यसका लागि प्रधानमन्त्री कार्कीले यही कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेकी थिइन्। समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयको योजना तथा प्रशासन महाशाखाका प्रमुख सदस्य–सचिवका रूपमा रहेका छन्।
सचिव मैनालीका अनुसार, समितिले कार्यविधि तयार गरिसकेको छ र केही प्रक्रिया पूरा हुन बाँकी छ। उनले केही समय बाहिर जानुपरेको कारण काममा अलि ढिलाइ भएको बताए।
सरकारले निगममा सुशासन, दक्षता र प्रतिस्पर्धात्मक नेतृत्व सुनिश्चित गर्नका लागि नयाँ महाप्रबन्धक छनोटमा पारदर्शी प्रक्रिया अपनाउने तयारी गरेको छ।




