२०८३ बैशाख १३

प्रधानमन्त्रीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, म्याद थप गर्न आग्रह

काठमाडौँ । भदौ २३ र २४ गते देशमा भएका घटनाको छानबिन गरिरहेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आफ्नो काम तोकिएको समयमै पूरा गर्न नसकिने संकेत दिएको छ।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै एक महिनाको म्याद थप गर्न औपचारिक आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटमा आयोगले अनुसन्धान अझै निर्णायक चरणमा नपुगेको भन्दै थप समय आवश्यक भएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले छानबिनलाई निष्कर्षमा पुर्‍याउन राजनीतिक दलका शीर्ष नेताहरूको बयान लिन बाँकी रहेको बताएका छन्।

अध्यक्ष कार्कीका अनुसार, आगामी साता नै विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरिएको छ। “छानबिनलाई सतही होइन, तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउन चाहन्छौँ,” उनले प्रधानमन्त्रीसँगको छलफलमा बताएका छन्।

सरकारले मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गते भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। तर घटनाको राजनीतिक संवेदनशीलता, सरोकारवाला पक्षहरूको संख्या र बयान प्रक्रियाका कारण आयोगको काम अपेक्षाभन्दा जटिल बनेको देखिएको छ।

आयोगले मागेको म्याद थप स्वीकृत हुन्छ कि हुँदैन, र त्यसपछि छानबिन कति प्रभावकारी रूपमा अघि बढ्छ भन्ने प्रश्नले अहिले राजनीतिक वृत्तमा चासो थपिएको छ। भदौको घटनाबारे सत्य बाहिर ल्याउने जिम्मेवारी बोकेको आयोगको काम अब थप समयको भरमा पुगेको संकेत यस भेटले दिएको छ।