काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गरेका छन् ।
आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, व्यवस्थित र समयमै सम्पन्न गराउन निर्वाचन आयोग सक्रिय रूपमा जुटिरहेका बेला भण्डारीले आज दाहालसँग विशेष भेटवार्ता गरेका हुन् ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको सो भेटमा आयुक्त भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले गर्दै आएको तयारीबारे विस्तृत जानकारी दिए। उनले मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, कर्मचारी प्रशिक्षण, सुरक्षा समन्वयदेखि लिएर मतदान सामग्रीको वितरणसम्मका विषयमा आयोगले अपनाएका कदमबारे अध्यक्षलाई अवगत गराए ।
यस्तै, उनले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पहिले नै सुरु गरिएका पूर्वतयारी, कानुनी प्रक्रिया, आवश्यक व्यवस्थापन र सरोकारवालासँग भइरहेको समन्वयबारे पनि जानकारी गराए ।
राष्ट्रियसभा अध्यक्ष दाहालले निर्वाचन आयोगले देखाएको सक्रियता र तत्परतालाई प्रशंसनीय बताउँदै आगामी निर्वाचनहरू सफल बनाउने वातावरण निर्माणमा आयोगले महत्वपूर्ण योगदान दिएको बताए। उनले भने, “निर्वाचन आयोगको पहलकदमी र उद्यमशील भूमिकाले निर्वाचनका लागि देशमा राम्रो वातावरण बनेको छ। यसको प्रशंसा हुनैपर्छ।”
दाहालले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र सुचारु बनाउने काममा राष्ट्रियसभा संस्था पूर्ण रूपमा सहयोग गर्न तैयार रहेको विश्वास दिलाए।
अध्यक्ष दाहालका अनुसार, लोकतान्त्रिक अभ्यासका लागि विश्वसनीय निर्वाचन प्रक्रिया अपरिहार्य भएकाले सबै पक्षले आफ्नो जिम्मेवारी गम्भीर रूपमा पूरा गर्नुपर्नेछ।
दुवै निर्वाचन मिति नजिकिँदै गर्दा आयोगले मतदाता सूची अद्यावधिक, कर्मचारी परिचालन, निर्वाचन सामाग्री व्यवस्थापन, सुरक्षा निकायसँग समन्वय र सूचना प्रवाहका माध्यमहरू सक्रिय बनाउँदै आएको छ। भेटवार्ता मार्फत आयोगले तयारीका चरणहरू राजनीतिक नेतृत्वलाई अवगत गराउनु, विश्वसनीय वातावरण निर्माण गर्न एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।




